मदिरामा कर्मचारीको पुरातनवादी करमन्त्र : जसले स्वदेशी उद्योग धमाधम बन्द, अवैधको बहार

अनन्तराज न्यौपाने
२०८१ बैशाख २७ गते १२:३४ | May 9, 2024
मदिरामा कर्मचारीको पुरातनवादी करमन्त्र : जसले स्वदेशी उद्योग धमाधम बन्द, अवैधको बहार

काठमाडौं। पाँच वर्षअघिसम्म भारतीय पत्रपत्रिकाहरुमा ‘जहरिला सराब से मृत्यु’ भन्ने समाचार दैनिकजसो आउँथ्यो। यस्तो मदिरा खाएर मृत्यु हुनेको संख्या उच्च थियो। कहिले २० जनाको मृत्यु हुन्थ्यो त कहिले मृतक संख्या ५० भन्दा बढी पुग्थ्यो। तर यस्ता समाचार हिजोआज छापिंदैनन्।

Tata
GBIME
Nepal Life

भारत सरकारले १० वर्षयता मदिरामा लाग्ने अन्तःशुल्कलाई हरेक वर्ष क्रमशः घटाउँदै लगेको छ। यसले गर्दा त्यहाँ गुणस्तरीय मदिराको मूल्य नेपालको तुलनामा सस्तो छ। सामान्य मजदुरी गर्नेले पनि मदिराको आफ्नो ब्रान्डलाई बिस्तारै बढाउन थालेका छन्।

सिलप्याक गुणस्तरीय मदिरा नै सस्तो भएपछि भुईं तहका उपभोक्ताले पनि घरेलु मदिरा हेर्न छाडेका छन्। त्यसैले भारतका झुपडपट्टीमा हिजोआज घरेलु मदिराको उत्पादन ठप्प छ।

धनीमानीले मात्र सिलप्याक मदिरा पिउने हो भन्ने तल्लो वर्गको धारणामा परिवर्तन आएको छ। त्यसैले ‘जहरिला सराब से मृत्यु’ भन्ने शीर्षकका खबर हिजोआज नदेखिएका हुन्।

अर्कातिर नेपालमा भने घरेलु मदिराको उत्पादन ठूलो परिमाणमा छ। मदिरा व्यवसायी रवि केसीका अनुसार एकातिर मदिरामा तिर्नुपर्ने राजस्व नेपालमा एसियामै सबैभन्दा बढी छ भने अर्कातिर परम्परागत रूपमा घरेलु मदिरा बनाउने प्रचलन कायमै छ।

त्यसैले नेपालमा ५० र ७० युपीको मदिराको बिक्रीभन्दा दसौँ गुणा बढी घरेलु मदिराको उत्पादन र उपभोग छ। ‘पहाडका कतिपय ठाउँमा त चामलभन्दा कनिका महँगो भएको मैले पाएको छु। किनकि कनिका घरेलु मदिराको मुख्य कच्चा पदार्थ हो,’ केसीले भने।

त्यस्तै पाँच वर्षअघिसम्म नेपालमा उत्पादित २५ र ३० युपीको महँगो भनिने मदिरा ठूलो परिमाणमा अनधिकृत रूपमा भारततर्फ निर्यात हुन्थ्यो। सरकारले उद्योग चलेका छन्, रोजगारी बढेको छ र राजस्वमा पनि वृद्धि छ भन्दै यस्तो अनधिकृत निर्यातलाई आँखा चिम्लिदिएको थियो। यसले गर्दा दक्षिणी सीमा क्षेत्रमा ६० भन्दा बढी मदिरा उद्योग फस्टाएका थिए।

तर हिजोआज ठिक उल्टो छ। नेपालले सबैखाले मदिरामा लाग्ने अन्तःशुल्कलाई हरेक वर्ष बढाउँदै आएको छ। अहिले २५ र ३० युपीको मदिरा भारतमा भन्दा नेपालमा धेरै महँगो हुन पुगेको छ। भारतबाट नेपालतर्फ यसको अवैध आयात भइरहेको छ।

जस्तै नेपालमा ७५० एमएलको ओल्ड मंकको खुद्रा मूल्य २,०५० छ भने भारतीय बजारमा ६४० देखि ८०० रुपैयाँमा पाइन्छ।नेपालमा उक्त मदिरामा अन्तःशुल्क १,००८.७५ रुपैयाँ र मूअकर २३५.८४ रुपैयाँ लाग्छ। भारतको खुद्रा मूल्यभन्दा नेपालमा राजस्व दर बढी देखिन्छ।

