ललितपुरको त्यो एरिया जहाँ हुन्छ ज्यादै कम घरजग्गा किनबेच, २ लाखमै रोपनी !

उन्नत सापकोटा
२०८१ बैशाख २४ गते ०६:२६ | May 6, 2024
ललितपुरको त्यो एरिया जहाँ हुन्छ ज्यादै कम घरजग्गा किनबेच, २ लाखमै रोपनी !
तस्वीर : महांकाल गाउँपालिकाको फेसबुकबाट

काठमाडौं। चालु आर्थिक वर्षको ९ महिनामा गोटिखेल मालपोत कार्यालयबाट जम्मा १६९ लिखत पारित भयो। राजस्व ३९ लाख ३३ हजार रुपैयाँमा सीमित भयो।

Tata
GBIME
Nepal Life

यो मालपोत कार्यालयमा लिखत पारित र राजस्व संकलनको अवस्था यो वर्ष मात्र कम भएको होइन। पोहोरको अवस्था झनै कमजोर छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार गत वर्ष ९ महिनामा कार्यालयले १५४ लिखत मात्र पारित गरेको थियो। राजस्व ५२ लाख रुपैयाँभन्दा उठेको थिएन।

ललितपुरभित्र घरजग्गाको मूल्य र माग हेर्ने हो भने यो मालपोत कार्यालय जिल्लाभित्रको अड्डा हो भन्ने लाग्दैन। अरु मालपोत कार्यालयको तुलनामा ललितपुरको गोटीखेल मालपोत कार्यालय भिन्न देखिन्छ। गोटीखेल ललितपुर भित्रको दुर्गम भेग मानिन्छ।

हुन त डिल्लीबजार पनि लिखत संख्या उति धेरै छैन। तर यी दुवै ‘प्रिमियम’ मालपोत कार्यालय मानिन्छन्। ती कार्यालयको क्षेत्राधिकारभित्र पर्ने घरजग्गाको मूल्य उच्च भएकाले राजस्व बढी उठ्ने गर्छ। घरजग्गा कारोबारमा यी कार्यालय ‘गेमचेन्जर’ बन्छन्।

ललितपुरभित्रै भए पनि गोटिखेलमा आखिर किन कम हुन्छ त कारोबार?

गोटिखेल ललितपुरको दक्षिणी भेगमा पर्छ। गोटिखेल मालपोत कार्यालयको क्षेत्राधिकारभित्र तीन वटा गाउँपालिका पर्छन्। काठमाडौं उपत्यकाभित्र अरु गाउँपालिका छैनन्।

गोटीखेल मालपोतअन्तर्गत बागमती गाउँपालिकाको गिम्दी, महांकाल गाउँपालिकाको गोटिखेल, चन्दनपुर, ठूलादुर्लुङ, बुखेल र मानिखेल तथा कोन्ज्योसोम गाउँपालिकाको शंखु पर्छन्।

यी क्षेत्रका जग्गाको न्यूनतम सरकारी मूल्यांकन यो आर्थिक वर्षका लागि प्रति रोपनी २५ हजार रुपैयाँदेखि साढे ४ लाख रुपैयाँसम्म तय गरिएको छ।

गोटिखेल बजार ‘सेन्टर’ मानिन्छ। त्यहाँ आनाको ४-५ लाख बोली लाग्छ। तर त्यसको करिब आधामा कारोबार हुने गरेको छ।गोटिखेल मालपोत कार्यालयका मालपोत अधिकृत सुवर्ण बज्राचार्य त्यस क्षेत्रमा रोपनीमा ‘डिल’ हुने गरेको बताउँछन्।

‘बजार क्षेत्रमा आनामा डिल भए पनि अरु ठाउँमा रोपनीमै कारोबार हुन्छ। गोदावरी क्षेत्रमा जस्तो यता व्यवस्थित प्लानिङसहित घडेरी छैनन्। व्यावसायिक ढंगबाट बनेका बसोबास छैन। जग्गा किन्ने भनेको खेतीपातीकै लागि हुन्छ,’ बज्राचार्यले भने, ‘कसैले लगानीका रुपमा जग्गा किनेर राख्ने गरेका छन्। बाटो राम्रो भएपछि राम्रो मूल्यमा बेचौंला भन्ने आशमा लगानी गर्नेहरु पनि छन्।’

घरजग्गा व्यवसायी ओमबहादुर घर्ती सरकारी मूल्यांकन निकै सस्तो भएकाले राजस्व कम उठेको बताउँछन्। उनका अनुसार गोटिखेल मालपोत क्षेत्रभित्र पर्ने जग्गा प्रति रोपनी २ लाखदेखि १५ लाख रुपैयाँसम्म बोली लाग्छ। 

मोटर बाटोको पहुँचमा भएका जग्गा प्रति रोपनी १५ लाखसम्म पाइन्छ। यस्तै, गोरेटो बाटो पुगेको जग्गा प्रति रोपनी ८ लाख रुपैयाँसम्ममा कारोबार भइरहेको छ। खेत तथा पाखातर्फ र खोलासँग जोडिएका जग्गा रोपनीको २ लाख हाराहारीमा पाइने व्यवसायी बताउँछन्। 

व्यवसायीका अनुसार होलिडे होम, रिसोर्ट बनाउन चाहने व्यक्ति तथा संस्थाले गोटिखेललगायत क्षेत्रमा विस्तारै लगानी बढाउँदै लगेका छन्। तर त्यहाँको रैथाने वस्तीमा जग्गा खोज्दै बाहिरका मान्छेको आउजाउ खासै बाक्लिएको छैन।

‘बरु त्यस क्षेत्रका तामाङ र बाह्मण क्षेत्री ललितपुरका ठूला सहरतर्फ आइरहेका छन्। त्यसैले गोटिखेल मालपोतमा लिखत पारित संख्या कम भएको हो,’ घर्तीले भने।

ललितपुरको दक्षिणी भेगका नागरिकलाई घरजग्गा सम्बन्धी सरकारी सेवा लिन कठिनाइ परेको भन्दै गोटिखेल मालपोत खडा गरिएको थियो। गोटिखेल मालपोतअन्तर्गतका घरजग्गा रिङरोडबाट न्यूनतम ३० किलोमिटरको दूरीमा छन्। कान्ति लोकपथ निर्माण भए त्यहाँको घरजग्गा बजार चलायमान हुने व्यवसायीको भनाइ छ।