बिलेनियरका रोजाइका विश्वका टप टेन सहर, कहाँ कति अर्बपति बस्छन् ?

बिजमाण्डू
२०८१ बैशाख २२ गते १५:३२ | May 4, 2024
बिलेनियरका रोजाइका विश्वका टप टेन सहर, कहाँ कति अर्बपति बस्छन् ?

फोर्ब्सले हालै जारी गरेको बिलेनियर लिस्टअनुसार विश्वभर कुल २ हजार ७८१ डलर अर्बपति छन्। उनीहरु विश्वका साना गाउँदेखि ठूला सहरसम्म छरिएका छन्। तर धेरैले रोज्ने गरेका एलिट सिटी अर्थात अर्बपतिका सहर कुन कुन हुन् त?

Tata
GBIME
Nepal Life

खासमा अर्बपतिहरुमध्ये एक चौथाइको संयुक्त सम्पत्ति ३ ट्रिलियन डलरभन्दा माथि छ, जो विश्वका ५ देशका १० सहरभित्र अटाएका छन्।

फोर्ब्सको पछिल्लो सूची अनुसार विश्वका अधिकांश अर्बपतिको पहिलो रोजाइको सहर न्यूयोर्क हो। यहाँ ११० अर्बपति बस्छन्, जसको सम्पत्ति जोड्दा ६९४ अर्ब डलर हुन्छ।

११ वर्षदेखि न्यूयोर्क नै अर्बपतिहरुको रोजाइको पहिलो सहर बनेको छ। तथापि सन् २०२१ मा बेइजिङले एक पटकका लागि त्यो वर्चस्व तोडिदिएको थियो।

न्यूयोर्कमा बस्ने अर्बपतिहरुमा ६२ जना वालस्ट्रिट तथा अन्य वित्तीय र लगानी टाइकुनहरु हुन्। १४ जना रियल स्टेट मुगलहरु छन्। फेसन र रिटेल क्षेत्रमा दबदबा राख्नेहरु दुई दर्जनभन्दा बढी छन्।

न्यूयोर्कपछि मस्को र हङकङ अर्बपतिहरुका रोजाइका सहर हुन्। यी दुवै सहरलाई बराबर अर्थात ७४/७४ अर्बपतिले आफ्नो बासस्थान बनाएका छन्।

यसपालि हडकङमा २ र मस्कोमा १२ अर्बपति थपिएका छन्। युक्रेनसँग लामो समयदेखिको युद्धका बाबजुद गत वर्ष छैटौं स्थानमा रहेको मस्को सम्पत्तिमा भएको बढोत्तरीपछि नम्बर २ मा आइपुगेको हो।

यस्तै मुम्बई पनि सातौंबाट चौथो स्थानमा आइपुग्न सफल भएको छ। उसले अर्बपतिको सूचीमा १३ जना थपेको छ।

पोहोर आठौं स्थानमा रहेको चीनको सेन्जेन सहर यसपटक टप १० को सूचीमा अटाएन। १७ जना अर्बपति गुमाउँदै यो सहर यस वर्ष १२ औं स्थानमा झर्न पुग्यो।  

अर्थतन्त्रमा देखिएको चुनौतीका कारण अफ्ठेरो समय भोगिरहेका बेइजिङ र सांघाई टप १० मा त छन्, तर दुवै सहर तल झरेका छन्।

सान फ्रान्सिस्को र लस एन्जलस यसपालि अर्बपति थप्दै माथि उक्लिएका छन्।

न्यूयोर्क

११० अर्बपति बस्ने न्यूयोर्कलाई बिलेनियरहरुको राजधानी भनिन्छ। यसपटक यो सहरमा नयाँ ९ अर्बपति थपिएका छन्। दुई धनाढ्य अर्बपति माइकल ब्लुमबर्ग र जुलिया कोचले सहरमा चौथाइभन्दा बढी सम्पत्ति होल्ड गर्छन्। मिडिया म्याग्नेट तथा पूर्वमेयर माइकल र कोच उद्योगकी उत्तराधिकारी जुलियाको सम्पत्ति सहरमा सर्वाधिक छ।

यो सहरकी सबैभन्दा धनाढ्य पनि माइकल नै हुन्। यसपालि यो सूचीमा फ्रेन्च पर्फ्युम कम्पनीका सहसंस्थापक र इजरायली क्याउड सेक्युरिटी स्टार्टअपका सहसंस्थापक थपिएका छन्।