त्यस्तै नेपालमा ७५० एमएलको रोयल स्ट्याग ह्विस्कीको खुद्रा मूल्य नेपालमा २,००० रुपैयाँ रहेकामा भारतका विभिन्न बजारमा ९६० देखि १,२१६ रुपैयाँमा पाइन्छ।

यस मदिरामा नेपालमा अन्तःशुल्क १००८.७५ रुपैयाँ र मूअकर २३०.९ रुपैयाँ गरी कुल राजस्व १२३८.८४ रुपैयाँ उठाउने गरिएको छ। यसमा पनि भारतको खुद्रा मूल्यभन्दा नेपालको राजस्व धेरै देखिन्छ।

ठूलो आकारको राजस्वका कारण नेपालमा मदिराको मूल्य भारतमा भन्दा धेरै भएको व्यवसायीको भनाइ छ। विराटनगरको प्रिमियर अर्गानिक इन्डस्ट्रीका सञ्चालक प्रदीप शारडाले कर महँगो भएका कारण त्यसले अवैध आयातलाई प्रोत्साहन गरेको बताए। ‘अवैज्ञानिक र अव्यावहारिक राजस्व नीतिका कारण भारतमा भन्दा नेपालमा मदिरा महँगो भएर अवैध आयात फस्टाएको हो,’ उनले भने।

आयातित विदेशी मदिरा पनि उच्च करका कारण भारतमा भन्दा नेपालमा महँगो छ। नेपालमा ७५० एमएलको सिवास रिगललाई ६,६६० रुपैयाँ पर्छ जबकि भारतमा ४,६७२ रुपैयाँमै पाइन्छ।

त्यस्तै ७५० एमएलको ज्याक डेनियल्स नं. ७ पनि नेपालमा भन्दा भारतमा १,८७७ रुपैयाँले सस्तो छ। नेपालमा यसको खुद्रा मूल्य ६,२४५ र भारतमा ४,३६८ रुपैयाँ छ।

अरु विदेशी मदिराको मूल्यमा पनि नेपाल र भारतमा ठूलो अन्तर देखिन्छ।

निम्न कोटिको ५० र ७० युपीको मदिरा भने नेपालबाट भारततर्फ अनधिकृत रूपमा गइरहेको छ। भारत सरकारले केही वर्षयता ७० युपीको मदिरा उत्पादनमा प्रतिबन्ध लगाएको छ। यसले गर्दा सीमा क्षेत्रमा हिजोआज १२ वटा जति उद्योग सञ्चालनमा छन्। तिनको मुख्य बजार भारत हो।

जबकि ५० र ७० भन्दा २५ र ३० युपीको मदिरामा नेपाल सरकारले धेरै राजस्व पाउने गर्छ। सरकारले कम राजस्व पाउने मदिरा उद्योग भारतीय बजारका कारण चलेका छन् भने बढी राजस्व पाउने उद्योग नेपालको राजस्व नीतिका कारणले बन्द भएका छन्।

यस्तो छ मदिरामा अन्त:शुल्कको बढ्दो क्रम

तथ्यांकले नेपालमा प्रति वर्ष अन्तःशुल्क दर वृद्धि भइरहेको देखाउँछ। माथिको तथ्यांकमा आर्थिक वर्ष २०७७/७८ मा मात्र २०७६/७७ को दरलाई यथावत् राखिएको पाइएको छ।

सरकारले चालु आर्थिक वर्ष १५, २५, ३०, ४०, ५० र ७० युपीका मदिरामा प्रति लिटर क्रमशः १,८००, १,३४५, १,२५०, ६३०, ४८५ र ५० रुपैयाँ अन्तःशुल्क तोकेको छ। उक्त दर गत आर्थिक वर्षमा क्रमशः १,७५०, १,३०६, १,२१५, ६१०, ४७२ र ४२ रुपैयाँ थियो ।

