लघुबीमा कम्पनीलाई व्यवसाय विस्तार गर्न सकस, दुई वटाले सुरु नै गर्न सकेनन्

सुनिल कुँवर
२०८० पुष ५ गते ०६:३२ | Dec 21, 2023
लघुबीमा कम्पनीलाई व्यवसाय विस्तार गर्न सकस, दुई वटाले सुरु नै गर्न सकेनन्
Photo: Reuters

काठमाडौं। लघुबीमा कम्पनीलाई व्यवसाय विस्तारमा सकस परेको छ। अनुमति पाएको एक वर्षसम्म पनि लघुबीमा कम्पनीले अपेक्षित व्यवसाय गर्न सकेका छैनन्।

Tata
GBIME
Nepal Life

नयाँ बजार खोज्नुपर्ने, साक्षरताको कमी, सीमित प्रडक्ट, ठूला कम्पनीको वर्चस्व लगायत कारणले लघुबीमा कम्पनीलाई व्यवसाय विस्तारमा चुनौती देखिएको हो। लिबर्टी माइक्रो लाइफका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रामकुमार यादव व्यवसाय विस्तारमा बीमा साक्षरताको कमीलाई कारण ठान्छन्।

‘बजार पहिलेदेखि नै बिग्रिएको छ। बीमा जोखिम व्यवस्थापनका लागि हो भन्‍ने बुझेका छैनन्,’ उनले भने, ‘बीमा गर भन्दा कति पैसा आउँछ भनेर सोध्छन्। यो कुरा बुझाउन समय लागिरहेको छ।’

नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालले माइक्रो इन्स्योरेन्स व्यवसायको चुनौतीका रुपमा ठूला कम्पनीलाई लिएका छन्। ‘ठूला कम्पनीको व्यावसायिक हिस्सा र बजारकै चुनौती छ,’ उनी भन्छन्।

बीमा कम्पनीले कुल बीमा व्यवसायको अनिवार्य १० प्रतिशत लघुबीमा गर्नुपर्ने प्रावधान छ। त्यसअनुसार लघुबीमाको व्यावसायिक हिस्सा पनि उनीहरूले लिइरहेका छन्।

‘अहिलेको अवस्थामा माइक्रो इन्स्योरेन्स व्यवसाय गाह्रो छ,’ लिबर्टीका सीइओ यादव भन्छन्, ‘हामीले अहिले बीमाको आवश्यकता बुझाउने, गाउँ र वडामार्फत यस सम्बन्धी जानकारी गराउने काम गरिरहेका छौं।’

सरकारले कृषिमा अनुदान नदिएपछि लघुबीमा कम्पनीले कृषिसम्बन्धी बीमा गर्न रुचि देखाएका छैनन्। कृषि बीमामा सरकारकै ठूलो दायित्व रहेकाले त्यतातिर सुरुआती चरणमै लघुबीमा कम्पनीले व्यवसाय फोकस गर्न नसक्ने रिमालले बताए।

‘कृषि बीमाको अनुदानबापतको रकम सरकारकै दायित्वको हो,’ उनले भने, ‘त्यो रकम नपाएको गुनासो छ। त्यसैले अहिले हामी कृषि बीमामा फोकस छैनौं।’

लघुबीमकहरु भने नेपाल बीमा प्राधिकरणले नै बीमाका केही प्रडक्ट रोकेर राखेको बताउँछन्। तर प्राधिकरणका अधिकारीहरु भने यो ठाडै अस्वीकार गर्छन्।

‘लघुबीमा वा अन्य व्यवसायमा हामीले कुनै पनि प्रडक्ट रोकेर राखेका छैनौं,’ प्राधिकरणका प्रवक्ता एवं कार्यकारी निर्देशक राजुरमण पौडेलले भने।

प्राधिकरणले ग्रामीण क्षेत्रमा बीमाको पहुँच बढाउन र त्यहाँको उत्पादनलाई बीमाको दायरामा ल्याउन भन्दै २०७९ मंसिरमा सात लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको थियो। प्राधिकरणबाट व्यवसाय सञ्‍चालन अनुमति पाएपछि कम्पनीले प्रदेशमा कार्यालय राखिसकेका छन्। कतिपय कम्पनीले जिल्ला शाखासमेत खोलिरहेका छन्।

