उपेन्द्र फर्केपछि सत्ता फेरबदलको तयारी, माधव नेपाललाई नेतृत्व छाड्न प्रचण्ड पनि तयार!

नेत्र तामाङ
२०८१ बैशाख २० गते २०:४० | May 2, 2024
उपेन्द्र फर्केपछि सत्ता फेरबदलको तयारी, माधव नेपाललाई नेतृत्व छाड्न प्रचण्ड पनि तयार!

काठमाडौं। प्रतिनिधि सभाको प्रमुख विपक्षी दल नेपाली कांग्रेस केही दिनयता जसरी पनि सत्ता परिवर्तन गर्ने कसरतमा जुटेको छ। फागुन २१ गते माओवादीले एमाले रोजेदेखि नै कांग्रेस सभापति शेरबहादुर देउवा एमाले र माओवादी रहित सरकार बनाउने कसरतमा छन्।

Tata
GBIME
Nepal Life

सहकारी प्रकरणमा सरकारलाई गलाएर एमाले माओवादी इतरका दलहरूसहितको सरकार बनाउने तयारीमा लागे पनि हिउँदे अधिवेशन अन्त्यसँगै कांग्रेसको तयारी अवरुद्ध बनेको थियो। यसबीच दलहरू इलाम र बझाङको उपनिर्वाचनमा व्यस्त भए।

सरकारले वैशाख २८ गते बजेट अधिवेशन सिफारिस गरेसँगै कांग्रेस पुनः यो कसरतमा जुटेको छ। यसका लागि पार्टी सभापति देउवाले कृष्ण सिटौला, रमेश लेखक, मीनेन्द्र रिजाललगायत नेताहरूलाई खटाइरहेका छन्।

उपेन्द्र यादव अमेरिकाबाट फर्केपछि निर्णय

सत्ता घटक उपप्रधान एवं स्वास्थ्य मन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा छन्। अप्रिल ३० देखि मे ३ तारिखसम्म युएन सेक्रेटरियट न्यूयोर्कमा जारी विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन यादव वैशाख १५ गते अमेरिका उडेका छन्। उनी वैशाख २५ गते काठमाडौं आइपुग्ने कार्यतालिका छ।

यादवले आफू अमेरिकाबाट फर्कनसाथ सरकारको नेतृत्व परिवर्तनबारे निर्णय दिने वचन माधव नेपाललाई दिएका छन्।

कांग्रेसलाई गाली नगर्न माधवको उर्दी

पछिल्ला दिन नेपाल गठबन्धनसँग निकै असन्तुष्ट सुनिन्छन्। बुधबार मात्र चितवन पुगेका नेपालले गठबन्धन कतिबेला के हुने हो भनेर यसको संकेत गरे। ‘केही विमति छन्। गठबन्धन कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैन,’ नेपालले भने।

सोमबार मात्र नेपालले आफू प्रधानमन्त्री हुन लागेको संकेत गरेका थिए। ‘हामी प्रधानमन्त्री बन्छौँ भनेर कतिपयलाई पोल्न थाल्या छ। कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ। पोल्ने मानिस पनि छन् यो समाजमा। तिनलाई पोले पोलोस्, दन्दनी आगोले पोलिरहोस्। त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ भन्न चाहन्छु,’ नेपालले असन्तुष्टि पोखेका थिए।

नेपालले आफ्नो दलका नेताहरूलाई कांग्रेसलाई गाली नगर्न भनेका थिए।

‘कसै कसैले कांग्रेसलाई शत्रु भन्नुपर्छ भन्छन्। प्रहारको निशाना त्यतै ताक्नुपर्छ भन्छन्। जसले गर्दा कांग्रेससँग सम्बन्ध टुटेर जाओस् भन्छन्। यो पार्टीको हितमा होइन। पार्टीलाई सिद्ध्याउने सिद्धान्त मात्रै हो,’ नेपालले शुक्रबार भनेका थिए।

गठबन्धनमा गडबड हुने संकेत पाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरे। दुई घण्टासम्म चलेको भेटमा विकसित राजनीतिक घटनाका विषयमा छलफल भएको ओलीले बताए।

सरकार बनाउनका लागि १३८ जना सांसद आवश्यक हुन्छ। एमाले र माओवादीबाहेक प्राविधिक रूपमा बहुमत भने पुग्न सक्छ। तर निकै कमजोर गठबन्धन बन्नेछ।

अहिले कांग्रेससँग ८८ सांसद छन्। कांग्रेस नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४, जनता समाजवादी पार्टीको १२, नेकपा (एकीकृत समाजवादी) का १०, जनमतको ६, लोकतान्त्रि समाजवादी पार्टीको ४ र नागरिक उन्मुक्तिको ४ जोड्दा १३८ पुग्छ। कांग्रेस नेतृत्वको सरकार बन्दा राष्ट्रिय जनमोर्चाले समेत साथ दिने बताइन्छ। जनमोर्चाको एक सांसद छन्।

प्रचण्ड पनि तयार

प्लान बी अन्तर्गत एमालेसहितको सरकार बनाउने तयारीमा कांग्रेस लागेपछि माधव नेपाललाई प्रधानमन्त्री बनाउन प्रचण्डसमेत तयार भएको दाबी कांग्रेस निकट नेताहरूको छ। कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउन लागेको त्रासका कारण बरु माधव नेपाललाई नै नेतृत्व छाड्न प्रचण्ड तयार देखिएको कांग्रेस स्रोतको दाबी छ।

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री दिएर भए पनि माओवादीलाई एक्लाउनुपर्ने मत कांग्रेसभित्र बलियो रहेको छ। संघीयता, धर्मनिरपेक्षताका विषयमा संविधान संशोधनका लागि एमालेसँग कांग्रेस मिल्नुपर्ने डा शेखर कोइराला, महामन्त्री गगन थापालगायतको मत छ। तर देउवा भने एक पटक माधवलाई प्रधानमन्त्री बनाउनुपर्ने अडानमा रहेको बताइएको छ।

‘एमालेको फुट र कांग्रेस कमजोर हुँदा पनि आफूलाई प्रधानमन्त्री बनाउन माधव नेपालकै सहयोग मिलेको देउवाको बुझाई छ,’ देउवा निकट ती नेताले भने, ‘माधव झलनाथकै कारण कांग्रेस स्थानीयदेखि संघसम्म पहिलो पार्टी बनेको हुनाले पनि देउवा नेपाललाई साथ दिन तयार छन्।’

यो बीचमा देउवाले नेपाललाई राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत पनि भेट गराएका छन्।