बैंकिङ प्रणालीमा १० दिनमा थपियो ४१ अर्ब रुपैयाँ तरलता, कहाँबाट आयो पैसा ?

बिजमाण्डू
२०८१ बैशाख २५ गते १९:३४ | May 7, 2024
बैंकिङ प्रणालीमा १० दिनमा थपियो ४१ अर्ब रुपैयाँ तरलता, कहाँबाट आयो पैसा ?

काठमाडौं। पछिल्लो १० दिनमा बैंकिङ प्रणालीमा ४१ अर्ब तरलता (लगानी योग्य रकम) थपिएकाे छ। वैशाख १२ पछिको १० दिनमा प्रणालीमा ४१ अर्ब निक्षेप थपिएकाे हो।

Tata
GBIME
Nepal Life

वैशाख १२ सम्म बैंकिङ प्रणालीमा ६१ खर्ब २४ अर्ब निक्षेप रहेकामा अहिले ६१ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ सरकारले खर्च बढाउन थालेका कारण प्रणालीमा निक्षेप थपिएको बताउँछन्।

‘पछिल्लो समय रेमिटेन्स निरन्तर बढिरहेको छ। साथै, सरकारले पनि खर्च बढाउन थालेको छ,’ उनले भने, ‘सरकारले गरेको खर्च प्रणालीमा आउँदा निक्षेप बढेको हो।’

पछिल्लो समय संस्थागत नभएर साधारण बचत थपिएको श्रेष्ठले बताए। कर्जा बढ्न नसकेका बेला अल्पकालीन निक्षेप बढ्ने र घट्ने भइरहने उनको भनाइ छ।

निक्षेप थपिए पनि कर्जा लगानीमा बढ्न सकेको छैन। बैंक तथा वित्तीय संस्थाले अहिलेसम्म कुल ५१ खर्ब ३ अर्ब कर्जा प्रवाह गरेका छन्।

निक्षेप निरन्तर बढे पनि लगानीका लागि बैंकहरु पर्ख र हेरको अवस्थामा रहेको एक बैंकरले बताए। असुलीमा समस्या देखिएको अवस्थामा अन्धाधुन्ध लगानी गर्दा थप जोखिम हुने उनको भनाइ छ।

कर्जाको माग बढ्न नसक्दा बैंकहरुले केही महिनायता निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका छन्।