दूधको मूल्य बढाउन किसानको माग, लागत पुग्यो प्रतिलिटर ६३, हात आउँछ ५२ रुपैयाँ ५० पैसा  

बिजमाण्डू
२०७८ माघ १७ गते १४:२२ | Jan 31, 2022
दूधको मूल्य बढाउन किसानको माग, लागत पुग्यो प्रतिलिटर ६३, हात आउँछ ५२ रुपैयाँ ५० पैसा   

चितवन। लागतका तुलनामा आफूहरुले पाउने मूल्य निकै कम भएको भन्दै किसानले दूधको भाउ बढाउन माग गरेका छन्। चितवन दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले भरतपुरमा पत्रकार सम्मेलन गर्दै सरकारलाई मूल्य बढाउन दबाब दिएको हो।

Tata
GBIME
Nepal Life

प्रतिलिटर १५ देखि २० रुपैयाँ बढाउनुपर्ने माग किसानको छ। संघका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले यही माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताए। सरकारले एक लिटरमा १० रुपैयाँ बढाएर किसानलाई ७ र डेरी उद्योगीलाई  ३ रुपैयाँ दिने तयारी गरेको बताइएको छ।

उनका अनुसार हाल दूधको मूल्य किसानले सरदर लिटरमा ५२.५० पाउने गरेका छन्। पशुलाई खुवाउने आहारको मूल्य अत्यधिक वृद्धि भएकाले उक्त मूल्यले लागत नउठ्ने उनले बताए। 'दाना, चोकर, पराल र औषधिको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै किसानलाई प्रतिलिटर ६३ रुपैयाँ पर्ने गरेको छ। त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउनुपर्छ।' सरकारले तीन वर्षदेखि दूधको मूल्य बढाएको छैन।

हाल चितवनमा ६३ प्रतिशत दुग्ध उत्पादक किसान छन्। दैनिक २ लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। ४३ प्रतिशत दूध काठमाडौं, भक्तपुर, ललितपुर, कास्की र मकवानपुरमा जाने संघले जनाएको छ। पशुको उपभोग्य वस्तुमा १० देखि १५ प्रतिशत मूल्य वृद्धि भएको संघले विज्ञप्तिमा उल्लेख गरेको छ। (रासस)