विद्रोही दुर्गा प्रसाइँमा आएको ‘यू-टर्न’, सर्वोच्चको आदेशसँगै ‘कर्पोरेट फ्लेबर’ मा

सविन ढकाल
२०८० चैत्र २० गते १४:४४ | Apr 2, 2024
विद्रोही दुर्गा प्रसाइँमा आएको ‘यू-टर्न’, सर्वोच्चको आदेशसँगै ‘कर्पोरेट फ्लेबर’ मा

‘लघुवित्तका मानिस गाउँमा आए भने च्याप्प समाउने कालोमोसो दलिहाल्ने। बैंकको मान्छेले टर्चर गर्‍यो भने बैंकको भित्र पस्यो भने डाँका मुद्दा लाग्छ। बाहिर रुघेर बस्ने कालोमोसो दल्ने।’

Tata
GBIME
Nepal Life

‘मारवाडीले देश लुटेका छन्। उनीहरुको एक/एक हिसाब मसँग छ। … ग्रुपले त दुबई र सिंगापुरमा पैसा लगिसकेका छन्।’

‘…बैंक डुब्दै छ, बचतकर्ताले आफ्नो रकम तुरुन्त निकाल्नु होला। सञ्चालक भागे भने सहकारीका बचतकर्ताको जस्तो हालत होला। बेलैमा होस् पुर्‍याउनु होला।’

‘बैंकको ऋण तिर्नु पर्दैन। काठमाडौं घेराउ गरेपछि ऋण मिनाहा हुन्छ। केही दिन पर्खिनुस्। तपाइँहरुको ऋण सरकारले तिरिदिन्छ।’

***

२०८० चैत १२ अघिसम्म दुर्गा प्रसाइँको घृणायुक्त भाषण (हेट स्पिच) हुन्थ्यो। उनले कतिपय व्यवसायीको नामै किटेर व्यक्तिगत आक्षेप लगाए।

बैंकहरु मारवाडी समुदायको पकडमा रहेको, तिनै बैंकले सर्वसाधारणलाई शोषण गरिरहेको भन्दै केही बैंकरलाई समेत गाली गरे। उनले गाली नगरेका, आक्षेप नलगाएका राजनीतिकर्मी, व्यवसायी, बैंकर कमै छन्।

चैत १२ गतेपछि प्रसाइँ फेरिएका छन्। करिब १० वर्ष लामो लडाइँपछि उनले झापामा ‘बी एण्ड सी मेडिकल कलेज’ सञ्चालन गर्न पाउने भएका छन्।

डा. गोविन्द केसीको आमरण अनसन, कहिले एमाले अध्यक्ष केपी शर्मा ओली त कहिले प्रधानमन्त्री पुष्पकमल दाहालले गिजोलेका कारण उनको मेडिकल कलेज खोल्ने सपना मृग मरिचिका बनेको थियो।

सर्वोच्च अदालतमा ४७ पटक पेसी सरेपछि उनले चैत १२ गते ‘न्याय’ पाएका छन्, जसले गर्दा हेट स्पिच दिने प्रसाइँ अहिले यू-टर्न भएका छन्। आक्रोश र विद्रोह ‘कर्पोरेट’मा रुपान्तरण भएको छ।

अदालतबाट फैसलाको पूर्णपाठ आइनसक्दै उनले बैंकहरुसँग बाक्लो भेटघाट गर्न थालिसकेका छन्। आइतबार उनले मेडिकल कलेजका लागि ग्लोबल आइएमई बैंकसहित सहवित्तीयकरणमा ऋण दिएका नबिल र कुमारी बैंक, लुम्बिनी विकास बैंक तथा गुडविल फाइनान्सका व्यवस्थापकहरुसँग छलफल गरेका थिए।

सोमबार पूर्वाञ्चल क्यान्सर हस्पिटलका लागि यीसहित प्रभु बैंकसँग पनि कुराकानी गरेका थिए। चैत १२ अघिसम्म उग्रता देखाउने प्रसाइँले केही शान्त र ‘तौलेर’ मात्रै अभिव्यक्ति दिन थालेका छन्।

