व्यवसाय बढाउन नयाँ प्रडक्टको खोजीमा लघुबीमा कम्पनी, प्राधिकरणको स्वीकृति पर्खंदै

सुनिल कुँवर
२०८१ बैशाख १५ गते ०६:२१ | Apr 27, 2024
व्यवसाय बढाउन नयाँ प्रडक्टको खोजीमा लघुबीमा कम्पनी, प्राधिकरणको स्वीकृति पर्खंदै

काठमाडौं। बीमा व्यवसाय विस्तार गर्न लघुबीमा कम्पनीले प्रडक्ट थप्न थालेका छन्। सीमित प्रडक्ट बेचिरहेका कम्पनीले अहिलेकै व्यवसायले खर्च धान्नै मुस्किल भएपछि नयाँ पोलिसी थप्न थालेका हुन्।

Tata
GBIME
Nepal Life

नेपाल बीमा प्राधिकरणले लघु बीमकलाई बिजनेस दिन केही प्रडक्ट सुनिश्चित गरे पनि कम्पनीले व्यवसाय बढाउन सकिरहेका छैनन्। प्राधिकरणले म्यादी लघु जीवन बीमा, मोटर बीमा सम्पत्तिमा सीमा तोकेर लघु बीमकलाई व्यवसाय दिएको छ।

अहिलेकै प्रडक्टले टिक्न नसक्ने भएपछि केही बीमकले नयाँ पोलिसी स्वीकृतिका लागि प्राधिकरणमा निवेदन दिएका छन् भने केही कम्पनीले एक्चुअरी भ्यालुयसन गराइरहेका छन्।

नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीइओ) मृगेन्द्रनाथ रिमाल कम्पनीहरू आफ्नो उद्देश्य र क्षमताअनुसार इनोभेटिभ प्रडक्टको अवधारणामा जान खोजिरहेको बताउँछन्।

‘माइक्रो सुहाउँदो प्रडक्ट वर्कआउटकै क्रममा छौं। सीमान्तकृत वर्ग लक्षित लघु बीमाको उद्देश्य भएका कारण त्यही सुहाउँदो उत्पादन बिक्री गर्नुपर्छ भन्ने हो,’ उनले भने, ‘न्यून प्रिमियममा जोखिम कभर गर्न सक्ने प्रडक्टमा काम भइरहेको छ। एउटै प्रडक्टभित्र धेरै सहप्रडक्ट हुन्छन्। त्यसको खोजीमा छौं।’

मोबाइल, कम्प्युटरलगायत उपकरण तथा मानिसकै ८/९ वटा पोलिसी ल्याउने तयारीमा लघु बीमक छन्। प्राधिकरणले अहिले लघु बीमा कम्पनीहरूलाई कृषिसँग सम्बन्धित प्रडक्ट बेच्न स्वीकृति दिएको छैन।

ग्रामीण क्षेत्रका कृषि उत्पादन र निम्न वर्गका मानिसलाई बीमाको दायरामा ल्याउन प्राधिकरणले लघु बीमा कम्पनी स्थापना गरेको दाबी गर्दै आएको छ। तर, कम्पनीहरू ग्रामीण क्षेत्र केन्द्रित हुन सकेका छैनन्।

कृषि बीमा प्रडक्ट लघु बीमा कम्पनीलाई दिने गरी निर्देशन जारी गर्ने गृहकार्य गरिरहेको प्राधिकरणका अधिकारी बताउँछन्।

प्राधिकरणले २०७९ मंसिरमा ३ जीवन र ४ निर्जीवन गरी ७ वटा लघु बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो।

लघु बीमा व्यवसाय सञ्चालन अनुमति पाएका कम्पनीहरूले व्यवसाय त गरिरहेका छन्, तर बीमा बजारमा ठूला कम्पनीकै वर्चस्व रहेका कारण पनि लघु बीमकहरु नयाँ व्यवसाय खोज्नुपर्ने दबाबमा छन्।

गार्डियन माइक्रो लाइफका सीइओ चिरायु भण्डारीले निम्न आय भएका ग्राहक केन्द्रित प्रडक्ट ल्याउने तयारीमा जुटेको बताए। ‘अहिले मनी ब्याक टर्मलाइफ, दीर्घायु बचतलगायत प्रडक्ट छन्। इनिसियल चरण भएकाले सीमित प्रडक्ट बेचिरहेका छौं,’ उनले भने, ‘यो बाहेक नयाँ योजना स्वीकृतिका लागि प्राधिकरणमा पठाएका छौं। निम्न आय भएका वर्ग नै लक्षित ग्राहक भएकाले उनीहरूलाई केन्द्रित गरेर थप प्रडक्ट ल्याउने तयारीमा छौं।’

क्रेष्टमाइक्रो लाइफ इन्स्योरेन्सका सीइओ प्रतापमान श्रेष्ठले थप लघु बीमा प्रडक्ट ल्याउने गरी प्राधिकरणको स्वीकृति खोजिरहेको बताए। ‘अहिले दुई वटा प्रडक्ट मात्रै बेचिरहेका छौं। नयाँ प्रडक्ट स्वीकृतिका लागि प्राधिकरणमा आवेदन दिएका छौं,’ उनले भने, ‘केही समयमै होल माइक्रो लाइफ, जोइन्टलाइफ माइक्रो लाइफ लगायत प्रडक्ट आउँछन्।’

ग्रामीण क्षेत्रमा बीमा पहुँच बढाउन कम्पनीले प्रदेशमा स्तरमा कार्यालय राखेका छन्। तर, सानो व्यावसायिक हिस्साका कारण खर्च धान्न मुस्किल हुने भएकाले कम्पनीहरू कमजोर आय भएका वर्गसम्म एग्रेसिभ रूपमा पुग्न सकेका छैनन्।

गार्डियन माइक्रो लाइफका सीइओ भण्डारी डिजिटल रूपमा रणनीतिक हिसाबले व्यवसाय विस्तार गर्न केन्द्रित भएको बताउँछन्। ‘लघु बीमकसँग थोरै स्रोतसाधन भएका कारण डिजिटललाई फोकस गरिरहेका छौं,’ उनले भने, ‘डिजिटल हिसाबले ठूला बीमा कम्पनीभन्दा अघि जाने गरी काम भइरहेको छ। त्यहीअनुसार व्यवसाय बढाउनुपर्ने आवश्यकता छ।’