भुक्तानी नपाएपछि भारतीय कम्पनीले काटिदिएको इन्टरनेट मध्यरातदेखि जोडियो

बिजमाण्डू
२०८१ बैशाख २१ गते ०६:१५ | May 3, 2024
भुक्तानी नपाएपछि भारतीय कम्पनीले काटिदिएको इन्टरनेट मध्यरातदेखि जोडियो

काठमाडौं। बिहीबार दिउँसोदेखि अवरुद्ध भएको इन्टरनेट मध्यरातदेखि संचालनमा आएको छ। भारतीय कम्पनीले बिहीबार नेपालतर्फको ब्यान्डविथ काटिदिएका थिए जसकारण देशभर इन्टरनेट प्रभावित भएको थियो।

Tata
GBIME
Nepal Life

इन्टरनेट सेवा प्रदायकहरुले दिउँसो देखि रोकिएको इन्टरनेट फेरि संचालनमा आएको जानकारी मध्यरातमा दिएका हुन्।

इन्टरनेट सेवा प्रदायकहरुले ब्यान्डविथ प्रयोग गरेबापत भारतीय कम्पनीलाई भुक्तानी नगरेपछि हिजो दिउँसोदेखि इन्टरनेट अवरुद्ध भएको थियो। भारतीय इन्टरनेट सेवा प्रदायक एयरटेल, टाटालगायत कम्पनीले वर्ल्डलिंक, भायनेट, सुबिसुलगायतको ब्यान्डविथ काटिदिएका थिए। इन्टरनेट अवरुद्ध हुँदा लाखौं ग्राहक प्रभावित भएका थिए।

इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानले एक साताअघि पत्रकार सम्मेलन गरेर भुक्तानीका लागि विदेशी मुद्रा सटहीको सिफारिस नगरे सेवा ठप्प हुने चेतावनी दिएको थियो। त्यही कारण सेवा प्रदायकहरुले मुद्रा सटहीको सिफारिसका लागि सरकारलाई दबाब दिन मिलेमतोमा इन्टरनेट काटेको आशंका पनि कतिपयले गरिरहेका थिए।

इन्टरनेट अवरुद्ध भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायकहरुलाई सेवा अवरोध नगर्न चेतावनी दिँदै हिजो पत्रलाई निकाल्यो। मन्त्रालयले उपभोक्ताबाट अग्रिमरूपमा संकलन गरेको महसुलबाट कानूनबमोजिम तिर्नुपर्ने ग्रामीण दूरसञ्चार विकास शुल्क तथा रोयल्टी रकम समयमा नबुझाइ इन्टरनेट सेवा अवरुद्ध हुने काम नगर्न सचेत गराएको थियो।

इन्टरनेट सेवा प्रदायकहरूले देशभित्र इन्टरनेट सेवा प्रदान गरेवापत ग्राहकबाट अग्रिम रूपमा महशुल लिने गरेको र त्यसबाट वार्षिक आयको २ प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष र वार्षिक कुल आम्दानीको ४ प्रतिशत रोयल्टी बुझाउनुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले बक्यौता बुझाउन प्राधिकरणले सेवा प्रदायकहरूलाई पटकपटक अनुरोध गरिपनि अटेरी गरिरहेको जनाएको छ।

देशभर इन्टरनेट अवरुद्ध भएपछि राति नै मन्त्राललयमा सरोकारवालाहरुको बैठक बसेको थियो। संचार मन्त्रयालयले भारतीय वितरकसँग पनि यस विषयमा छलफल गरेको थियो। सोही छलफलपछि इन्टरनेट संचालन फेरि जोडिएको बताइएको छ।