लघुबीमा कम्पनीको ८ महिनाको व्यवसाय १६ करोडमा सीमित, सञ्चालन खर्च धान्नै मुस्किल

सुनिल कुँवर
२०८० चैत्र २३ गते ०९:१३ | Apr 5, 2024
लघुबीमा कम्पनीको ८ महिनाको व्यवसाय १६ करोडमा सीमित, सञ्चालन खर्च धान्नै मुस्किल

काठमाडौं । बीमाको दायरा विस्तार गर्ने उद्देश्यले खोलिएका लघुबीमा कम्पनीलाई व्यवसाय पाउनै सकस भएको छ। व्यवसाय विस्तार गर्न नसक्दा कम्पनीहरुले सञ्चालन खर्च धान्न समेत सकिरहेका छैनन्।

Tata
GBIME
Nepal Life

ठूला बीमा कम्पनीको व्यावसायिक दबदबा र ग्रामिण क्षेत्रमा पहुँच विस्तार गर्न नसक्दा लघुबीमा कम्पनीहरुलाई व्यवसाय पाउन सकस भएको हो।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा तीनवटा लघु जीवन र तीनवटा लघु निर्जीवन बीमा कम्पनीले जम्मा १६ करोड २३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन्।

फागुनसम्म लघु जीवन बीमा कम्पनीहरु गार्डियन, क्रेस्ट र लिबर्टीले ५ करोड ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

यस्तै, निर्जीवनतर्फ नेपाल माइक्रो, प्रोटेक्टिभ र स्टार माइक्रो इन्स्योरेन्सले १० करोड ३३ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन्।

ट्रस्ट माइक्रो इन्स्योरेन्सले गत फागुनबाट मात्रै व्यवसाय थालेको छ। पोहोर मंसिरमा सञ्चालन अनुमति पाएका लघुबीमा कम्पनीमध्ये केहीले गत आर्थिक वर्ष नै व्यावसाय सुरु गरेका थिए।

गत वर्ष नै व्यवसाय सुरु गरेका कम्पनीलाई समेत खर्च धान्न र सञ्जाल विस्तारमा चुनौती देखिएको छ। यस्तो अवस्थामा लघुबीमकहरु अहिलेकै व्यवसायले कम्पनीको सञ्चालन खर्च धान्नै नसकिने बताउँछन्।

‘लघुबीमा बुझाउनै गाह्रो छ। सबैभन्दा ठूलो चुनौती ग्रामिण क्षेत्रका मानिससँग पुग्नु हो,’ एक निर्जीवन लघुबीमा कम्पनीका सीइओले भने, ‘अहिलेको व्यवसायले कम्पनीको सञ्चालन खर्च धान्दैन।’

लिबर्टी माइक्रो लाइफका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रामकुमार यादव जनसम्पर्क बढाउन नसक्दा कम्पनीहरुलाई व्यवसाय विस्तारमा समस्या भइरहेको बताउँछन्।

‘जनसम्पर्क नभइ बिजनेस हुँदैन। सुरुमा गाह्रो नै छ। बीमा शुल्क पनि थोरै छ,’ उनले भने, ‘राम्रो भन्न नि सकिँदैन। नराम्रो पनि भएन्। तर, धेरै मान्छेसम्म पुगेपछि व्यवसाय बढ्छ भन्ने विश्वास छ।’

क्रेस्ट माइक्रो लाइफका सीइओ प्रतापमान श्रेष्ठ सेवालाई प्राथमिकतामा राखेका कारण व्यवसाय बढ्ने विश्वासमा छन्। ‘कम्पनीहरुले व्यवसाय सुरु गरेको धेरै भएको छैन। यो सुरुवाती चरण नै हो,’ उनले भने, ‘सेवालाई प्राथमिकतामा राखेकाले अब व्यवसायमा सुधार हुँदै जाने आशा छ।’

हाल बीमा बजारमा प्रतिस्पर्धा बढेको छ। ठूला बीमा कम्पनीहरुले पनि लघु बीमा पोलिसी जारी गरिरहेका छन्। त्यही कारण लघु बीमकले व्यवसाय विस्तारका लागि उनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ।

अर्कातिर लघुबीमकले नयाँ प्रडक्ट ल्याउन सकेका छैनन्। प्राधिकरणले वैदेशिक रोजगार म्यादी लघु जीवन बीमा र मोटर बीमा पोलिसी बिक्री गर्न सक्ने अनुमति लघुबीमकलाई दिएको छ।

सरकारले पोहोरकै कृषि बीमाको प्रिमियम बापतको अनुदान रकम भुक्तानी नगर्दा बीमकले पोलिसी बिक्री बन्द गर्ने घोषणा गरेका छन्। जसका कारण लघुबीमकले पनि अनुदानको कृषि बीमा पोलिसी बिक्री गर्न सकेका छैनन्।

ठूला बीमा कम्पनी सहर केन्द्रित व्यवसायमा लागेको भन्दै प्राधिकरणले प्रदेशमा प्रधान कार्यालय रहने गरि २०७९ मंसिरमा ३ जीवन र ४ निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो।

बजारको तुलनामा कम्पनीको संख्या धेरै भएको भन्दै २०७८ चैतमा मर्जर नीति ल्याइ दर्जन बीमा कम्पनीको अस्तित्व मेटेको प्राधिकरणले आफ्नै नीति विपरित लघुबीमा कम्पनीलाई लाइसेन्स दिएर उनीहरुको व्यवसाय सुनिश्चत गर्न केही नीतिगत व्यवस्था गरेको छ। तर, लघुबीमकले अपेक्षित रुपमा व्यवसाय बढाउन सकेका छैनन्।

बीमा ऐन,२०७९ ले ग्रामिण क्षेत्रमा सानो बीमा गर्नका लागि लघुबीमा कम्पनी स्थापना गर्न सकिने व्यवस्था गरेको छ। ऐनले दिएको सोही प्रावधानमा टेकेर प्राधिकरणले लघुबीमाको लाइसेन्स दिएको हो। ऐन अनुसार प्रत्येक बीमकले समेत लघुबीमा गर्नुपर्छ।

लघुबीमकको चुक्ता पुँजी ७५ करोड रुपैयाँ छ। अधिकांश कम्पनीले पहिलो साधारण सभाबाट आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेका छन्।