बजारमा किनबेच घट्दा बैंकमा छैन सुनको स्टक, कसले उठाइरहेको छ त ?

सरला सुवेदी
२०८१ बैशाख २५ गते १५:३२ | May 7, 2024
बजारमा किनबेच घट्दा बैंकमा छैन सुनको स्टक, कसले उठाइरहेको छ त ?

काठमाडौं। सुनको भाउ महँगिएर तोलाकै १ लाख ४१ हजार रुपैयाँ पुग्दा समेत बैंकमा स्टक लगभग सकिएको छ। महँगो भएपछि बजारमा गहनाको कारोबार घटे पनि केही व्यापारीले धमाधम उठाएकाले बैैंकमा सुनको स्टक करिब सकिएको हो।

Tata
GBIME
Nepal Life

नेपाल बैंकर्स संघका अनुसार वैशाख लागेयता ४०० किलो सुन बिक्री भइसकेको छ। चैत महिनामा पनि स्टक थिएन।

संघकी कर्मचारी सविना श्रेष्ठले शुक्रबारसम्म ६९ किलो मात्र सुन स्टकमा रहेको जानकारी दिइन्। जबकि यसअघि बजारमा कारोबार ओरालो लाग्दा बैंकमा ५०० किलोभन्दा बढी सुन स्टक भएको उदाहरण छ।

‘यसपालि स्टक खासै नरहेकाले थप १५० केजी सुन आउने क्रममा छ,’ श्रेष्ठले भनिन्, ‘कोटा अनुसार नै आयात भइरहेको छ।’

बैंकलाई हरेक दिन दैनिक २० किलोका दरले सुन आयातको कोटा तोकिएको छ।

अहिले सुन बिक्रीको सिजन भने होइन। शुक्र अस्त कारण विवाहको लगन छैन। अर्कातिर भाउ पनि अकासिएको छ। बढेर तोलाकै १ लाख ४१ हजार रुपैयाँसम्म पुगेको सुनको मूल्य मंगलबार १ लाख ३६ हजार ४०० रुपैयाँ छ। महँगो भएकाले व्यापारीहरु गहनाको कारोबार खासै छैन भन्छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले विवाहको लगन नरहेकाले अहिले गहनाको माग खासै नरहेको बताए। उनका अनुसार गहनाका लागि अहिले दैनिक १० किलो सुन पनि खपत भइरहेको छैन।

विशालबजारस्थित जे जे ज्वेलर्सका सञ्चालक पवन सोमानियाले पनि गहनाको कारोबार घटेको बताए। ‘विवाहको लगन नरहेकाले र शुक्र अस्तमा अरु शुभकार्य पनि नहुने भएकाले अहिले खासै किनबेच छैन,’ उनले भने।

त्यसो भए कसले किनिरहेको छ त सुन?

सुनचाँदी व्यवसायीहरुले उच्च मूल्य, शुक्र अस्त कारण विवाहका लगन नहुनु लगायत कारण कारोबार घटेको बताइरहँदा बैंकहरुले भने कोटा अनुसार नै सुन आयात गरिरहेका छन्।

खुद्रा कारोबार घटे पनि व्यापारीहरुले मूल्य बढ्दो क्रममा रहेको भन्दै आगामी सिजनका लागि भनेर सुन स्टक गर्न थालेका छन्।

तर, बजारका चलेका सुन व्यापारीहरु स्टकमा राखेको कुरा खुलेर बताउन चाहँदैनन्। जे जे ज्वेलर्सका सञ्चालक सोमानियाले असारमा बिहेको लगन रहेकाले केही सुन स्टकमा राखेको बताए। उनले परिणाम भने खुलाएनन्।

‘अहिले शुक्र अस्तका कारण गहनाको माग छैन। तर असारमा लगन कम भएपनि गहनाको माग धेरै हुने विश्वास छ। त्यसैले केही सुन स्टक गरेका छौं,’ सोमानियाले भने, ‘सुनको मूल्य अहिले उच्च छ। यस्तो समयमा धेरै किनेर स्टक गर्न सकिंदैन। मूल्य घट्न सक्ने सम्भावना हुने भएकाले धेरै किन्दा जोखिम हुन्छ। अहिले क्यासको पनि त क्राइसिस छ।’

महासंघका महासचिव बज्राचार्यले गत महिनामा समयमै सुन आयात हुन नसक्दा आपूर्तिमा समस्या देखिएकाले व्यवसायीहरुले सुन स्टक राख्न थालेको बताए। ‘इदका कारण केही समय सुन आयात नहुँदा बजारमा अभाव जस्तो देखिएको थियो। जसले गर्दा सिजनका लागि भनेर व्यवसायीले स्टक बढाएका छन्,’ उनले भने।

वैशाखको सुरुवातमा बिहेको लगन, ब्रतबन्ध, गुन्यौंचोली लगायत कार्यका कारण सुनको माग थियो। ‘त्यतिखेर व्यापारीले आफूसँग रहेको स्टक सके। असारमा फेरि सिजन सुरु हुने भएकाले पर्याप्त मात्रामा नपाइने ठानेर तथा अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्ने देखेर अहिले केही घटेको बेला व्यापारीले स्टक राख्न थालेका छन्,’ बज्राचार्यले भने।

सुन बेच्ने ग्राहक घटे

अभावका बेला ग्राहक पनि व्यापारीका लागि सुनका स्रोत हुन्। व्यापारीले ग्राहकसँग किनेर नयाँ ग्राहकलाई बेच्ने गरेका थिए। मूल्य उच्च हुँदा ग्राहकहरु आफैं व्यापारीकहाँ आउँथे। तर यसपालि ग्राहकबाट बजारमा खासै सुन आएको छैन।

जे जे ज्वेलर्सका सञ्चालक सोमानियाले पैसा खाँचो पर्ने सीमित ग्राहकले मात्र गहना बिक्री गरिरहेको बताए। आपत् पर्ने एकाध ग्राहक आएका छन्। मूल्य अझै अकासिने सम्भावना देखेर ग्राहकहरु गहन बिक्री गर्नका लागि नहत्तारिएका हुन सक्छन्,’ उनले भने।

अहिले बेचेर पछि अकासिंदो मूल्यमा जोड्न झन् गाह्रो हुने भएकाले ग्राहक गहना बिक्रीका लागि नआएको काठमाडौं अर्नामेन्टसका सञ्चालक प्रदिप बज्राचार्यको बुझाइ छ। ‘सुनको मूल्य अझै बढ्ने र अहिले बेचे आगामी दिनमा गहना बनाउन नसकिने बुझाइका कारण पनि बजारमा फिर्ता आउने क्रम घटेजस्तो लाग्छ,’ उनले भने।