एनएसी अध्यक्ष अधिकारीलाई क्यानले काट्यो २७ बुँदे पत्र, जवाफपछि एकाउन्टेबल म्यानेजरबाट हटाउने

वसन्तराज उप्रेती
२०८० चैत्र १३ गते १५:३१ | Mar 26, 2024
एनएसी अध्यक्ष अधिकारीलाई क्यानले काट्यो २७ बुँदे पत्र, जवाफपछि एकाउन्टेबल म्यानेजरबाट हटाउने

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एकाउन्टेबल म्यानेजरबाट हटाउने तयारीस्वरुप २७ बुँदे पत्र पठाएको छ।

Tata
GBIME
Nepal Life

क्यानले हवाई सुरक्षामा खेलाँचीबारे जवाफ दिन एक साताको समय दिइ मंगलबार निगमका एकाउन्टेबल म्यानेजर अधिकारीलाई २७ बुँदे पत्र पठाएको हो।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाले पटक पटक सचेत गराउँदा पनि निगमका अध्यक्ष अधिकारीले हवाई सुरक्षामा सुधारका लागि अटेर गरेकाले उनलाई हटाउने तयारीस्वरुप पत्र पठाएको बताए।

‘हवाई सुरक्षाका दृष्टिले निकै संवेदनशील मानिने तीन वटा विभाग ६ महिनाभन्दा लामो समयदेखि नेतृत्वविहीन बनाइएको छ। यस्तै जहाज मर्मत सम्भारमा पनि उतिकै लापर्बाही छ। हवाई सुरक्षामा लापरबाही भएको विषय युरोपियन युनियनले अडिटका क्रममा ४ महिनाअघि नै औंल्याएको हो। त्यो रिपोर्टका आधारमा हामीले सुधार गर्न भन्यौं तर उहाँले पटक्कै मान्नुभएन,’ निरौलाले भने, ‘उहाँबाट निगममा सुधारको काम हुने नदेखिएपछि बाध्य भएर पत्र काटिएको हो।’

क्यान सुरुमा अधिकारीलाई सिधै एकाउन्टेबल म्यानेजरबाट हटाउने तयारीमा थियो। तर, अदालत गएर अन्तरिम आदेश ल्याउन सक्ने भएकाले जवाफका लागि सात दिनको समय दिइएको हो।

उडान सुरक्षाका दृष्टिले अति संवेदनशील मानिने ड्युटी मेन्टिनेन्स डिपार्टमेन्ट, कन्टिनियुङ एयरवर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसन र कर्पोरेट सेफ्टी डिपार्टमेन्ट ६ महिनाभन्दा लामो समयदेखि नेतृत्वविहीन छन्।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज

कन्टिनियुङ एयरवर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसन र मर्मत सम्भार विभागका कर्मचारी हवाई सुरक्षा सुधारभन्दा पार्टपूर्जा र उपकरण प्राप्तिमा मात्र केन्द्रीत भएको क्यानले मंगलबार निगममा पठाएको पत्रमा उल्लेख छ।

अडिटमा क्रममा तीन महिनाअघि औंल्याइएका कमजोरी सुधारको प्रयास नै नगरेको पनि पत्रमा उल्लेख छ। अकाउन्टेबल म्यानेजरले नै चासो नदिएको क्यानले बताएको छ।

निगमका विभागबीच राम्रो समन्वय नरहेको र यसले गर्दा जहाजमा देखिने साना साना समस्या समेत समयमै समाधान नगरिएको पत्रमा उल्लेख छ।

ह्यांगर व्यवस्थापनप्रति पनि प्रश्न उठाइएको छ। ह्यांगरमा काम नलाग्ने जहाजको पाटपूर्जा र उपकरण राखेको तथा काम गर्ने वातावरण बिगारेको भन्दै यसमा अकाउन्टेबल म्यानेजरलाई दोषी देखाइएको छ।

निगमले नाफा कमाउने न्यारोबडी जहाज मर्मत नगरी ४ महिनादेखि ग्राउण्डेड राखेको विषयमा पनि क्यानले प्रश्न उठाएको छ। निगमको एउटा न्यारोबडी जहाज मंसिर १५ देखि ग्राउण्डेड छ।

मर्मतका लागि इजरायलमा रहेको नेपाल वायु सेवा निगमको न्यारोबडी जहाज

विमानस्थलमा कर्मचारी परिचालनलाई लिएर पनि क्यानले निगमसँग प्रश्न गरेको छ। कर्मचारीलाई चेकलिस्ट अनुसार परिचालन नगरेको र यसले दैनिक सेवा नै प्रभावित भएको पत्रमा औंल्याइएको छ।

वाइडबडी जहाजमा यात्रुको स्वास्थ्य जाँचसँग सम्बन्धितच एइडी संचालनमै नहरनुलाई पनि क्यानले कैफियतका रुपमा औंल्याएको छ। जहाजमा एइडी हुनु अनिवार्य मानिन्छ। पाइलटको कार्यतालिका अनुगमनमा बेवास्ता गरिएको भन्दै यसलाई पनि कमजोरीका रुपमा औंल्याइएको छ।

क्यानका प्रवक्ता निरौलाले जवाफ आएपछि एकाउन्टेबल म्यानेजरबाट हटाउने निर्णय गर्ने बताए।

क्यानले अधिकारीलाई एकाउन्टेबल म्यानेजरबाट हटाउनुका साथै अध्यक्षबाट बर्खास्त गर्न चाहेको छ। एकाउन्टेबल म्यानेजरबाट हटाइ अध्यक्षबाट बर्खास्त गर्न पर्यटन मन्त्रालयमार्फत मन्त्रिपरिषद्‍मा प्रस्ताव लाने उसको तयारी छ।

क्यानको तयारीबारे जानकारी पाएपछि निगम अध्यक्ष अधिकारीले राजनीतिक शक्तिकेन्द्रमा धाएर इमोसनल ब्ल्याकमेलिङ गर्न सुरु गरिसकेका छन्।