जहाज मर्मतमा खर्च धेरै देखाएर कमिसन लिने युवराजको प्रपञ्च, बिल मगाउन विलम्ब

वसन्तराज उप्रेती
२०८१ बैशाख २७ गते १५:५२ | May 9, 2024
जहाज मर्मतमा खर्च धेरै देखाएर कमिसन लिने युवराजको प्रपञ्च, बिल मगाउन विलम्ब

काठमाडौं। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी ९ एन एकेसक्स कलसाइनको जहाज मर्मत सम्भारमा भएको वास्तविक खर्च लुकाउने प्रपञ्च रच्नतिर लागेका छन्।

Tata
GBIME
Nepal Life

५ महिनासम्म जहाज ग्राउण्डेड गराइ संस्थाको २ अर्बभन्दा बढीको आम्दानी स्वाहा पारेका अधिकारी इजरायलमा गरिएको मर्मत सम्भारलाई लिएर एनएसीभित्र प्रश्न उठिरहेका बेला वास्तविक खर्च लुकाउने प्रपञ्च रच्नतिर लागेका हुन्।

खर्च धेरै भएको देखाएर कमिसन लिने अधिकारीको प्रपञ्चका कारण जहाज मर्मत सम्भार गरेको इजरायल एरोस्पेस इन्डस्ट्री (आईएआई)ले अहिलेसम्म बिल पठाएको छैन।

‘अध्यक्षज्यूले कमिसनका लागि सुरुदेखि नै माहोल मिलाउनुभयो। जहाज धेरै बिग्रिएको देखाउन मर्मतमै साढे तीन महिना लगाउनुभयो। धेरैवटा पार्टपूर्जा फेरेको देखाएर धेरै रकम लिने प्रपञ्चस्वरुप बिल मगाउन ढिलाइ गरिएको छ,’ एनएसीका एक उच्च अधिकारीले भने।

अध्यक्ष अधिकारीले बिललाई लिएर प्रश्न उठ्न सक्ने भयका कारण जहाजको इन्जिनभित्रका ३१ वटा ब्लेड पूरै फेर्नुपरेको एनएसीका उच्च अधिकृतहरुसँग यसअघि नै बताइसकेका छन्। उनले उच्च अधिकृतहरुलाई जानकारी गराएपछि यस विषयमा प्रेस विज्ञप्ति निकाल्न लगाएका थिए।

जहाज गत मंसिर १५ गते ग्राउण्डेड भएकामा मर्मत सम्भारका लागि पुस २६ गते इजरायल पठाएको थियो। सम्झौता अनुसार आईएआईले ६५ दिनभित्र मर्मत सम्भार सकेर जहाज हस्तान्तरण गर्नुपर्नेमा साढे तीन महिनापछि यही वैशाख १४ गते मात्र हस्तान्तरण गरेको थियो।

आईएआईबाट बिल प्राप्त हुन बाँकी भएपनि अध्यक्ष अधिकारीले सञ्चालक समितिका सदस्य र उच्च अधिकृतहरुलाई मर्मतमा ठूलो रकम खर्च भएको जनाउ दिइसकेका छन्।

‘उहाँले अस्वाभाविक खर्च भएको विषयमा प्रश्न उठ्ने भएपछि यसअघि नै विभिन्न बहानाबाजी देखाउनुभएको थियो। फेर्नुपर्ने पार्टपूर्जा अभाव भएकोदेखि जहाजलाई उडाउनयोग्य बनाउन धेरै परिवर्तन गर्नुपर्ने भएको लगायत कुरा सुनाएर माहोल मिलाउने काम पहिलेदेखि नै गरिरहनु भएको छ,’ एनएसीका अर्का उच्च अधिकृतले भने, ‘तर उहाँले भने अनुसारका पार्टपूर्जा फेरिएका हुन्/होइनन्, फेरिएका भएपनि ती कुन अवस्थाका हुन् भन्ने कसले जाँच गर्छ र?’

एनएसीका प्रवक्ता रमेश पौडेलले इजरायली कम्पनीबाट बिल प्राप्त नभएकाले जहाज मर्मत सम्भारमा कति खर्च भयो भन्ने यकिन नभएको बताए। ‘यो जहाज मर्मत सम्भारका लागि लागेको खर्चबारे पूरै हिसाब आइसकेको छैन,’ प्रवक्ता पौडेलले भने, ‘फाइनल बिल आउन बाँकी नै छ,’ पौडेलले भने।

बिल प्राप्तिमा भएको ढिलाइलाई एनएसीका अधिकारीहरु कमिसन लेनदेनको कुरा टुंग्याउन बाँकी रहेको रुपमा अर्थ्याउँछन्। ‘जहाज आएको दुई साता भयो। अहिलेसम्म बिल प्राप्त नहुनु स्वाभाविक होइन। सायद कमिसनको लेनदेन मिलाउन र बिल कतिको बनाउने भन्ने टुंगो लाग्न बाँकी होला,’ एनएसीका एक प्राविधिकले भने।

आईएआईले बिल उपलब्ध नगराए पनि एनएसीले मर्मत सम्भारबापत ४७ लाख अमेरिकी डलर भुक्तानीको प्रक्रिया यसअघि नै अगाडि बढाइसकेको एक कर्मचारीले जानकारी दिए। ‘मर्मतमा भएको खर्चबारे त हामीलाई जानकारी हुने कुरा भएन। तर ४७ लाख डलर आईएआईको खातामा जम्मा गर्ने प्रक्रिया यसअघि नै अगाडि बढाइएको हो,’ ती कर्मचारीले भने।

अध्यक्ष अधिकारीले जहाज मर्मतमा अस्वाभाविक खर्च भएको हिसाब देखाउन लागेको सुइँको पाएपछि यो विषय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रधानमन्त्री कार्यालय पुगेको छ। एनएसीकै केही कर्मचारीले मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा नाम उल्लेख नगरी इमेल पठाइ जहाजमा फेरिएको भनिएका पार्टपूर्जाबारे विदेशी विज्ञ झिकाएर छानबिन गराउन माग गरेका छन्।

अध्यक्ष अधिकारीले भने ध्यान मोड्नका लागि अहिले जहाज मर्मत सम्भारमा ढिलाइको कारण अध्ययन गर्न भन्दै एक समिति गठन गरेका छन्।

उनले वरिष्‍ठ क्याप्टेन  सुधीर शमशेर राईको संयोजकत्वमा अध्ययन समिति गठन गरेका हुन्। समितिलाई १५ दिनको समय दिइएको प्रवक्ता पौडेलले जानकारी दिए।

‘९ एन-एकेएक्स जहाज मर्मत सम्भारमा ढिलाइ भएको सम्वन्धमा अध्यक्षज्यूको निर्देशनमा छानबिन समिति बनाइएको हो,’ पौडेलले भने,’ १५ दिन भित्रमा प्रतिवेदन पेस गर्ने गरी समयसीमा दिइएको छ। त्यही प्रतिवेदनका आधारमा व्यवस्थापनले आवश्यक निर्णय गर्छ।’