सेबोन अध्यक्ष नियुक्तिको कर्पोरेट इन्ट्रेस्टमा घुस्यो राजनीति, ओलीको फोनले अप्ठेरोमा अर्थमन्त्री

सुनिल कुँवर
२०८१ बैशाख २६ गते १८:४३ | May 8, 2024
सेबोन अध्यक्ष नियुक्तिको कर्पोरेट इन्ट्रेस्टमा घुस्यो राजनीति, ओलीको फोनले अप्ठेरोमा अर्थमन्त्री

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष छनोटमा कर्पोरेट इन्ट्रेस्टसँगै राजनीतिक नेता समेत प्रयोग भएपछि अर्थमन्त्री वर्षमान पुन चेपुवामा परेका छन्।

Tata
GBIME
Nepal Life

तीन जनाको सूचीमा आफ्नो मान्छे ल्याउन व्यावसायिक घरानाले शीर्ष नेता नै प्रयोग गरेपछि अर्थमन्त्री पुन चेपुवामा परेका हुन्।

उच्च स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार अर्थमन्त्री पुनलाई टेलिफोन गरेर सेबोन अध्यक्ष छनोटमा तलमाथि नगर्न भनेका छन्। ओलीले सेबोन अध्यक्ष बनाउने व्यक्तिबारे आफूले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुरा गरिसकेको संकेत पुनलाई दिएका छन्।

‘यो विषयमा तपाईँले प्रधानमन्त्रीसँग परामर्श गर्नु राम्रो हुन्छ,’ ओलीलाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘एकल निर्णय गर्नेतिर नसोच्नुहोला।’

स्रोतका अनुसार मंगलबार गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सेबोन अध्यक्ष छनोटबारे ओलीलाई सोधेका थिए। ओलीले भने सेबोन भनेको के हो? भन्दै उल्टै महतोलाई प्रश्न गरेको स्रोतले बतायो।

महतोको टेलिफोनपछि ओलीले संशकित भएर पुनलाई सम्झाएको स्रोतले बतायो। नयाँ स्टक एक्सचेन्ज लिने आकांक्षीमा महतो पनि छन्।

दीपक तिमिल्सिनाको नेतृत्वमा रहेको नेसनल स्टक एक्सचेन्जले लाइसेन्सका लागि आवेदन दिएको छ। तिमिल्सिनासँग महतोको निकटता छ।

सेबोन अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले १९ जना आवेदकमध्येबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बीमा प्राधिकरण (तत्कालीन बीमा समिति)का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, सेबोनका कार्यकारी निर्देशक नवराज अधिकारी र मुक्ति श्रेष्ठ तथा व्यवसायी सन्तोषनारायण श्रेष्ठको नाम सर्टलिस्ट गरेको छ।

स्रोतका अनुसार यी तीनमध्ये कार्की, चापागाईं र सन्तोषनारायणको नाम सिफारिस गर्न दबाब छ। मन्त्री पुनको रोजाइमा कार्की छन् भने महतोको समूहले चापागाईं र इन्फिनिटी होल्डिङका दीपक भट्टले सन्तोषनारायणलाई ल्याउन खोजेका छन्।

स्रोतका अनुसार आफ्नो रोजाइभन्दा पनि कर्पोरेट घरानाबीचको चेपुवामा अर्थमन्त्री पुन परेका छन्। ‘अहिले अर्थमन्त्रीमाथि यति ठूलो दबाब छ। हामीले कल्पना नै गरेका छैनौं,’ स्रोतले भन्यो, ‘राजनीतिमा मध्यमार्गी धार लिँदै सफल भएका उहाँलाई कर्पोरेट लडाईंले ट्रयापमा पारेको छ। उहाँ ठूलो संकटमा पर्नुभएको छ।’

ओलीको टेलिफोनपछि अर्थमन्त्री पुनले बुधबार नै समितिका संयोजक रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई बोलाएर छलफल गरेका छन्।

स्रोतका अनुसार उनीहरुबीच सर्टलिस्टमा परेका पाँच जनालाई कार्ययोजना प्रस्तुत गर्न लगाउने मितिबारे छलफल भएको छ।

यसअघि गत चैत २९ गते कार्ययोजना प्रस्तुत गर्न लगाउने मिति तय भएकामा मन्त्री पुनको निर्देशनमा अन्तिम समयमा रोकिएको थियो। समितिले नयाँ मिति तय गरेको छैन। समितिमा अर्थसचिव मधु मरासिनी र उदय निरौला सदस्य छन्।

सेबोन गत पुस तेस्रो साता नेतृत्वविहीन छ। यसअघिका अध्यक्ष रमेशकुमार हमालले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिलाउन प्रयास गरेपनि उनी असफल भएका थिए।