हेट स्पिचका कारण उनलाई सहवित्तीयकरणमा ऋण दिएका बैंकहरुले पैसा तिर्न पत्र काटेका थिए। उनले तत्कालै जवाफ फर्काउँदै बैंकसँग च्यालेन्ज गर्दै भनेका थिए- ‘जे गर्न सक्छौं गर।’ लघुवित्तदेखि बैंकिङ प्रणालीमा उनकै कारण थ्रेट आएको बैंकरहरुको निष्कर्ष थियो। तर, उनै प्रसाइँमा अहिले आएको परिवर्तनमा बैंकरसमेत आश्चर्यमा परेका छन्।

‘त्यस्ता दुर्गा प्रसाइँमा अहिले १८० डिग्रीको फरक पाएका छौं,’ अदालतको फैसलापछि छलफलमा बसेका एक बैंकरले भने, ‘उहाँले केही कमीकमजोरी भएको र आफ्नो सबैथोक सकिन लागेका बेलाको आवेग थियो भन्नु भयो।’

बैठकमा एकजना बैंकरले प्रसाइँलाई भनेपनि- तपाइँले अब मुख सुधार्नु भएन भने अप्ठेरोमा पर्नु हुन्छ। मुखले नै हो मान्छेलाई माथि पुर्‍याउने र तल झार्ने पनि। जवाफमा प्रसाइँले- आफ्नो उद्देश्य व्यवसाय गर्ने र बाहिर पढ्न जानेलाई नेपालमै पढ्ने वातावरण बनाउने रहेको बताए।

***

२०४६ सालतिर १३ लाख ५५ हजार रुपैयाँ बैंकबाट ऋण लिएर भैँसी पाल्न थालेका थिए प्रसाइँले। उनलाई त्यो ऋण अहिले राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका किरणकुमार श्रेष्ठले दिलाइदिएका थिए।

भैँसीबाट सुरु गरेको उनको व्यवसाय खासै फस्टाएन। ऋणमाथि ऋण बढिरह्यो। उनले पनि एउटा भएन भन्दै अर्को व्यवसायतिर हात हाल्दै गइरहे। लाखबाट सुरु भएको कारोबार यसैगरी तीन दशकमा अर्बमा पुग्यो। व्यावसायिक सफलतासँगै राजनीतिक कनेक्सन पनि बढ्न थाल्यो।

ठूलो व्यवसायका लागि पैसा मात्रै भएर पुग्दैन राजनीतिक सामिप्यता चाहिन्छ भन्ने बुझेका प्रसाइँले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग सम्बन्ध बनाए। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नै घरमा लगेर पार्टी एकीकरणको आर्किटेक्ट बनेको दाबी समेत गरे।

यो सबैमा उनको स्वार्थ थियो- मेचीमा पहिलो मेडिकल कलेज सञ्चालन गर्ने सपना। त्यसका लागि उनले राजनीतिक कनेक्सन प्रयोग गर्न सबै तह र वर्गका नेतासँग निकटतम साइनो जोडे।

शिक्षा मन्त्रालयले झापाको तत्कालीन अनारमनी गाविसमा एमबीबीएस कार्यक्रम सञ्चालका लागि प्रसाइँको कलेजलाई २०६८ माघ २४ गते मनसायपत्र प्रदान गर्‍यो। कलेजले पूर्वाधार तयार गरी सम्बन्धनका लागि २०७३ फागुन १५ गते काठमाडौं विश्वविद्यालयसमक्ष निवेदन दियो।

जनयुद्धकालमा माओवादीसँग नजिक भएका प्रसाइँले प्रचण्डसँग नजिएर झापामा मेडिकल कलेजको सम्बन्धन लिन सकेको बल लगाए। प्रचण्डले पनि त्यतिखेर प्रसाइँलाई साथ दिन खोजे। तर, सम्बन्धन दिन उनको लबिइङले पनि काम गरेन वा भित्री मनले चाहेनन्!

एमाले अध्यक्ष ओलीले पनि प्रसाइँलाई प्रयोग नै गरे। आफ्नो जायजेथा राखेर बैंकबाट ऋण लिएर तयार भएको मेडिकल कलेज चलाउन उनले पाएनन्। उनको सपनामाथि देशलाई परिवर्तन गर्छु भन्नेबाट तुहाइयो।

त्यसबीचमा प्रसाइँको जीवनलाई फरक पार्ने केही घटना भए। आफ्नै छोरीलाई एमडी अध्ययनका लागि विदेश पठाउनुपर्ने अवस्था आयो। हो, यही समय प्रसाइँमा विद्रोहको आगो सल्कियो।

