नक्कली लाइसेन्स प्रकरणमा ७ जना हिरासतमा, विभिन्न जिल्लामा बिचौलिया खोज्दै प्रहरी

बिजमाण्डू
२०८१ बैशाख २४ गते १०:२७ | May 6, 2024
नक्कली लाइसेन्स प्रकरणमा ७ जना हिरासतमा, विभिन्न जिल्लामा बिचौलिया खोज्दै प्रहरी

काठमाडौं। नक्कली सवारीचालक परिचयपत्र (लाइसेन्स) प्रकरणमा प्रहरीले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले अहिले नक्कली लाइसेन्समा संलग्न हुने बिचौलियाको खोजी गरिरहेको छ।

Tata
GBIME
Nepal Life

देशका विभिन्न यातायात कार्यालयमा रहेका बिचौलिया र नक्कली लाइसेन्समा जोडिएका र सूचना आएकाहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। केही सातादेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले यस प्रकरणको अनुसन्धानमा छ।

‘पछिल्लो समय बिचौलियाको संलग्नता देखियो। त्यसैले अहिले यस्ता समूहको खोजी भइरहेको छ,’ ब्युरोका एआइजी श्याम ज्ञवालीले भने। प्रहरीले केही दिनअघि मात्र बिचौलियाको काम गर्ने आरोपित मिलन बास्तोला, अजित मिश्र, प्रदीप सुनार र लजारस दनुवारलाई नियन्त्रणमा लिएको हो।

यसअघि यातायात व्यवस्था कार्यालय बुटवलका शाखा अधिकृत नारायण पाण्डे, यातायात व्यवस्था कार्यालयमा करारमा रहेका कम्प्युटर इन्जिनियर हरिश भट्टराई र आइटी इन्जिनियर सुरजप्रकाश अर्याललाई नियन्त्रणमा लिएको थियो।

यातायात व्यवस्था विभागका उपसचिव मुकेश रेग्मी नेतृत्वको टोलीले नक्कली लाइसेन्स प्रकरणको अनुसन्धान गरेको थियो। जसमा विगत १० वर्षमा १ लाखभन्दा बढी नक्कली लाइसेन्स बनाएको खुलेको थियो। जसमा विभागका १० जना महानिर्देशक पनि अनुसन्धानको घेरामा छन्। उनीहरू माथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

‘उहाँहरू अनुसन्धानको घेरामा हो। तर, अहिलेसम्म कुनै त्यस्तो बलियो प्रमाण फेला परेको छैन,’ एक अनुसन्धान अधिकृतले भने।