सामसङका नोट-२० र नोट-२० अल्ट्रा नेपाली बजारमा ल्याउने तयारी, यस्ता छन् विशेषता 

बिजमाण्डू
२०७७ साउन २६ गते १०:४६ | Aug 10, 2020
सामसङका नोट-२० र नोट-२० अल्ट्रा नेपाली बजारमा ल्याउने तयारी, यस्ता छन् विशेषता 


काठमाडौं। स्मार्टफोनका प्रयोगकर्ताले खोज्ने अधिकतम सुविधा समावेश गरिएका सामसङ ग्यालेक्सीका दुई नयाँ मोडल नेपाली बजारमा आउने भएको छ।

Tata
GBIME
Nepal Life

सामसङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता सामसङ नेपालले ग्यालेक्सी सिरिज अन्तर्गतका 'नोट-२०' र  'नोट-२० अल्ट्रा' यसै साता सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको हो। 

सामसङ कम्पनीले यी दुई मोडल गत बुधबारमात्रै विश्व बजारका लागि सार्वजनिक गरेको हो। क्यामेरा, ब्याट्री, स्टोरेज क्षमता र अपरेटिङ सिस्टम ग्यालेक्सी सिरिजका अन्य मोडलमा यिनमा प्रयोगकर्ताले खोजेअनुसारको पाउने कम्पनीको दाबी छ। 

कोभिड-१९ संक्रमणका कारण सर्वसाधारणको अस्तव्यस्त रहेको दैनिक क्रियाकलापलाई सहज बनाउने उद्देश्यले 'नोट २०' का दुई मोडलमा थुप्रै सुविधा समावेश छन्। प्रयोगकर्तालाई शैक्षिक, मनोरञ्जन, कार्यालय प्रयोजन र सभासम्मेलन लगायतमा सहभागी हुन सहज हुने कम्पनीले जनाएको छ। प्रविधिसँगै दैनिक जीविकोपार्जनमा अगाडि बढ्न चाहनेलाई लक्षित गर्दै यो फोन सार्वजनिक गरिएको कम्पनीको भनाइ छ।        

के के छन् सुविधा ?
६.७ इन्च फुल हाइ डेफिनेसन स्क्रिन र सुपर एमोलेड प्लस इन्फिनीटी डिस्प्लेयुक्त नोट २० मा एस पेन, ब्लुटुथ, २४ घण्टा टिकाउ क्षमताको नन्-रिमुभेवल ब्याट्री, फिंगर प्रिन्ट सेन्सर, एयर भ्यु, सामसङ नोट, स्क्रिन अफ मेमो, स्क्रिन राइट, ट्रान्सलेट, बिक्सबी भिजन, पेनअप र कलरिङ लगायत सुविधा छ।

डुअल पिक्सल अटोफोकससहितको १० मेगापिक्सेल (एमपी) को फ्रन्ट क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा, १२ मेगा पिक्सेलको वाइड एंगल क्यामेरा र ६४ मेगापिक्सेलको टेलिफोटो क्यामेरा जडान गरिएको छ। क्यामरामा थर्टी एक्स सुपर रिजोलुसन जुमसम्मको थ्री एक्स हाइब्रिड अप्टिक जुम जडान गरिएको छ।  

यसैगरी ६.९ इन्च डिस्प्ले र २०८ ग्राम तौलको नोट २० अल्ट्रामा नानो सिंगल सिम र हाइब्रिड डबल सिम प्रयोग गर्न सकिन्छ। यो सेटमा रहेको ट्रिपल क्यामेराअन्तर्गत १२ एमपीको अल्ट्रा वाइड क्यामरा, १०८ एमपीको वाइड एंगल क्यामेरा र अटो फोकस सेन्सरसहितको १२ एमपीको टेलिफोटो क्यामेरा जडान गरिएको छ। कम्पनीका अनुसार नोट २० अल्ट्रामा अधिकतम फिफ्टी एक्स सुपर रिजोलुसन जुम समावेश गरिएको छ। 

नोट २० मा भएको हाइब्रिड अप्टिक जुममार्फत प्रयोगकर्ताले हाइ रिजोलुसनको इमेज सेन्सर र लेन्सको प्रयोग गर्न सक्ने  छन्। फोनमा भएको लेजर अटोफोकसमार्फत लो लाइट (कम प्रकाश)मा पनि तस्बिर कैद गर्न सहज हुने कम्पनीले जनाएको छ।      

नोट-२० मा जडित क्यामरामा सिन अप्टिमाइजर, सट सजेसन, फ्ल डिटेक्सन लगायत अप्सन छन् भने सिंगल टेक, फोटो, भिडियो, प्रो, पानारोमा, फुड, नाइट, लाइभ फोकस, लाइभ फोकस भिडियो, प्रो-भिडियो, सुपर स्लो मोसन, स्लो मोसन र हाइपर ल्याप्स लगायतका मोड छन्। सिन अप्टिमाइजरमार्फत फेस, बेबी, पर्सन, डग, क्याट, फुड, विचेस लगायत ३० वटा मोडमा तस्बिर कैद गर्न सकिनेछ। 

४३०० एमएएच ब्याट्री पावर क्षमतायुक्त भएको नोट-२० र ४५०० एमएएच पावर क्षमतायुक्त नोट-२० अल्ट्रामा फास्ट २५ वाटको वायरलेस चार्जिङको सुविधा छ। 

नोट-२० फाइभ-जीमा आठ जिबी र्‍याम र २५६ जिबी इन्टरनल स्टोरेज छ भने नोट-२० अल्ट्रा फाइभ-जीमा १२ जिबी र्‍याम र ५१२ जिबी इन्टर्नल स्टोरेज सुविधा छ। दुवै सेटको मूल्य नेपालका लागि सार्वजनिक गर्न भने बाँकी नै छ। नोट-२० को अनुमानित नेपाली बजार मूल्य करिब एक लाख ५० हजार रुपैयाँ पर्न आउने प्रक्षेपण गरिएको छ।