बचतकर्ताको संख्याका तुलनामा किन सहकारी ठगीमा कम उजुरी पर्छ? ‘स्रोत नखुलेको पैसा जम्मा’

सविन ढकाल
२०८१ बैशाख २६ गते ०९:३० | May 8, 2024
बचतकर्ताको संख्याका तुलनामा किन सहकारी ठगीमा कम उजुरी पर्छ? ‘स्रोत नखुलेको पैसा जम्मा’

काठमाडौं। झन्डै एक वर्षअघि कास्कीमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै उजुरी पर्‍यो। जिल्लामा ७ हजार १ सय ७० जना बचतकर्ता सहकारीमा थिए। तर, जाहेरी दिनेको संख्या १ हजार १ सय २९ मात्र पुग्यो। कुल बचतकर्तामध्ये १५ प्रतिशतले मात्र उजुरी दिए। के बाँकी ८५ प्रतिशत बचतकर्ता ठगिएका थिएनन्? वा उजुरी नै दिएनन्?  ठगिएका भए किन उजुरी परेन?

Tata
GBIME
Nepal Life

प्रहरीले यस घटनामा अनुसन्धान गरेर ११ जनालाई अभियुक्त बनायो। जसमा ४ जना समातिए। अदालतको आदेशमा केही पुर्पक्षको लागि थुनामा छन्। बचतकर्ताले ५४ करोड २३ लाख ८५ हजार रुपैयाँ बचत भएको देखियो। जसमा ४३ करोड रुपैयाँ ठगी गरेको खुल्यो।

त्यसो त शिवशिखर सहकारीले अहिले देशका विभिन्न जिल्ला ठगी गरेको खुलेको छ। हालसम्म प्राप्त सूचनाअनुसार ३२ हजार बचतकर्ताबाट ११ अर्ब रुपैयाँभन्दा बढी ठगिएको खुलेको छ। माथिको तथ्यांक कास्की जिल्लाको मात्र हो।

चार महिनापछि अर्को ठूलो सहकारी ठगी प्रकरण बाहिर आयो। अहिले यो सहकारी ठगी निकै चर्चा रहेको छ। सुदर्शन बचत तथा ऋण सहकारी संस्थामा कुल बचतकर्ता १८ हजार ७ सय थिए। तर, उजुरी दिनेको संख्या भने १ हजार ३५ मात्र थिए। प्रतिशतमा हेर्दा साढे पाँच प्रतिशत मात्र हो।

शिवशिखरको तुलनामा झनै कम प्रतिशत उजुरी परेको छ। सहकारी व्यवस्था विभागका उप-रजिस्ट्रार टोलराज उपाध्याय ठगीका पीडितको संख्याअनुसार उजुरीको संख्या कम भएको स्वीकार गर्छन्।

‘विभिन्न कारणहरूले गर्दा सबै पीडितले उजुरी दिने गरेको देखिएन। यसमा दोहोरो बचतकर्ता, सूचनाको अभाव र केही आशंकाको कारण पनि उजुरी दिने गरेका छैनन्,’ उनले भने।

रकम डुबेको अनुपातमा उजुरी नपर्नुको प्रमुख कारण- स्रोत नखुलेको पैसा हो।

खासगरी सेना-प्रहरीका उपल्ला अधिकृतहरुले सहकारीमा पैसा जम्मा गरेको पाइएको छ। यसबाहेक आफूलाई राष्ट्र सेवक भन्ने सरकारी कर्मचारीहरुको पनि सहकारीमा राम्रै पैसा जम्मा भएको छ। उनीहरुले पेसा डुब्यो भनेर उजुरी गर्न जाँदा कहाँबाट त्यत्रो पैसा आयो भनेर अर्को अनुसन्धान हुन्छ। त्यसैले उनीहरु रकम डुबेपनि उजुरी गर्न नगएको पाइएको छ।

‘रकम जम्मा गर्न सहकारीमा सजिलो छ। बैंकहरुमा जस्तो बिस्तृत केवाइसी केही पनि हुँदैन। कतिपय सहकारीमा त सांकेतिक नामबाट पनि पैसा जम्मा भएको देखिन्छ’ स्रोतले भन्यो, ‘कर तिरेर बैधानिक रुपमा कमाएको पैसा डुब्दा उजुरी नगर्ने भन्ने हुँदैन। त्यसैले अवैध रुपमा कमाएको पैसा डुब्दा उजुरी गर्न डर भएको देखिन्छ।’

एउटै घरबाट दुई वा दुईभन्दा बढी सहकारीमा सदस्य समेत भएका छन्। जसमा ठगीको घटना बाहिरिएपछि एक घरबाट एक जनाले मात्र उजुरी दिने गरेको पनि देखिएको छ। जसले गर्दा बचतकर्ता र उजुरीकर्ताको संख्यामा धेरै फरक पाइएको छ। कतिलाई त आफूले बचत गरेर सहकारीको ठगी प्रकरण बारे जानकारी समेत नहुँदा उजुरी दिन नआउने गरेको देखिएको छ।

