बीमा कम्पनी लघुबीमा व्यवसायबाट सिफ्ट हुँदै, घट्यो प्रिमियम, किन परेन प्राथमिकतामा?

सुनिल कुँवर
२०८० माघ ८ गते ०६:४३ | Jan 22, 2024
बीमा कम्पनी लघुबीमा व्यवसायबाट सिफ्ट हुँदै, घट्यो प्रिमियम, किन परेन प्राथमिकतामा?

काठमाडौं। लघुबीमा व्यवसायबाट ठूला बीमा कम्पनी सिफ्ट हुन थालेका छन्। माइक्रो इन्स्योरेन्स कम्पनीले व्यवसाय सुरु गरेपछि ठूला बीमा कम्पनीको प्राथमिकताबाट लघुबीमा हट्दै गएको हो।

Tata
GBIME
Nepal Life

माइक्रो इन्स्योरेन्समा आम्दानीभन्दा लागत धेरै पर्ने, ग्रामिण क्षेत्रमा जानुपर्ने र लघुबीमकले व्यवसाय खोस्न थालेपछि ठूला बीमा कम्पनी अरु व्यवसायमा केन्द्रित भइरहेका छन्।

कतिपय बीमा कम्पनीले लघुबीमा पोलिसी नै जारी गरेका छैनन्। नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म १४ निर्जीवनमध्ये तीन कम्पनीले लघु बीमा व्यवसाय गरेकै छैनन्।

त्यसैगरी, जीवनतर्फ दुई बीमा कम्पनीको लघुबीमा व्यवसाय शून्य छ। कम्पनीहरुको कुल बीमा व्यवसायमा लघुबीमाको हिस्सा १ प्रतिशतभन्दा कम छ।

बीमा कम्पनीको प्राथमिकतामा नहुँदा लघुबीमाको व्यावसायिक हिस्सा घट्दै गएको देखिन्छ। पोहोर पाँच महिनाको तुलनामा यो आर्थिक वर्ष मंसिरसम्म जीवन बीमा कम्पनीले गरेको लघुबीमा व्यवसाय ३ करोड ५० लाख रुपैयाँले घटेको छ।

गत आवको पाँच महिनामा ९५ करोड ३१ लाख रुपैयाँ बराबर लघु जीवन बीमा गरेका कम्पनीले यो वर्षको सोही अवधिमा ९१ करोड ८१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्।

त्यसैगरी, निर्जीवन बीमा कम्पनीको लघुबीमा व्यवसाय ७३ प्रतिशत अर्थात २ करोड २७ लाख रुपैयाँले घटेको छ। यस वर्ष पाँच महिनामा निर्जीवन बीमा कम्पनीले जम्मा ८५ लाख रुपैयाँको लघुबीमा व्यवसाय गरेका छन्। उनीहरुले पोहोर ५ महिनामा लघुबीमा व्यवसायबापत ३ करोड १२ लाख रुपैयाँ प्रिमियम आर्जन गरेका थिए।

प्राधिकरणले २०७५ मा अनिवार्य १० प्रतिशत लघुबीमा गर्नुपर्ने व्यवस्था गरे पनि बीमा कम्पनीले पूर्णरुपमा कार्यान्वयन गर्न अटेरी गर्दै आएका थिए।

पछिल्लो समय भने बीमा कम्पनीहरु प्रडक्टबाटै सिफ्ट हुन थालेका हुन्। प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले लघुबीमा कम्पनी खुलेपछि यो व्यवसाय स्पेसलाइज्ड भएका कारण ठूला कम्पनीको प्राथमिकतामा नपरेको बताए ।

‘लघुबीमा गर्ने प्रयोजनकै लागि छुट्टै कम्पनी आएका छन्। ती कम्पनीले व्यवसाय गरिरहेका छन्। यो व्यवसायमा अब स्पेसलाइजेसन भइसकेको छ,’ उनले भने, ‘त्यसैले अब ठूला बीमा कम्पनीको प्राथमिकतामा छैन।’

तर, लघुबीमा कम्पनी संचालनमा आएपनि ठूला कम्पनीले १० प्रतिशत लघुबीमा गर्नुपर्ने व्यवस्था प्राधिकरणले हटाएको छैन।

प्राधिकरणले लघुबीमा गर्नुपर्ने बाध्यकारी व्यवस्था गरे पनि बीमा सम्बन्धी सचेतना न्यून हुँदा दायरा विस्तार गर्न नसकेको बज्राचार्यको स्वीकारोत्ति छ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल पनि ठूला बीमा कम्पनीलाई लघुबीमा व्यवसायको क्षेत्रमा केन्द्रित गराउन नसकेको स्वीकार गर्छन्। ‘१० प्रतिशत लघुबीमा गर्नुपर्ने व्यवस्था गरेका थियौं। तर, उनीहरुले मानेनन्,’ उनले भने, ‘ठूला कम्पनीले लघुबीमालाई प्राथमिकता नदिएकै कारण लघुबीमा कम्पनी स्थापना भएका हुन्।’

बीमा ऐन, २०७९ मा प्रत्येक बीमकले न्यून आए भएका वर्ग तथा पिछडिएको क्षेत्रलाई लक्षित गरी लघु बीमा व्यवसाय गर्नुपर्ने उल्लेख छ ।

ऐनले न्यून आय भएका, आर्थिक, सामाजिक तथा भौगोलिकरुपले पिछडिएका वर्गलाई लक्षित गरी गरिने बीमा व्यवसायलाई लघुबीमा भनेको छ ।

लघुबीमा मात्र गर्ने प्रयोजनका लागि बीमा कम्पनी खोल्न सकिने ऐनको व्यवस्थामा टेकेर प्राधिकरणको अनुमतिमा गत वर्ष ७ वटा लघुबीमा कम्पनी स्थापना भएका थिए। तीमध्ये ४ कम्पनीले व्यवसाय सुरु गरिसकेका छन्। मंसिरसम्म लघु जीवन बीमकले १ करोड ९ लाख र लघु निर्जीवन बीमकले २ करोड ७९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन्।