नक्कली नोटले चाबहिलदेखि ठमेलको क्लबमा रकम तिरिरहे, एलओडी छिर्न खोज्दा समातिए

बिजमाण्डू
२०८१ बैशाख १७ गते १२:५१ | Apr 29, 2024
नक्कली नोटले चाबहिलदेखि ठमेलको क्लबमा रकम तिरिरहे, एलओडी छिर्न खोज्दा समातिए

काठमाडौं। पछिल्लो समय देशभर नक्कली नोटको कारोबार बढ्दै गएको छ। व्यस्त बजारमा मात्र नभएर रेष्टुरेन्ट, नाइट क्लबमा कारोबारीले नक्कली नोट प्रयोग गर्ने गरेको देखिएको छ। काठमाडौं प्रहरीले केही समय अगाडि ठमेलको एलओडी नाइट क्लबमा नक्कली नोट लिएर इन्ट्री फी तिर्न खोज्दा नक्कली नोटसहित केही मानिसलाई पक्राउ गरेको थियो।

Tata
GBIME
Nepal Life

प्रहरीले अनुसन्धानको क्रममा जीन गुरुङ, विजय लामा  र छिरिङ तामाङलाई पक्राउ गरेको छ। त्यस्तै यसै प्रकरणमा जोडिएका उर्पा तामाङ भने फरार रहेकाले खोजी भइरहेको छ। उनीहरु विरुद्ध अनुसन्धान सकेर जिल्ला अदालत काठमाडौंमा मुद्रा सम्बन्धी कसुरमा मुद्दा दायर भइसकेको छ।

गत चैत १९ गते बिहान १ बजेतिर जीन गुरुङ र विजय लामा क्लब पुगेका थिए। उनीहरुले इन्ट्री रकमका लागि आफूसँग भएको हजारको नोट दिए। त्यसपछि क्लबमा खटिएका कर्मचारीलाई शंका लागेपछि अरु नोट मागे। बाँकी १७ वटा नोट पनि नक्कली जस्तो देखिएपछि प्रहरीलाई खबर गरिएको थियो।  प्रहरीले उनीहरुलाई पक्राउ गर्दा नोट दाबा छिरिङ भन्ने व्यक्तिले दिएको बताएका थिए।

दाबासँग लिएको रकममध्ये चाबहिलको दाउरा किचेन रेष्टुरेन्टमा खाजा र मदिरा खाएर ५ हजार रुपैयाँ तिरेको बताएका थिए। त्यसपछि ठमेलको फायर क्लब लाउन्जमा ३ हजार रुपैयाँ खर्च गरेको बताए। प्रहरीले त्यहाँ प्रयोग भएको नोट पनि नक्कली भएको आशंकामा ती ठाउँबाट थप १ थान हजारको नोट भेटिएको थियो।