चिनियाँ स्याउ आयात गरेको लामो समयसम्म ‘फ्रेस’, नेपालमा उत्पादित स्याउ सदाबहार किन पाइँदैन?

सरला सुवेदी
२०८१ बैशाख २६ गते ०६:४१ | May 8, 2024
चिनियाँ स्याउ आयात गरेको लामो समयसम्म ‘फ्रेस’, नेपालमा उत्पादित स्याउ सदाबहार किन पाइँदैन?

काठमाडौं । नेपालमै उत्पादित हुने स्याउ भन्दा बजारमा चीनबाट आयात गरिने स्याउ धेरै बिक्री हुने गर्छ। मनाङ, मुस्ताङ, जुम्ला लगायतका जिल्लामा स्याउ उत्पादन भए पनि त्यसको बजार हिस्सा निकै न्यून छ।

Tata
GBIME
Nepal Life

लामो समय बाटोमै रोकिएर आउँदा पनि चिनियाँ स्याउ ताजा नै रहन्छ। नेपालमा उत्पादित स्याउभने केही महिनामात्रै बजारमा देखिन्छ। बाह्रै महिना बजारमा आयातित स्याउ पाइरहँदा उपभोक्ताले स्वदेशी स्याउ सिजनको समयमा मुस्किलले मात्र खान पाउँछन्।

नेपालमा पर्याप्त मात्रामा स्याउ उत्पादन नभएका कारण बजारमा बाह्रै महिना स्याउ उपलब्ध नभएको वरिष्ठ बागवानी विकास अधिकृत सूर्य प्रसाद बरालले बताए। मनाङ र मुस्ताङमा उत्पादन भएको स्याउ ४ महिना भन्दा बढी बजारमा नजाने उनी बताउँछन्।

‘ती क्षेत्रमा उत्पादित स्याउ त्यहीँ नै बिक्री गर्न नपुग्ने अवस्था रहेको छ। जसले गर्दा उत्पादन धेरै भए मात्र स्याउ कोल्ड स्टोरको आवश्यक पर्छ,’ उनले भने।

हिमालपारीका जिल्लामा स्याउ खेतीका लागि प्रशस्त जमिन भए पनि बाटो सुविधा राम्रो छैन। उत्पादन भएको स्याउ सडक सकसकै कारण सहर बजारसम्म ल्याउन सकिएको छैन। ल्याइए पनि त्यसको ढुवानी महंगो पर्छ। जसले स्याउको मूल्य आयातित स्याउ भन्दा महंगो बनाइदिन्छ।

बराल भने अहिले मुस्ताङमा मोटरबाटो सहज हुँदै गएको बताउँछन्। तर, त्यहाँ बजारको माग धान्न सक्ने गरि स्याउको उत्पादन प्रशस्त नभएको उनको बुझाइ छ।

कुलेश्वर फलफूल बजारका अध्यक्ष अंमर बानियाले चिनियाँ स्याउ उच्च टेक्नोलोजी प्रयोग गरिएको कोल्ड स्टोरमा राखिएकोले लामो समयसम्म ताजा रहने गरेको बताए। कोल्ड रुम भण्डारण गरेर राखिने भएकोले चिनियाँ स्याउ ‘फ्रेस’ नै देखिन्छ। कम परिणामा उत्पादन हुनु र बजारमा माग पनि नहुँदा नेपालका धेरै कृषकहरुले कोल्ड रुम बनाएका छैनन्। केही व्यवसायीले कोल्ड रुम बनाए पनि त्यो पर्याप्त छैन।

‘कोल्ड रुममा राखिएको स्याउ ६ महिनासम्म पनि बिग्रने हुँदैन। कोल्ड स्टोरमा राखिएको फलफूल एक-दुई महिनामा मात्रै परीक्षण गरिन्छ। स्वदेशी उत्पादनको हकमा भने यहाँको मार्फा स्याउको उत्पादन प्रशस्त नहुँदा बजारको माग धान्न सकिएको छैन,’ उनले भने।

बजारमा नेपालका उत्पादित स्याउ ३ देखि ४ महिनासम्म रहन्छ। त्यसबेला आयात गरिएका भन्दा मार्फा स्याउ खोज्ने ग्राहक बढी हुने बनियाँ बताउँछन्। तर, कोल्ड स्टोरको अभावमा नेपालमा उत्पादित स्याउले बाह्रै महिना बजारमा स्थापित हुन सकेको छैन।

‘सिजनको समयमा उपभोक्ताले नेपाली स्याउ महंगो रुपैयाँमा खरिद गर्छन्। बजारको माग भन्दा बढी उत्पादन नभएकोले स्याउ कोल्ड स्टोर गर्न सकिँदैन। नेपालमा चीनको जस्तो उच्च प्रविधिको कोल्ड स्टोर छैनन्,’ उनी भन्छन्, ‘हामीकहाँ सामान्य खालको कोल्ड स्टोर छन्। यसले स्याउ लामो समयसम्म नकुहिए पनि चाहुरियर ,सुकेर र रंगहिन हुने गर्छ।’

मनाङमा स्याउ भण्डारण गरिएको कोल्ड स्टोर

पछिल्लो समय स्वदेशी स्याउको उत्पादन बढ्दो क्रममा रहेको छ। व्यवसायिक रुपमा स्याउ खेतीको विस्तार हुँदैन। ती स्याउलाई बजारमा ल्याउन पहिला त सडक पूर्वाधार कै विकास हुनुपर्ने जानकार बताउँछन्। त्यसैले सरकारले आगामी दिनमा उत्पादन धेरै भएको खण्डमा स्याउलाई लामो समयसम्म ताजा राख्नका लागि नियन्त्रित वातावरण भण्डारबारे सोच्नु पर्ने बानियाँ बताउँछन्।

व्यवसायी उमेश श्रेष्ठ स्याउ भण्डारणका लागि ‘ह्युमिडिफायर मल्ट्री चेम्बर’ कोल्ड स्टोर बनाउनुपर्ने बताउँछन्। ‘वर्ष दिनसम्म स्याउलाई ताजा राख्न यसतो कोल्ड स्टोर नभइ हुँदैन,’ उनले बताए।

स्याउको स्वदेशी उत्पादन कति छ ?

राष्ट्रिय फलफूल विकास केन्द्रको अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ६ हजार १९९ हजार क्षेत्रफलमा स्याउको उत्पादन हुन्छ। उत्पादन ५२ हजार ७८४ मेट्रिक टन छ। वार्षिक रुपमा ८ अर्बको कारोबार हुने गरेको केन्द्रले जनाएको छ।स्याउको उत्पादन क्षेत्र बिस्तार हुने क्रम रहेको पाइएको छ।

भन्सार विभागका अनुसार हरेक वर्ष नेपालमा ७ अर्ब भन्दा बढी मूल्यको स्याउ आयात भएको छ। जसअनुसार वार्षिक ९ करोड केजीसम्म स्याउ भित्रिरहेको छ।