बलिदान बचत तथा ऋण सहकारी संस्थाको हालत यस्तै देखिन्छ। कुल ६ हजार ३ सय ४५ बचतकर्ता रहेको सहकारीमा ठगी भएको भन्दै १ सय ९८ जनाले मात्र उजुरी दिए। जुन बचतकर्ताको संख्याअनुसार ३ प्रतिशत मात्र हो। तर, १० करोड ६९ लाख ३५ हजार ८ सय ४४ रुपैयाँ बचत रहेको सहकारीमा ठगिएको भन्दै परेका उजुरी संख्याको आधारमा मागदाबी भने ४ करोड २८ लाख ५३ हजार रुपैयाँ बराबरको पर्‍यो। बचत रकमसँग प्रतिशतमा हेर्दा ४० प्रतिशत बराबरको हो।

यसले उजुरीको संख्या कम देखिए पनि माग दाबी भने बढी देखियो। औसतमा हेर्दा एक बचतकर्ताको २१ लाख रुपैयाँभन्दा बढी रकम ठगिएको देखिन्छ। यसले के धरै जना र ठूलो परिमाणमा रकम ठगी हुँदा मात्र पीडित उजुरी दिन जान्छन् भन्ने प्रश्न खडा भएको छ।

सबैले उजुरी नगर्दा सानो परिमाण बचत गरेका बचतकर्ताको रकम भने जोखिममा पर्ने गरेको छ। त्यसो त सहकारीमा स्रोत नखुलेको रकम समेत जम्मा गरेर वैध बनाउने आरोप लाग्ने गरेको छ।

‘यस्तो रकम पनि सहकारीमा हुन सक्ने भएकाले पनि उजुरीकर्ताको संख्या कम हुन सक्ने ठाउँ भने देखिन्छ,’ सहकारी विभागका उपरजिस्ट्रार उपाध्यायले भने।

गत मंसिर १६ मा प्रहरीमा ठगी प्रकरणमा उजुरी दर्ता भएको मित्र मिलन बचत तथा ऋण सहकारी  संस्थाको पनि बचतकर्ताको कुल संख्याका तुलनामा ठगीमा परेको दाबी गरेका पीडितको संख्या कम देखिन्छ। कुल ३ हजार ४ सय ४६ बचतकर्ता रहेको सहकारीमा १ सय ३३ जनाले मात्र ठगिएको भन्दै उजुरी दिएका छन्। यो उजुरीकर्ताको संख्या ३ प्रतिशत मात्र हो।

बचतकर्ताको संख्या र उजुरीको संख्या कम हुँदा प्रहरीले अनुसन्धानमा बिगो दाबी गर्दा समस्या आउने गरेको छ। अनुसन्धानपछि अदालतमा मुद्दा बुझाउँदा उजुरी संख्याको आधारमा मात्र बिगो माग गरिन्छ। जसले गर्दा पछि अन्य पीडित खुल्दै आए वा ठगिएको भए उनीहरूको हकमा रकम उठाउन समस्या मात्र होइन लामो समय लाग्ने देखिन्छ।

यस विषयमा सहकारी विभागले केही समय अगाडी अनुसन्धानकर्ता र अभियोजनकर्ताहरू रहेको बैठकमा यस विषयमा छलफल भएको थियो। केही सहकारीको हकमा भने प्रहरीले उजुरीकर्ता अन्य अनुसन्धानमा खुलेको बिगो अनुसार माग दाबी समेत गरेको देखिन्छ। तर सामान्यतया उजुरीलाई नै बिगो माग गरिएको हुन्छ।

‘केहीमा हामीले उजुरीकर्ताको भन्दा पनि अनुसन्धानबाट अपचलन भएको रकमलाई पनि बिगो बनाएका छौं। सूर्यदर्शनमा उजुरीको मात्र बिगो छैन। तर, धेरैमा उजुरीको आधार नै हुन्छ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले भने।

त्यसो त सहकारी सञ्चालकले प्रलोभनमा पार्दा समेत बचतकर्ता उजुरी दिन नपुग्ने गरेको पनि देखिन्छ।

पछिल्लो समय समस्या आएका सहकारीमा पीडितले ६ करोड रुपैयाँसम्म ठगिएको भन्दै उजुरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीमा ६ करोड एकै जनाको ठगी भएको भन्दै उजुरी समेत परेको थियो। तर प्रहरीले बचतकर्ताहरूको ६ करोड रकमको स्रोत भने खोजेन। केही समय अगाडि जिल्ला प्रहरी कार्यालय काठमाडौंले गरेको अनुसन्धानमा कान्तिपुर सहकारी संस्थामा पनि एकै जनाको खातामा सवा २ करोड रुपैयाँ जम्मा भएको देखिएको थियो।

एक करोडभन्दा बढी जम्मा गर्ने निक्षेपकर्ताको सख्या पनि धेरै देखिन्छ। यसरी सहकारीमा एकै जनाको करौडौं रुपैयाँ जम्मा हुँदा रकमको स्रोतमाथि पनि प्रश्न उठेको छ।