पूर्वका उद्योगहरुमा आजबाट विद्युत आपूर्ति नियमित, तीन व्यवसायिक संगठनको आन्दोलन स्थगित

बिजमाण्डू
२०७९ बैशाख २० गते २१:२१ | May 3, 2022
पूर्वका उद्योगहरुमा आजबाट विद्युत आपूर्ति नियमित, तीन व्यवसायिक संगठनको आन्दोलन स्थगित

काठमाडौं। पछिल्ला केही दिनयता लोडशेडिङ भोगिरहेका पूर्वी नेपालका उद्योगहरुमा आजबाट विद्युत आपूर्ति सहज भएको छ।

Tata
GBIME
Nepal Life

यसअघि उद्योगहरुले दिनको १८ घन्टासम्म लोडशेडिङ व्यहोर्नुपर्ने अवस्था उत्‍पन्न भएपछि निजी क्षेत्रका तीन व्यवसायिक संगठनका प्रदेश १ प्रतिष्ठानहरुले संयुक्त विज्ञप्ति जारी गर्दै चरणवद्ध आन्दोलनमा जाने घोषणा गरेका थिए।

मोरङ व्यापार संघ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रदेश नम्बर १ ले गत शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै प्राधिकरणलाई वैशाख २० सम्ममा पूर्वका उद्योगलाई पनि पक्षपात नगरी विद्युत आपूर्ति सहज नबनाए चरणबद्ध आन्दोलनमा जाने नेपाल विद्युत प्राधिकरणलाई चेतावनी दिएका थिए।

प्राधिकरणले आजबाट उद्योगमा विद्युत आपूर्ति सहज गरिदिएपछि प्रदेश १ मातहतका तीनै छाता संगठनहरुले आन्दोलन स्थगित भएको जनाउँदै संयुक्त विज्ञप्तिमार्फत धन्यवाद दिएको छ।  

विज्ञप्तिमा भनिएको छ, 'हाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रको विद्युत आपूर्तिको समस्या समाधानको प्रयासस्वरुप निजी क्षेत्रसँग छलफल गरी भविष्यमा औद्योगिक क्षेत्रलाई विद्युतको संकट आउन नदिने विषयमा प्राधिकरण प्रतिबद्ध रहेको आश्वासन समेत प्रकट गरेको र आजदेखि विद्युत प्रसारण समेत सुचारु भएकोप्रति हामी समस्त उद्योगी व्यवसायीहरु उत्साही भएका छौं। प्राधिकरणको यस कार्यका लागि प्रशंसासहित धन्यवाद ज्ञापन गर्दछौं।'

केन्द्रमा समेत निजी क्षेत्रका छाता संगठनहरुले उद्योगहरुमा विद‍्युत कटौतिलाई लिएर चर्को विरोध जनाएपछि ऊर्जामन्त्री पम्फा भुसालले सक्रियता देखाउँदै प्राधिकरणको उच्च तहको उपस्थितीमा निजीक्षेत्रसँग सोमबार छलफल गरेकी थिइन्। सो क्रममा मंगलबारबाटै विद्युत आपूर्ति सहज हुने आश्वासन उनले दिएकी थिइन्। सोही अनुरुप पूर्वका उद्योगहरुले पनि आजबाट बिजुली पाएका हुन्।

विद्यमान ऊर्जा संकटको अवस्थामा विद्युतको वितरण सबै क्षेत्रलाई न्यायोचित र समान बनाएर सबैको काममा अवरोध नहुने व्यवस्था गर्न पूर्वका उद्योगी व्यवसायीहरुले माग गरेका थिए।