बीमा कम्पनीको सञ्जाल बढ्दा दायरा खुम्चिँदो, बिमक र नियामकले औंल्याए यी कारण

सुनिल कुँवर
२०८० चैत्र १७ गते २०:४५ | Mar 30, 2024
बीमा कम्पनीको सञ्जाल बढ्दा दायरा खुम्चिँदो, बिमक र नियामकले औंल्याए यी कारण

काठमाडौं। बीमा कम्पनीको सञ्जाल बढ्दै जाँदै दायरा भने घट्दै गएको छ। म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक बीमाको दायरामा आएको जनसंख्या १७.०४ प्रतिशतमा सीमित भएको छ।

Tata
GBIME
Nepal Life

बीमाको पहुँचमा रहेको यो जनसंख्या पोहोर फागुनको भन्दा १.४२ प्रतिशतले न्यून हो। नेपाल बीमा प्राधिकरणका अनुसार पोहोर फागुनमा १८.५६ प्रतिशत जनसंख्या बीमाको दायरामा थियो।

वैदेशिक रोजगार र म्यादी बीमालाई गणना नगर्ने हो भने चालु आर्थिक वर्ष फागुनसम्म ८२.९६ प्रतिशत जनसंख्या बीमाको पहुँच बाहिर छ।

पोहोर फागुनसम्म यस्तो जनसंख्या ८१.४४ प्रतिशत थियो। म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमा लेखलाई समेत गणना गर्दा यो वर्ष फागुन सम्म ३६.६० प्रतिशत जनसंख्या बीमाको दायराभित्र छ। पोहोर यही अवधिमा यस्तो जनसंख्या ३९.४६ प्रतिशत थियो।

प्राधिकरणले २०७८ मा पुँजी वृद्धिको नीति लिनुअघि जीवन बीमा कम्पनीको संख्या १९ थियो। मर्जर तथा प्राप्तिमा गएर पछिल्लो एक वर्षमा यो संख्या १४ मा झरे पनि तीन जीवन लघुबीमा कम्पनी थपिएका छन्।

यीसहित जीवन बीमा कम्पनीको संख्या १७ पुगेको छ। कम्पनीहरूले शाखा सञ्जाल र अभिकर्ता त्यही अनुसार विस्तार गरिरहेका छन्।

तर, दायरा बढ्नुको साटो खुम्चिँदै गएको छ। प्राधिकरणका अधिकारी र बीमकहरु बीमाको दायरा खुम्चिनुलाई अहिलेको आर्थिक शिथिलतालाई मुख्य कारण मान्छन्। ‘आर्थिक गतिविधि बढ्न सकेको छैन। उद्योग, कलकारखाना राम्रोसँग नचलेपछि थप रोजगारी सिर्जना हुन सकेन। भएको रोजगारी समेत गुम्ने अवस्था छ। त्यही भएर बीमा गर्ने केही घटेका हुन्,’ प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल भन्छन्, ‘अहिले बीमाको दायरा बढ्न नसक्नुको मुख्य कारण भनेको आर्थिक शिथिलता नै हो।’

नेसनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश खत्री पनि आर्थिक गतिविधि खुम्चिँदाको असर बीमा क्षेत्रमा देखिएको बताउँछन्।

‘पहिलो आवश्यकता भनेको गाँस, बास, कपास नै हो। आधारभूत आवश्यकता पूरा भएपछि मात्रै मानिसले बीमा गर्छन्,’ उनले भने, ‘अर्थतन्त्र निकै शिथिल अवस्थामा छ। आर्थिक कारण नै बीमाको पहुँच बढ्न नसकेको हो।’

अर्थतन्त्र सुस्त हुनुका साथै बीमा साक्षरतामा कमीले पोलिसी बढ्न नसकेको हिमालयन लाइफ इन्स्योरेन्सका सीईओ मनोजलाल कर्णको बुझाइ छ।

‘बैंकहरुले लगानी बढाउन सकेका छैनन्। त्यसले गर्दा बजारमा पैसा आएको छैन। अहिले साना बीमा पोलिसी जारी नै भए पनि ठूलो रकमका पोलिसी बिक्री भइरहेका छैनन्,’ उनले भने, ‘अर्कातिर बीमा सम्बन्धी चेतनाको कमी छ। त्यस कारण बीमाको पहुँच कम भएको हो। बीमा साक्षरता र आर्थिक गतिविधि बढ्दै गएपछि पहुँच विस्तार हुँदै जान्छ।’

प्राधिकरणका अनुसार पछिल्लो एक वर्षमा सक्रिय बीमा पोलिसीको संख्या १.३९ प्रतिशतले घटेको छ। पोहोर फागुनसम्म १ करोड ४० लाख पोलिसी सक्रिय रहेकोमा चालु वर्ष फागुनमा आइपुग्दा यो संख्या १ करोड ३८ लाखमा झरेको छ।

पछिल्लो एक वर्षमा १ लाख ९४ हजार बीमा पोलिसी सरेन्डर भएको तथ्यांक छ। नेसनल लाइफका सीईओ खत्री सहकारीमा देखिएको समस्या समेत पोलिसी सरेन्डर बढ्नुको कारण भएको बताउँछन्।

‘सहकारीमा पैसा राखेको हुन्छ। उनीहरूले त्यहीँबाट ब्याज लिएर पोलिसीलाई निरन्तरता दिइरहेका थिए,’ उनले भने, ‘अहिले सहकारीको अवस्था नाजुक छ। त्यही कारण पोलिसीलाई निरन्तरता दिन नसकेर सरेन्डर गर्ने क्रम बढेको छ।’

त्यसो त दायरा बढाउन कम्पनीले इनोभेटिभ प्रडक्ट ल्याउन सकेका छैनन्। ‘कम्पनीले परम्परागत प्रडक्ट नै बेचिरहेका छन्। इनोभेटिभ प्रडक्ट ल्याउन सकेका छैनन्। त्यसले पनि मानिसलाई आकर्षण गर्न नसकेको हो कि भन्ने बुझाइ छ,’  प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले भने, ‘अर्कातिर बीमा कम्पनीले सेवालाई प्राथमिकता दिन सकिरहेका छैनन्। बीमा गरेपछि दाबी भुक्तानी दिँदैनन् भन्ने पनि कतिपयमा परेको छ। त्यही कारण पहुँच घटेको जस्तो लाग्छ।’