नागरिक पेन्सन योजनामा कोषले सबै नेपालीलाई समेट्ने, न्यूनतम मासिक ५०० रुपैयाँ जम्मा गर्नुपर्ने

बिजमाण्डू
२०८१ बैशाख १६ गते १७:२४ | Apr 28, 2024
नागरिक पेन्सन योजनामा कोषले सबै नेपालीलाई समेट्ने, न्यूनतम मासिक ५०० रुपैयाँ जम्मा गर्नुपर्ने
अन्तर्क्रियामा बोल्दै नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की

काठमाडौं। नागरिक लगानी कोषले देशभरका सबै नागकरिकलाई नागरिक पेन्सन योजनामा समेटने भएको छ।

Tata
GBIME
Nepal Life

कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले बजेटमा भएको व्यवस्था अनुसार कोषले देशभरका सबै नागरिकलाई पेन्सन योजनामा समेटने गरी कार्य सुरु गरेको बताए।

उनले कोषले विराटनगरमा गरेको नागरिक पेन्सन योजना सम्बन्धी अन्तर्क्रियामा उक्त योजनामा चैत मसान्तसम्म २१ करोड ६० लाख रुपैयाँ जम्मा भएको र ६ हजार ११० जना सहभागी भएको जानकारी दिए।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत नागरिक लगानी कोषमार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भनेको छ।

यस योजनामा आय आर्जन गर्ने, प्रचलित कानुन बमोजिम स्थापना भएका संघ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक, कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने व्यवस्था छ। यसमा बचतकर्ताले न्यूनतम मासिक ५०० रुपैयाँ जम्मा गर्न सक्ने छन्।

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्ने छ। बचतकर्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ट भुक्तानी लिन वा पेन्सनको रुपमा भुक्तानी लिन सक्नेछन्।

सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउने व्यवस्था कार्यविधिमा छ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोषले अवकाश कोष व्यवस्थापन गरी सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालनमा ल्याएकोले सहभागी हुन सबैलाई आग्रह गरे।