लघुबीमा कम्पनीको व्यवसाय सुनिश्चित गर्न एकपछि अर्को नीतिगत लचकता अपनाउँदै प्राधिकरण

बिजमाण्डू
२०८० माघ १० गते ०७:०१ | Jan 24, 2024
लघुबीमा कम्पनीको व्यवसाय सुनिश्चित गर्न एकपछि अर्को नीतिगत लचकता अपनाउँदै प्राधिकरण

काठमाडौं। लघुबीमा कम्पनीको व्यवसाय सुनिश्चित गर्न नेपाल बीमा प्राधिकरणले एकपछि अर्को नीतिगत लचकता अपनाएको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणले जीवन र निर्जीवन लघुबीमा कम्पनीलाई बिजनेस दिने गरी व्यवसायको दायरा बढाउँदै लगेको हो। प्राधिकरणले अहिले लघु जीवन बीमा कम्पनीलाई वैदेशिक रोजगार म्यादी जीवन बीमा लेख बिक्री गर्न अनुमति दिएको छ।

वैदेशिक रोजगार म्यादी जीवन बीमासम्बन्धी निर्देशन संशोधन गरेर प्राधिकरणले लघुबीमा कम्पनीहरुलाई वैदेशिक रोजगार म्यादी जीवन बीमा लेख बिक्री गर्ने बाटो खुला गरिदिएको हो।

यसअघि ठूला बीमा कम्पनीले मात्रै वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय गर्दै आएका थिए। बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले वैदेशिक रोजगार म्यादी जीवन बीमासम्बन्धी निर्देशन संशोधन गरेर यसप्रकारको व्यवसाय लघुबीमा कम्पनीलाई पनि दिइएको बताए।

‘धेरैजसो वैदेशिक रोजगारीमा न्यून आए भएका व्यक्तिहरु नै जाने गरेका छन्, त्यसकारण सोही वर्ग लक्षित गरेर लघुबीमा कम्पनीलाई वैदेशिक रोजगार म्यादी जीवन बीमा लेख ब्रिकी गर्नदिने भन्ने हो,’ उनले भने।

वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या उच्च र अनिवार्य बीमा गर्नुपर्ने प्रावधानका कारण जीवन बीमा व्यवसायमा यसको हिस्सा धेरै छ। व्यावसायिक हिस्सा राम्रो भएकै कारण वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यावसाय लघुबीमा कम्पनीलाई मात्रै दिनुपर्ने धारणा लघुबीमकहरु राख्छन्।

लघुबीमा व्यवसाय गर्न अनुमति पाए पनि सीमित प्रडक्ट बेचिरहेका बीमा कम्पनीहरुले अपेक्षित रुपमा व्यावसाय बढाउन सकेका छैनन्।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले प्राधिकरणले अहिले वैदेशिक रोजगार म्यादी जीवन बीमा लेख बिक्री गर्न दिए पनि अब यो व्यवसाय लघुबीमा कम्पनीकै लागि सुनिश्चित गरिनुपर्ने बताए।

‘प्राधिकरणले अहिले हामीलाई वैदेशिक रोजगार म्यादी बीमा गर्न दिएको छ,’ उनले भने, ‘यस प्रकारको बीमा व्यवसाय गर्ने भनेकै लघुबीमा कम्पनीले हो। किनभने वैदेशिक रोजगारीमा जाने भनेकै न्यून आय भएका कमजोर वर्ग हुन्।’

प्राधिकरणले यसअघि निर्जीवन लघुबीमा कम्पनीलाई बिजनेस दिनकै लागि मोटर बीमा व्यवसायको दायरा बढाएको थियो।
प्राधिकरणले १८ पुसमा लघुबीमा निर्देशन, २०८० प्रथम संशोधन गर्दै ५० लाख रुपैयाँ दायित्वसम्मको लघुबीमा कम्पनीले मोटर बीमा गर्न पाउने व्यवस्था गरेको थियो।

सोही संशोधनमार्फत मोटर बीमामा तेस्रो पक्ष बीमा पनि लघुबीमा कम्पनीले गर्न पाउने व्यवस्था गरिएको छ। लघुबीमा व्यवसाय गर्न अनुमति पाए पनि सीमित प्रडक्ट बेचिरहेका बीमा कम्पनीहरुले अपेक्षित रुपमा व्यावसाय बढाउन सकेका छैनन्।

सीमित प्रडक्ट, साँघुरो व्यवसायिक दायरा लगायतका कारण कम्पनीहरुले व्यवसाय बढाउन नसकेको बीमकहरु बताउँछन्। लघुबीमा व्यवसायमा ठूला बीमा कम्पनी आकर्षित नभएको भन्दै बीमा प्राधिकरणले सोही प्रयोजनको लागि चार निर्जीवन र तीन जीवन लघुबीमा कम्पनीलाई व्यवसाय गर्न अनुमति दिएको थियो।

प्राधिकरणले लघुबीमाको लक्षित वर्ग न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायलाई तोकेको छ। लघुबीमा निर्देशन, २०७९ ले लघुबीमा व्यवसायमा जीवनतर्फ कम्पनीहरुले आजीवन, सावधिक, म्यादी र अन्य लघुबीमा व्यवसाय गर्न पाउने व्यवस्था गरेको छ।

निर्जीवनतर्फका लघुबीमा कम्पनीले निश्‍चित दायित्व अनुसार घर, सम्पत्ति तथा व्यवसाय, मोटर, इन्जिनियरिङ, दायित्व तथा मौद्रिक क्षतिको लघुबीमा गर्न पाउने व्यावसायिक दायरा तोकिएको छ। लघुबीमा कम्पनीहरुले सातै प्रदेशमा कार्यालय स्थापना गरेर व्यवसाय गरिरहेका छन्।