आर्थिक वर्ष २०७८/७९ मा क्रमशः १,५९२, १,१८८, ११०५, ५५५, ४५० र ४२ रुपैयाँ थियो। आर्थिक वर्ष २०७७/७८ मा भने कोभिडका कारण अघिल्लो आव २०७६/७७ कै दर १,३२५, ९९०, ९२०, ४६५, ३७५ र ३५ रुपैयाँलाई निरन्तरता दिइएको थियो।

अवैध आयातले घट्दो राजस्व

अन्तःशुल्क दर प्रत्येक वर्ष वृद्धि हुँदै गए पनि यसको असुली भने घट्दै गएको छ। विशेषतः विदेशी मदिरा, भारतमा मात्र उत्पादन हुने ब्रान्डका र नेपाल–भारत दुवैतिर उत्पादन गरिने ब्रान्डका उच्च र मध्यम गुणस्तरका सबैजसो मदिरा भारतबाट ठूलो परिमाणमा तस्करी गरी नेपाल ल्याइन्छ।

‘भारतको खुद्रा बजारमा मदिराको जुन मूल्य छ, त्यो खुद्रा मूल्यको तुलनामा यहाँ त्यही मदिराको अन्तःशुल्क दर धेरै छ। त्यसमा मूअकर जोडिने भइहाल्यो। यसले गर्दा पारिका तुलनामा वारिको बजारमा मदिराको मूल्य करिब २ देखि ५ गुणाले बढी छ। यसैकारण महँगा मदिराको अवैध आयात मौलाएको हो,’ एक मदिरा उद्योगीले भने।

अवैध आयात फस्टाउँदै गएपछि मदिराबाट संकलन हुने अन्तःशुल्क रकम प्रत्येक वर्ष खस्कँदो क्रममा छ।

आन्तरिक राजस्व विभागका सूचना अधिकारी आनन्दकुमार गुप्ताका अनुसार यस्तो रकम चालु आवको चैत मसान्तसम्म १८ अर्ब ७ करोड ७२ लाख ८२ हजार रुपैयाँ संकलन भएको छ। जबकि गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा १८ अर्ब १७ करोड ९९ लाख ११ हजार र २०७८/७९ को सोही अवधिमा २० अर्ब ९५ करोड ८० लाख ४८ रुपैयाँ संकलन भएको तथ्यांक छ।

पेन्सनपट्टाको प्रयोग तस्करीमा

भारतीय सेनाले आफ्नो ब्यारेकको क्यान्टिनबाट प्रत्येक महिना निश्चित परिमाणमा रम सेग्मेन्टको मदिरा ड्युटी फ्रि मूल्यमा सेनाका जवान र अधिकृतलाई बिक्री गर्ने गर्छ। यस्तो ड्युटी फ्रिको सुविधा भूतपूर्व सैनिकले पनि पाउँदछन्।

यही सुविधाको फाइदा उठाउँदै नेपालमा अवैध कारोबारीले भूपू सैनिकले सुविधामा पाउने मदिरा भारतबाट नेपाल ल्याउने गरेको खुलेको छ।

कारोबारीले यसका लागि काँकडभिट्टा नाका रोजेका छन्। विशेष गरी आसाम र पश्चिम बंगालमा रहेका सैनिक क्याम्पका क्यान्टिनमा ड्युटी फ्रिको रम सस्तो मूल्यमा पाइन्छ। त्यसैले काँकडभिट्टा नाका तिनका लागि नजिक र उपयुक्त भएको हो।

भन्सारका एक अधिकारीका अनुसार कारोबारीहरू सबैभन्दा पहिले पेन्सनपट्टा (निवृत्तिभरणको परिचयपत्र) संकलन गर्छन्। पूर्वमा सुनसरीको धरान र इटहरी, मोरङमा पथरी शनिश्चरे र उर्लाबारी तथा झापामा दमक भारतीय भूतपूर्व सैनिकका मुख्य बसोबास केन्द्र हुन्।

यिनै ठाउँमा पेन्सनपट्टा बढी संकलन हुने गर्छ। यसरी संकलित पेन्सनपट्टा लिएर उनीहरू भारतको पश्चिम बंगाल वा आसामस्थित सैनिक क्याम्प पुग्छन् र त्यहाँका क्यान्टिनमा तिनै पेन्सनपट्टा देखाएर ड्युटी फ्रि रम खरिद गर्छन्।

