लगानी सम्मेलनमा अडानी नआउने, लगानीकर्तामाथिको ह्यारेसमेन्ट र प्रोजेक्ट नदेखेपछि हच्किए

बिजमाण्डू
२०८१ बैशाख ११ गते १५:०० | Apr 23, 2024
लगानी सम्मेलनमा अडानी नआउने, लगानीकर्तामाथिको ह्यारेसमेन्ट र प्रोजेक्ट नदेखेपछि हच्किए

काठमाडौं। लगानी सम्मेलनमा भारतीय अर्बपति व्यापारी गौतम अडानी सहभागी नहुने भएका छन्। आफूले लगानी गर्न चाहेका प्रोजेक्ट ब्रेक थ्रु हुने नदेखिएपछि अडानी सम्मेलनमा सहभागी नहुने भएका हुन्।

Tata
GBIME
Nepal Life

स्रोतका अनुसार अडानी समूहले नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र केही जलविद्युत परियोजनामा लगानी गर्न चाहेको छ। त्यही योजना अनुसार समूहले दुई साताअघि भारतस्थित नेपाली दूतावासमा नेपालका अन्तर्राष्ट्रिय विमानस्थल र जलविद्युत परियोजनामा लगानी गर्ने बारेमा आफ्नो प्रिजेन्टेसनसमेत दिएको थियो।

त्यही प्रिजेन्टेसनमा लगानी सम्मेलनमा ती परियोजना दिने गरी ब्रेक थ्रु भएमा अडानीको उपस्थिति हुने जानकारी गराइएको थियो। भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन र केही जलविद्युत परियोजनामा अडानीले लगानी गर्न चाहेको जानकारी सरकारलाई गराएका थिए।

‘अर्बपति व्यापारी लगानी सम्मेलनमा घुम्नका लागि आउँदैन। लगानीकर्ताको चासो हेरेर प्रोजेक्ट तयार हुनुपर्थ्यो। तर, त्यो हुन सकेन,’ प्रधानमन्त्री कार्यालयका एक सहसचिवले भने, ‘त्यही भएर अडानीका तर्फबाट अरु प्रतिनिधिसमेत सहभागी बन्ने सम्भावना कम छ।’

स्रोतका अनुसार नेपाली लगानीकर्तालाई सरकारका तर्फबाट भइरहेको ‘ह्यारेसमेन्ट’ले समेत अडानी समूह संशकित छ। पछिल्लो समयमा स्वदेशी लगानीकर्तालाई विभिन्न निकायले थुन्ने र बयान गराउनेसम्मका गतिविधिले पनि उनीहरु संशकित भएका हुन्।

लगानी सम्मेलन अगाडि स्वतन्त्र ऊर्जा उत्पादक संघको आयोजनामा बुधबारदेखि हुने हिमालय हाइड्रो एक्स्पोमा भने अडानी समूहका उपाध्यक्ष जयरमन पुनिधन सहभागी हुँदैछन्।

तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले भाइब्रेन्ट गुजरात सम्मेलनमा सहभागी हुँदा अडानीलाई भेटेर लगानी सम्मेलनमा आउन आग्रह गरेका थिए। त्यो बेला अडानीले सम्मेलनमा सहभागी हुने प्रतिबद्धता समेत जनाएका थिए। लगानी बोर्डले समेत अडानीलाई सम्मेलनमा सहभागी हुन निम्ता गरेको थियो।

क्यान डीजीसँग पहिला नै भेट

नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले निजगढ विमानस्थल बनाउने कम्पनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनाउन दिने गरी प्रक्रिया अगाडि बढाएपछि अडानीका प्रतिनिधि केही महिनाअघि नेपाल आएका थिए। अडानी समूहका अनिल पटानीले क्यानका महानिर्देशक प्रदीप अधिकारीसँग भेटेर विमानस्थलको व्यवस्थापनबारे चासो राखेका थिए।

पटानीले भारतमा सात वटा विमानस्थलको व्यवस्थापन हेरेको अनुभव सुनाउँदै आवश्यक पुँजी जुटाउनसक्ने जानकारी गराएका थिए।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटीसहित तीन अन्तर्राष्ट्रिय विमानस्थल संचालनको जिम्माको विषयमा क्यानले प्रारम्भिक चरणको प्रस्ताव अगाडि बढाएपछि अडानी समूह नेपाल आएको थियो।

त्यसपछि सरकारले निजगढ विमानस्थलमा लगानी भिब्बयाउने मोडलबाबर सुझाव दिन पूर्वसचिव शंकर अधिकारीको संयोजकत्वमा समिति गठन गरेको थियो। त्यो समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन गर्न चाहने कम्पनीलाई बुट मोडलमा निजगढ विमानस्थल बनाउन दिनुपर्ने सुझावसहितको प्रतिवेदन बुझाइसकेको छ। तर, त्यो प्रतिवेदनअनुसार लगानी सम्मेलनमा प्रस्तुत गर्ने परियोजना छानिएको छैन।

अडानी इन्टरप्राइजेज अन्तर्गतको अडानी एयरपोर्ट होल्डिङ्स लिमिटेडले हाल भारतका ७ वटा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन सम्हालिरहेको छ। कम्पनीले अहमदावादको सरदार वल्लभ भाई पटेल, गुवाहटीको लोकप्रिय गोपीनाथ बोरदोलोई, जयपुर, चौधरी चरण सिंह लखनउ, मङ्गालुरु, मुम्बईको छत्रपति शिवाजी महाराज र थिरुवन्थपुरम अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन गर्दै आएको छ।

कम्पनीले आफूले व्यवस्थापन सम्हालेपछि विमानस्थलको स्वरुप नै परिवर्तन गरेर उत्कृष्ट सेवा दिंदै आएको छ। मुम्बईमा निर्माणाधीन नवी मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा कम्पनीले करिब १ खर्ब रुपैयाँ लगानी गरिसकेको छ।

मुगु कर्णालीमा पनि अडानी इच्छुक

१,९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत आयोजनामा समेत अडानी समूह इच्छुक छ। समूहले भारतस्थित नेपाली दूतावासमा यो परियोजनाका बारेमा समेत आफ्नो प्रिजेन्टेसन दिएको थियो।

यो आयोजनाको पूर्वसम्भाव्यता सकेर एनईए इन्जिनियरिङ कम्पनीले सम्भाव्यता अध्ययन गरिरहेको छ। यो आयोजनाका बारेमा पनि ब्रेक थ्रु हुने सम्भावना कम रहेकाले अडानी समूह लगानी सम्मेलनमा आकर्षित नभएको हो।

यो आयोजना निर्माणका लागि ४ खर्ब रुपैयाँ लाग्ने अनुमान छ। आयोजनामा भारतीय कम्पनी एनएचपीसीले समेत आँखा लगाएको छ। ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना एनएचपीसीले बनाउने सहमति भइसकेको छ।