मस्को

मस्कोमा कुल ७४ धनाढ्य बस्छन्। यसपटक मस्कोमा नयाँ १२ अर्बपति थपिएका छन्। यहाँका सबैभन्दा धनी भागिट एलेक्पेरोभको सम्पत्ति २८.६ अर्ब डलर छ।

युक्रेनमा जारी युद्धका कारण थपिएको ५० अर्ब डलर सम्पत्तिले मस्कोलाई छैटौंबाट दोस्रो स्थानमा ल्याउन सकेको हो। यो सहरमा यसपालि थपिएका अर्बपतिमध्ये केही प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा युक्रेनसँगको युद्धबाट फाइदा पाउनेहरु हुन्।  

यसमध्ये भ्लादिमिर मेलनिकोभ, जसको फास्ट फेसन रिटेलर ग्लोरिया जिन्सको बिक्री दुई वर्षमा २८ प्रतिशतले बढेको छ। आफ्ना प्रतिस्पर्धी विदेशी कम्पनी एचएनएम र जाराले युद्धका कारण रुसका करिब ६५० वटा स्टोर बन्द गरेको फाइदा ग्लोरिया जिन्सले उठायो। यस कम्पनीका मालिक भ्लादिमिरको सम्पत्ति १.७ अर्ब डलर पुगेको छ।

हङकङ

हङकङ पनि विश्वमै दोस्रो धेरै अर्बपति बस्ने सहर हो। यहाँका ७४ अर्बपतिसँग ३२६ अर्ब डलर सम्पत्ति छ। ७४ मध्ये २ जना नवप्रवेशी हुन्। हङकङका सबैभन्दा धनी लि का सिङको सम्पत्ति ३७.३ अर्ब डलर छ।

यसपटक क्रिप्टो बिजनेस टिथर एण्ड बिटफिनेक्सका सीइओ तथा सहसंस्थापक जाँ लुइ भान द भेल्द थपिएका छन्। यस्तै भेन्चर क्यापिटल होराइजन्स भेन्चर्सका सोलिना चाउ पनि अर्बपतिको सूचीमा थपिएकी छन् जसको कम्पनीले फेसबुक, स्पोर्टिफाइ, जुम जस्ता कम्पनीमा लगानी गरेको छ।  

मुम्बई

मुम्बई नगरी ६९ अर्बपतिहरुको बसोबासको थलो हो। तीमध्ये १३ जना यसपालि थपिएका हुन्। अर्बपतिहरुको रोजाइको चौथो यो सहरका ६९ धनाढ्यहरुले मात्र ३७९ अर्ब डलर सम्पत्ति होल्ड गर्छन्। ११६ अर्ब डलर सम्पत्तिका मालिक मुकेश अम्बानी मुम्बईका सबैभन्दा धनाढ्य हुन्।

एसियाकै धनाढ्य मुकेशदेखि सापुर मिस्त्रीसम्म यहाँ बस्छन्। सापुर आइरिस नागरिक हुन् जसले मुम्बई बेस्ड इन्जिनियरिङ तथा कन्स्ट्रक्सन जायन्ट सापुरजी पल्लोनजी ग्रुप चलाउँछन्।

बेइजिङ

चिनियाँ सहर बेइजिङमा अर्बपतिहरुमध्ये ६३ जना बस्छन् जसको २११ अर्ब डलर बराबरको सम्पत्ति छ। चीनको राजधानी बेइजिङ सन् २०२१ मा धेरै धनाढ्य बस्ने सहरको सूचीको पहिलो स्थानमा थियो। तर ३२ अर्बपति गुमाएपछि अहिले पाँचौं स्थानमा झरेको हो।

हाल यहाँ बस्ने ६३ अर्बपतिको कुल सम्पत्ति पनि १४ प्रतिशतले कम भएको छ। तथापि यो सहरमा दुई नयाँ अर्बपति थपिएका छन्।

एआई सफ्टवेयर कम्पनी फोरप्याराडाइमका संस्थापक तथा सीइओ डाइ वेन्युआन र इभी उत्पादक कम्पनी लि अटोका निर्देशक जेङ फान यो सहरका नवप्रवेशी अर्बपति हुन्।