‘मेरी छोरीले एमबीबीएस सकिन्। अब एमडी पढ्न सिट पाइनन्। छोरीलाई तीन करोड रुपैयाँ खर्च गरेर जापान पढ्न पठाउनु पर्ने भयो,’ उनले भने, ‘छोरीलाई एयरपोर्टमा बिदा गर्दा मेरो आँसु खस्यो।’

त्यति मात्रै होइन अर्बौं लगानी गर्ने व्यवसायीमाथि ‘मेडिकल माफिया’को आरोप पनि लाग्यो। त्यसपछि मेडिकल कलेजको सपना थाँती राखेर उनी सामाजिक उल्झनका घटना नियाल्न पुगे।

‘मलाई मेडिकल कलेज चलाउन दिएको भए, त्यतातिर मेरो ध्यान जाँदैन्थ्यो। म बाध्य भएर समाजमा भइरहेका विभिन्न घटनासँग जोडिन पुगें,’ उनले भने, ‘विभिन्न क्षेत्रमा भएको विकृतिका विरुद्धमा लाग्न थालें।’ उनका वरपर केही घटना सहकारीका थिए, केही लघुवित्तका।

‘मेरो घर छेउमै ऋण तिर्न नसकेर तीनजनाले आत्महत्या गरे,’ उनले भने, ‘लघुवित्तले मान्छेलाई आत्महत्या गर्ने बनाइरहेको छ। उनीहरुलाई मैले जोगाउनुपर्छ भन्ने लाग्यो।’

बैंकहरुले ब्याज बढाएर घरखेत खाइदिन थालेको बताउँदै उनले भने- जायजेथा खाइदिएको छ। मनपरी गरिदिएको छ। अनि ब्याजदर अति भयो भनेर आन्दोलन गर्ने निधोमा पुगियो।

‘मलाई एउटा/दुईवटा कुराले होइन, धेरै कुराले असर पारेको छ। मेडिकल कलेज खोलेर देशमै डाक्टर पढाउँछु भन्दा रोकिएको छ। ब्याज बढाएर मान्छेलाई आत्महत्या गर्नेसम्म पुर्‍याइएको छ,’ प्रसाइँले बिजमाण्डूसँग भने, ‘त्यसपछि म विद्रोह गर्न लागें। एउटा कुरा म तपाइँलाई भन्दिन्छु- मैले विद्रोह नगरेको भए आज बैंकको ब्याज १७/१८ प्रतिशत पुग्थ्यो। त्यो रोकियो नि।’

***

बैंक, मारवाडी समुदायका व्यवसायी, राजनीतिक नेतृत्वविरुद्ध बोल्ने प्रसाइँमा अचम्मलाग्दो परिवर्तन देखिएको छ। सामाजिक सञ्जालदेखि युट्यूबसम्म फुक्काफाल बोल्ने प्रसाइँ अहिले सार्वजनिक अभिव्यक्ति दिँदा सचेत बन्ने गरेका छन्। कुनै हेट स्पिच आइहाले उनले यो ‘अफ द रेकर्ड है’ भन्न भ्याइहाल्छन्।

‘बिजनेस गर्न केही सफ्ट कर्नर हुनुपर्छ। अब मेडिकल कलेजका लागि प्रोफेसरको तयारी छ। मेरो छोरा छ उसले हेर्छ। पूर्वाधार सबै भत्किएको छ, खिया लागेको छ। अब सामान चेन्ज गरेर चलाउनुपर्छ,’ प्रसाइँले मेडिकल कलेजको योजना बिजमाण्डूसँग सुनाए।

अब तपाइँ कलेज चलाउनु हुन्छ कि आन्दोलनतिरै लाग्नु हुन्छ?

‘आन्दोलन मैले मेरा लागि गरेको थिइन। पीडित भएकाहरुको पक्षमा गरेको थिएँ। पीडितका पक्षमा बोल्न म छाड्दिन,’ उनले भने, ‘अब हिजो जे भयो भयो- मैले बैंकहरुसँग पनि त्यही भनेको छु। अब विद्यार्थी पढाउने हो, आम्दानी गर्ने हो। रोजगारी दिने हो। उपचार गर्ने हो। आम्दानी भएपछि बैंकको पैसा तिर्ने हो।’

यो अभिव्यक्तिले लाग्छ, विद्रोही प्रसाइँ व्यवसायी बनिसकेका छन्।