१०० रुपैयाँको नोटमा नयाँ नक्सा राख्दै सरकार, भारतीय विदेशमन्त्रीले के भने ?

बिजमाण्डू
२०८१ बैशाख २३ गते ०८:३३ | May 5, 2024
१०० रुपैयाँको नोटमा नयाँ नक्सा राख्दै सरकार, भारतीय विदेशमन्त्रीले के भने ?

काठमाडौं। केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गर्‍यो। लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपाली क्षेत्र समेट्ने गरि नयाँ नोटमा नक्सा परिवर्तन गर्न लागिएको हो।

Tata
GBIME
Nepal Life

संसदबाटै नयाँ नक्सा पारित भएर प्रकाशन हुँदा पनि नोटमा भने पुरानै नक्सा थियो। त्यसैले, अब भने सुरुवातमा १०० को नोटबाट नक्सा परिवर्तनको थालनी हुन लागेको हो।

सरकारले यो घोषणा गरेसँगै फेरि सीमा विवाद चर्चामा आएको छ। नोटमा नयाँ नक्सा राख्ने विषयलाई भारतले नेपालको ‘एकतर्फी काम’ भनेर टिप्पणी गरेको छ।

नोटको बारेमा प्रश्न सोध्दा भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालसँग स्थापित संयन्त्रको माध्यमबाट सीमा विवादबारे छलफल भइरहेको बताएका छन्। उनले नेपालको कुनै पनि कदमले वास्तविकता परिवर्तन नगर्ने टिप्पणी पनि गरेका छन्।

नयाँ नक्सा प्रकाशनपछि भारतीय पक्षसँग विस्तृतमा छलफल भएको छैन। नेपालले पनि कुनै कूटनीतिक पहल अघि बढाएको छैन।

भारतले यसअघि पनि नेपालले आफ्नै भूमिसहितको नक्सा जारी गर्दा त्यसलाई एकपक्षीय कदम भनेको थियो। नेपालले जारी गरेको नक्साको कुनै ऐतिहासिक तथ्य प्रमाण नरहेको समेत दाबी भारतको छ। तर, ऐतिहासिक प्रमाण, पुराना नक्साहरुले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै क्षेत्र रहेको प्रष्ट पार्छ। जुन भारतले स्वीकार्न चाहेको छैन।