तीन वटा विमान लिएर कतारका अमिर आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

बिजमाण्डू
२०८१ बैशाख ११ गते ०६:४१ | Apr 23, 2024
तीन वटा विमान लिएर कतारका अमिर आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं। कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि उनी नेपाल आउन लागेका हुन्।

Tata
GBIME
Nepal Life

कतारी अमिर फिलिपिन्स र बंगलादेशको औपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन्। ३ वटा विमान लिएर उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

अमिर थानीको भ्रमणलाई लक्षित गरेर उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। उनको सुरक्षार्थ १०० भन्दा बढी सुरक्षाकर्मी ४/५ दिनअघि नै कतारबाट नेपाल आइसकेका छन्।

अमिरको भ्रमणका अवसरमा सरकारले मंगलबार बिदा दिने निर्णय गरिसकेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो।

कतारी अमिरले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अमिरको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको कार्यक्रम आयोजना गर्ने छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुनेछ। त्यसपछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

पूर्वी एसियाबाट पहिलोपटक हुन लागेको यो उच्चस्तरको भ्रमणलाई नेपालले आफ्ना श्रमिकका हकहितमा उपयोग गर्नुपर्ने यस क्षेत्रका जानकारको सुझाव छ। कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन्।

सन् २०१९ देखि २०२२ सम्म कतारमा नेपाली राजदूत भएका नारद भारद्वाज कतारीहरू नेपाली कामदारप्रति बढी प्रभावित भएका कारण पनि यो विषयमा उनीहरूको पनि चासो रहेको बताउँछन्।

कतार धनाढ्य र विकसित मुलुक भए पनि त्यहाँ नेपाली श्रमिकको पारिश्रमिक तुलनात्मक रूपमा न्यून छ। कतारमा नेपाली कामदारले दक्षिण कोरिया र इजरायलभन्दा न्यून मात्रामा पारिश्रमिक पाउने गरेका छन्। भ्रमणका क्रममा नेपाल सरकारले यसमा लबिङ गर्नुपर्ने पूर्वराजदूत भारद्वाजको सुझाव छ।

कतारमा नेपाली श्रमिकलाई कार्यस्थलमा दुर्घटना भएमा मात्र बीमा क्षतिपूर्ति दिने व्यवस्था छ। तर बाटोमा वा अन्य दुर्घटनाका हकमा सो बीमा सुविधा लागू नहुने प्रावधान भएकाले यो विषय पनि नेपालले उठाउनुपर्ने उनी बताउँछन्।

त्यस्तै, कतारले महिला घरेलु कामदारका रुपमा नेपाली लैजान खोजेको छ। तर नेपालले यसमा प्रतिबन्ध गरेको छ। यद्यपि, भ्रमण भिसामा खाडी मुलुक जाने र घरेलु कामदारका रुपमा काम नेपाली महिलाको सङ्ख्या ठूलो छ। जुन व्यवस्थित पनि हुनसकेको छैन।

घरेलु कामदारमा नेपाली महिला लुकीछिपी गइरहेककाले सुरक्षाको व्यापक प्याकेजसहित ग्यारेण्टी गरेर यो विषय खोल्न सकिने पूर्वराजदूत भारद्वाजको भनाइ छ।

कतारी अमिरको भ्रमणका बेला नेपालले लगानीका विभिन्‍न क्षेत्रमा आह्वान गर्नुपर्ने उनी बताउँछन्। कतारले हाल विश्‍वमा धेरै मुलुकका विभिन्‍न क्षेत्रमा लगानी गरिरहेको छ। नेपालमा पनि कानुनी सुरक्षाको ग्यारेण्टीसहित लगानीका लागि आह्वान गर्न सक्नुपर्ने उनको मत छ। रियलस्टेट, जलविद्युत्, पर्यटन, खानेपानी, कृषीलगायत क्षेत्रमा कतारले लगानी गर्न सक्ने उनी बताउँछन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले भ्रमणका बेला सरकारले नेपाली कामदारका हकहितका लागि पारिश्रमिक, सामाजिक सुरक्षा, रोजागारको ग्यारेण्टीको पहल गर्नुपर्नेमा जोड दिए।

कतारले नेपालमा लगानी गरेमा यसले दुई देशका जनताबीचको सम्बन्ध समेत विस्तार हुने अध्यक्ष भण्डारीको भनाइ छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदारको हकहितका लागि कतारसँगको विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले नयाँ सम्झौता गर्ने विषयका सम्बन्धमा विवरणसहित सन्देश पठाएको तर हालसम्म कतारबाट औपचारिक प्रतिक्रियासहित जानकारी आइनसकेको बताए।

कतारका अमिर थानी वैशाख १२ गते नै काठमाडौंबाट प्रस्थान गर्ने तालिका छ।