प्राधिकरणका अनुसार लघुबीमा व्यवसाय गर्ने अनुमति पाएका ३ जीवन र ४ निर्जीवनमध्ये २ निर्जीवन बीमा कम्पनीले व्यवसाय थालेका छन्।

दुई कम्पनीले अझै थालेनन् व्यवसाय

चालु आर्थिक वर्ष पहिलो त्रैमाससम्म जीवनतर्फ सबै माइक्रो इन्स्योरेन्स र निर्जीवनतर्फ दुई कम्पनीले व्यवसाय सुरु गरेका छन्। जीवनतर्फ गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले व्यवसाय सुरु गरेका हुन् ।

विराटनगरमा मुख्य कार्यालय रहेको गार्डियन माइक्रो लाइफले गत असारदेखि व्यवसाय सुरु गरेको हो। यो कम्पनीले कात्तिकसम्म २७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।

सुर्खेतमा प्रमुख कार्यालय रहेको क्रेष्ट लघु जीवन बीमा कम्पनीले असारबाट व्यवसाय सुरु गरी २० लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ। गण्डकी प्रदेश केन्द्रित व्यवसाय गरिरहेको लिबर्टी माइक्रो लाइफले कात्तिकदेखि व्यवसाय सुरु गरेको हो। लिबर्टीका सीइओ यादवले न्यून आय भएकाहरुलाई ध्यानमा राखेर कम्पनीले व्यवसाय गर्न खोजिरहेको बताए।

‘हाम्रो फोकस्ड लो इन्कम भएको वर्ग हो,’ उनले भने, ‘त्यहीअनुसार प्रडक्ट ल्याउने क्रममा छौं।’

क्रेष्ट माइक्रो लाइफका सीइओ प्रतापमान श्रेष्ठले व्यवसाय बढाउन जिल्लामा शाखा विस्तार गर्ने तयारीमा लागेको बताए। उनले भने, ‘चुनौतीका बाबजुद शाखा विस्तार गरेर व्यवसाय बढाउने रणनीतिमा छौं।’

निर्जीवन लघुबीमातर्फ ४ कम्पनीमध्ये २ वटाले व्यवसाय सुरु गरे पनि २ कम्पनीले सुरु गर्न सकेका छैनन्। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले यो आर्थिक वर्षको पहिलो चौमासिकसम्म ६१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ। चितवनको भरतपुरमा मुख्य कार्यालय रहेको यो कम्पनीले असारदेखि व्यवसाय सुरु गरेको हो।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले १० करोड ६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ। यो कम्पनीले लघुबीमा व्यवसाय सुरु गरेको ५ महिना भएको छ।

बुटवलमा कार्यालय रहेको ट्रष्ट माइक्रो इन्स्योरेन्स र जनकपुरमा मुख्य कार्यालय राखेको स्टार माइक्रो इन्स्योरेन्सले भने अझै व्यवसाय सुरु गरेका छैनन्। यी कम्पनीले चालु वर्षको यही त्रैमासबाटै बिजनेस सुरु गर्ने तयारी गरिरहेका छन्।

व्यवसायको दायरा

प्राधिकरणले गत वर्ष जारी गरेको लघुबीमा निर्देशन, २०७९ ले न्यून आय भएको वर्गका व्यक्तिलाई लक्षित गरी व्यवसाय गर्नुपर्ने व्यवस्था गरेको छ। ग्रामीण क्षेत्रमा हुने साना उत्पादनलाई बीमाको दायरामा ल्याउन प्राधिकरणले लघुबीमाको अवधारणा अघि सारेको हो।

निर्देशनले लघुबीमा कम्पनीका लागि व्यावसायिक सीमा पनि छुट्याइएको छ। जीवनतर्फ कम्पनीले आजीवन लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा र म्यादी लघु जीवन बीमा गर्न सक्नेछन्।

निर्जीवनतर्फ घर, सम्पत्ति तथा व्यवसायको लघुबीमा गर्न सक्नेछन्। यसको अधिकतम दायित्वको सीमा ५० लाख रूपैयाँ तोकिएको छ।