कोटिभिटीविरुद्धको मुद्दाले विवादित ढुंगानाको जिम्मेवारी खोसियो, राजस्व अनुसन्धान विभागमा बूढा

बिजमाण्डू
२०८१ बैशाख २३ गते १२:२५ | May 5, 2024
कोटिभिटीविरुद्धको मुद्दाले विवादित ढुंगानाको जिम्मेवारी खोसियो, राजस्व अनुसन्धान विभागमा बूढा
नवराज ढुंगाना र चक्रबहादुर बूढा

काठमाडौं। अमेरिकी लगानीको सफ्टवेयर कम्पनी कोटिभिटीविरुद्ध कर छलीको मुद्दा दायर गरेपछि विवादित भएका राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना सरुवामा परेका छन्।

Tata
GBIME
Nepal Life

कानुनको गलत व्याख्या गरेर कोटिभिटीविरुद्ध कर छलीको मुद्दा दायर गरेपछि विवादित भएका ढुंगानालाई विभागबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालयमा ल्याइएको छ। उनको ठाउँमा सरकारले चक्रबहादुर बूढालाई ल्याएको छ।

विभागले गत चैत तेस्रो साता कोटिभिटीविरुद्ध १० अर्ब ३६ करोड ४५ लाख रुपैैयाँ बराबरको माग दाबी गर्दै मुद्दा दायर गरेको थियो। यो मुद्दालाई लिएर ढुंगाना आलोचित भएका थिए।

कानुनको गलत व्याख्या गरी सूचना प्रविधि क्षेत्रलाई तहसनहस बनाउने कदम चालेको भन्दै चर्को विरोध भएपछि सरकारले मध्यमार्गी बाटो अपनाउन खोजिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यस विषयमा अर्थमन्त्री वर्षमान पुनसँग छलफल गरिसकेका छन्।

प्रधानमन्त्री र अर्थमन्त्रीले विभागको कदम लगानीकर्तलाई निरुत्साहित तुल्याउने कदम भएको निष्कर्षसहित मध्यमार्गी बाटोबारे कानुनी परामर्श गर्न विभागलाई निर्देशन दिएका थिए। त्यसपछि विभागले वैशाख पहिलो साता महान्यायाधिवक्ता दिनमणि पोखरेलसँग परामर्श गरेको थियो।

प्रधानमन्त्री र अर्थमन्त्रीले मुद्दा फिर्ता लिएरै भएपनि समस्या समाधान गर्नुपर्छ भने पनि अहिलेसम्म मुद्दा फिर्ताको निर्णय भएको छैन।

बिहीबारको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई विभागको महानिर्देशकबाट हटाइ प्रधानमन्त्री कार्यालयमा सरुवाको निर्णय गरेको हो।

विभागबाट सरुवा गरिएका ढुंगानालाई कोलकाताको महावाणिज्यदूत बनाउने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुले बताएका छन्। कोलकाताको महावाणिज्यदूतमा अहिले ईश्वरराज पौडेल छन्। उनको चार वर्षे कार्यकाल साउन पहिलो साता सकिँदैछ।

ढुंगानाले आफू प्रधानमन्त्री कार्यालयमा सरुवा भएको तर जिम्मेवारीबारे कुनै टुंगो नलागेको बताए।

ढुंगाना प्रधानमन्त्री दाहाल निकट मानिन्छन्। दाहालसँग निकट भएकै कारण उनले गत असार दोस्रो साता विभागको नेतृत्व पाएका थिए। उनले प्रधानमन्त्री दाहालको निजी सचिवका रुपमा पनि काम गरिसकेका छन्।

त्यसो त विभागका नयाँ महानिर्देशक चक्रबहादुर बूढा पनि माओवादी निकट नै हुन्। केही दिनअघि पर्यटन विभागको महानिर्देशकबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका बूढाले माओवादी निकट भएकै कारण प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागको नेतृत्व पाएका हुन्।

बूढा माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री हुँदा २०७९ मंसिरमा भन्सार विभागको महानिर्देशक भएका थिए। विभागको महानिर्देशक हुनुअघि उनी अर्थ मन्त्रालयमा बजेट महाशाखा प्रमुख थिए।