क्यानको कारबाहीबाट जोगिन शक्तिकेन्द्र धाउँदै अधिकारी, गहभरि आँसु पार्दै पर्यटनमन्त्रीसामु याचना

वसन्तराज उप्रेती
२०८० चैत्र १२ गते १८:५४ | Mar 25, 2024
क्यानको कारबाहीबाट जोगिन शक्तिकेन्द्र धाउँदै अधिकारी, गहभरि आँसु पार्दै पर्यटनमन्त्रीसामु याचना

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही अगाडि बढाएपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी राजनीतिक शक्तिकेन्द्र धाउन थालेका छन्।

Tata
GBIME
Nepal Life

हवाई सुरक्षाका लागि पटकपटक सचेत गराउँदा समेत बेवास्ता गर्दै आएपछि प्राधिकरणले एकाउन्टेबल म्यानेजरबाट हटाउने तयारी गरेको थियो। यो तयारीसँगै अधिकारी पर्यटनमन्त्री हितबहादुर तामाङ भेट्न पुगेका थिए। उनले आफूमाथिको कारबाही रोक्न मन्त्रीसमक्ष याचना गरेका छन्। स्रोतका अनुसार अधिकारीले गहभरि आँसु पार्दै आफूले राम्रो काम गर्दागर्दै कारबाही अगाडि बढाइएको गुनासो मन्त्रीलाई गरेका छन्।

‘निगमभित्र मैले सुधारकै काम गरिरहेको छु। केही समस्या भए सुधार गर्न तयार छु,’ अधिकारीले दुई हात जोड्दै मन्त्री तामाङसँग भनेका थिए, ‘यो कारबाही रोकिपाउँ।’ पर्यटनमन्त्री तामाङले अधिकारीसँग भेट भएको पुष्टी गरे। ‘आफ्नै मन्त्रालयको कर्मचारीसँग भेट हुनु त स्वाभाविक हो नि। हिजोआज बिफ्रिङको समय भएकाले भेट भइहाल्यो,’ उनले बिजमाण्डूसँग भने, ‘प्राधिकरणले गर्न लागेको कारबाहीबारे सुन्दै आएको छु। यसबारे मैले अध्ययन गर्न बाँकी छ।’

स्रोतका अनुसार अधिकारीसँग भेटेपछि तामाङ केही ‘लोयल’ बनेका छन्। स्रोतका अनुसार अधिकारीले सरकारमा रहेको दलका अरु नेताहरुलाई पनि कारबाही रोक्न भनसुन गरिरहेका छन्। ‘अधिकारीले सरकारमा रहेका अरु दलका नेताहरुलाई पनि प्राधिकरणको कारबाही रोक्न हारगुहार गरिरहेका छन्,’ स्रोतले भन्यो, ‘पद जोगाउन उनी जहाँ जसरी पनि प्रस्तुत हुन सक्छन्।’ कारबाही रोक्न शक्तिकेन्द्र धाएको बारेमा बुझ्न खोज्दा अधिकारी सम्पर्कमा आउन चाहेनन्।

अधिकारीले गहभरी आँसु पारेर कारबाही रोक्न आग्रह गरेको यो पहिलो पटक होइन। यसअघिका पर्यटनमन्त्री सुदन किरातीसँग पनि उनले आँसु झारेरनै आफ्नो पद जोगाएका थिए। ‘अधिकारी इमोसनल ब्ल्याकमेलिङ गर्न माहिर छन्। पछिल्लो तीन वर्ष यसरीनै रोइकराइ गरेर पद जोगाए,’ पर्यटन मन्त्रालयका एक सहसचिवले बिजमाण्डूलाई भने, ‘आँसु झारेकै आधारमा निगमलाई आफ्नो अनुकूल प्रयोग गरिरहेका छन्। आँसु झारेकै आधारमा उनले गरेका धेरै अनियमितता माफ भएका छन्।’

प्राधिकरणले हवाई सुरक्षा, उडान संचालन, मर्मतसम्भार, ह्यांगर व्यवस्थापन र आन्तरिक परीक्षणमा कैफियत औंल्याएर उनलाई कारबाही गर्दैछ। स्रोतका अनुसार मंगलबार बिहानै निगमलाई २७ बुँदे निर्देशन पठाउँदै कारबाही प्रक्रिया अगाडि बढाउनेछ।

क्यानले उडान सुरक्षाका दृष्टिले अति संवेदनशील मानिने ड्युटी मेन्टिनेन्स डिपार्टमेन्ट, कन्टिनियुङ एयरवर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसन र कर्पोरेट सेफ्टी डिपार्टमेन्टलाई लामो समयदेखि प्रमुखविहीन राखेको, जहाज मर्मतमा खेलाँची गरेको, अनुमगन नगरेको, न्यारोबडी जहाज ४ महिनादेखि ग्राउण्डेड गरेको लगायत कैफियत औल्याउँदै निर्देशन दिँदैछ। यो निर्देशनसँगै एकाउन्टेबल म्यानेजरको रुपमा अधिकारीलाई हटाउने निर्णय क्यानले गर्नेछ।

निगमको एउटा न्यारोबडी जहाज मंसिर १५ देखि ग्राउण्डेड छ। योजनाविनै जहाज इजरायल लगेर ग्राउण्डेड गरिएको छ। जसका कारण निगमले अतिरिक्त व्ययभार खेप्नुपरिरहेको पत्रमा उल्लेख छ। न्यारोबडी जहाजको इन्जिनमा पटक समस्या आउँदा पनि आवश्यकरुपमा इन्जिन व्यवस्थापन नगरेकामा पनि क्यानले कैफियतका रुपमा लिएको छ।