यसरी ल्याइएको अवैध मदिरा नेपालका पसलमा महँगो मूल्यमा बिक्री भइरहेको छ। खासगरी झापाका मदिरा पसलमा पाइने चर्चित सिक्किमे रम यही तरिकाबाट ल्याइएको हुन्छ।

काँकडभिट्टा नाकामा भन्सार कार्यालय र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा यस्तो अवैध मदिरा पक्राउ गर्ने अभियान सुरु गरिएको छ। तर अवैध मदिरा ठूलो परिमाणमा बरामद गरिएको छैन। भन्सार प्रमुख रामप्रसाद रेग्मीका अनुसार २०८० कात्तिकयता काँकडभिट्टा नाकाबाट जम्मा ५ लाख मूल्यका ५६० बोतल मदिरा बरामद गरिएको छ।

बरामद हुने मदिराका ब्रान्डमा ओल्ड मंक रम, कमान्डर इन चिफ, सेभेन इयर्स ओल्ड रम, सिक्किमे रम, रोयल स्ट्याग ह्विस्की, म्याक ड्वेल्स रम, म्यान्सियन हाउस, कमटेसा, सिग्नेचर ह्विस्की, थ्री एक्स रम लगायत छन्।

सिक्किम गोल्डेन रम, १९६५ प्रिमियम थ्री एक्स रम, स्मिरनफ भोड्का, रोयल च्यालेन्स ह्विस्की, म्याजिक मुमेन्ट्स भोड्का, भुटान ह्विस्की, कुरियर नेपोलियन, स्टर्लिङ रिजर्भ ह्विस्की, अफिसर्स च्वाइस ह्विस्की, म्याक ड्वेल ह्विस्की र कन्टेसा थ्री एक्स रम ब्रान्डका मदिराको पनि अनधिकृत आयात भइरहेको पाइएको छ।

‘भन्सार र प्रहरीको संयुक्त प्रयासमा अवैध मदिरा ल्याउनेविरुद्ध सर्च अभियान चलाएपछि कारोबारीले गाउँतिरका छोटी नाका प्रयोग गरिरहेको संकेत पाइएको छ। अब हामी तिनै छोटी नाकातिर केन्द्रित हुँदै छौं,’ रेग्मीले भने।

क्यासिनो र रेस्टुरेन्टदेखि पार्टी प्यालेससम्म

अवैध रूपमा महँगो मूल्यका आयातित मदिरा नेपालका क्यासिनो र रेस्टुरेन्टदेखि पार्टी प्यालेससम्म भेटिएको छ। तराईका गाउँ सहरमा हुने भोजभतेरमा भारतीय मदिराकै प्रयोग भइरहेको छ। यस्तो मदिराले तराईको भूभाग मात्र नभएर काठमाडौँ, पोखरा, हेटौँडा र चितवनजस्ता मुख्य बजार पनि लिइसेकेको छ।

भन्सार विभागले अवैध आयातमा नियन्त्रण गर्न आयातित मालवस्तुमा २०८० साउन १ देखि आयातकर्ता फर्मको नाम, इमेल, ठेगाना उल्लेख गर्नुपर्ने नियम जारी गरेपनि अझै प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

उद्योगी शारडाले यस्तो विवरण उल्लेख नगरिएको अवैध मदिराको व्यवसाय सर्वत्र चुलिएको बताए। ‘राज्यले विशेष टास्क फोर्स गठन गरेर महँगो दरका अवैध मदिराको अनुगमन गर्न आवश्यक भइसकेको छ । अन्यथा नेपालमा उत्पादन बन्द गर्नुपर्ने अवस्था आउनेछ,’ शारडाले बिजमाण्डूसँग भने।

विदेशतिर कुनै पनि व्यक्तिले ड्युटी फ्रिको मदिरा कोर्केज शुल्क तिरेर रेस्टुरेन्टमा उपभोग गर्न पाउँदैन। यस्तो मदिरा होटलमा आफ्नो कोठामा बसेर सेवन गर्न पाइन्छ। तर रेस्टुरेन्टमा पाइँदैन। त्यस्तै भोजभतेर र अन्य सार्वजनिक समारोहमा पनि ड्युटी फ्रिको मदिरा चलाउन पाइँदैन। ‘यहाँ त ड्युटी फ्रिको मात्र होइन, तस्करीकै मदिरा भरमार चलिरहेको छ,’ शारडाले भने।