लण्डन

लण्डन धनाढ्यहरुको रोजाइको छैटौं सहर हो। यहाँका ६२ अर्बपतिले ३२६ अर्ब डलर सम्पत्ति होल्ड गर्छन्। सबैभन्दा धनाढ्य लेन ब्लाभात्निक हुन् जोसँग ३२.१ अर्ब डलर बराबरको सम्पत्ति छ।

यो सहर सन् २०२२ पछि एक एक स्थान तल झर्दै यसपालि छैटौं स्थानमा पुगेको हो। यो सहरले यसपालि कुनै नवधनाढ्यलाई स्वागत गरेन। बरु एक अर्बपतिलाई भने गुमायो। लण्डनको डिपार्टमेन्ट स्टोर हारोड्सका मालिक तथा दोदी फायदका बुवा मोहम्मद अल फायदको गत अगस्टमा निधन भएपछि यहाँ बस्ने अर्बपतिको संख्या १ कम भएको हो।

सांघाई

धनाढ्यहरु बस्ने सहरको टप १० सूचीमा रहेपनि सांघाईले यसपालि सबैभन्दा धेरै अर्बपति गुमाएको छ। यो सहरले यसपालि ११ अर्बपति गुमायो। धनाढ्यहरुमध्ये ५४ जना भने यहिं बस्छन्। उनीहरुसँग कुल १६७ अर्ब डलर बराबरको सम्पत्ति छ।

यो सहरका आधाभन्दा बढी अर्बपतिको सम्पत्ति यसपालि घटेको छ। तथापि सांघाईले टेक क्षेत्रमा टेन फिगर क्लबमा ८ नयाँ सदस्य थपेको छ। यो सहरका सबैभन्दा धनाढ्य कोलिन हुआङको सम्पत्ति ८.७ अर्ब डलरले वृद्धि भइ ३८.९ अर्ब डलर पुगेको छ। उनी इ-कमर्स जायन्ट पीपीडी होल्डिङ्सका संस्थापक हुन्।

लस एन्जलस

सेलिब्रेटी बिलेनियर बस्ने सहर हो लस एन्जलस। किम कादर्शियन, रिहान्ना जस्ता सेलिब्रेटी बस्ने यो सहरमा यस वर्षसम्म १९ अर्बपति थपिएका छन्।

यहाँ बस्नेमध्ये ५३ जना अर्बपति हुन्। जोसँग कुल २२२ अर्ब डलर सम्पत्ति छ। यहाँ बस्नेमध्ये सबैभन्दा धनाढय जोन टु हुन् जसको सम्पत्ति १३.६ अर्ब डलर छ।

सिंगापुर

सिंगापुरमा यसपालि ६ नयाँ अर्पति थपिएका छन्। यहाँ अर्बपतिको संख्या अब ५२ पुगेको छ जोसँग कुल १५६ अर्ब डलर सम्पत्ति छ। फेसबुकका सहसंस्थापक एदुवार्दो साभेरिन, पाम तेल फर्म म्युसिम मासका करिम ब्रदर्स र युनाइडेड ओभरसिज बैंकका सहसंस्थापकका तीन अर्बपति नाति पनि यसै सहरमा बस्छन्।

यहाँ बस्नेमध्ये सबैभन्दा धनी फेसबुकका सहसंस्थापक एदुआर्दो हुन् जोसँग २८ अर्ब डलरको सम्पत्ति छ।

सान फ्रान्सिस्को

कुल ५० अर्बपतिहरुका साथ सान फ्रान्सिस्को धनाढ्यहरुको रोजाइको १०औं सहर हो। उनीहरुसँग १८५ अर्ब डलर सम्पत्ति छ। सिलिकन भ्यालीका अर्बपतिहरुको बाहुल्यता रहेको यो सहरमा यस वर्ष १३ अर्बपति थपिएका छन्।

सहरका अर्बपतिमध्ये सबैभन्दा धनी डस्टिन कोस्कोभित्ज हुन् जसको सम्पत्ति १८.३ अर्ब डलर छ। उनी पनि फेसबुकका सहसंस्थापक हुन्। पछि उनले फेसबुकबाट बाहिरिएर कम्प्युटर सफ्टवेयर कम्पनी असाना स्थापना गरेका थिए।