सम्पत्ति शुद्धीकरणसँग नडराउन अर्थमन्त्रीको आग्रह, शेखरले भने-‘संघीयता धान्न करको भार थपियो’

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७६ फागुन ३ गते ११:०५ | Feb 15, 2020
सम्पत्ति शुद्धीकरणसँग नडराउन अर्थमन्त्रीको आग्रह, शेखरले भने-‘संघीयता धान्न करको भार थपियो’

Tata
GBIME
Nepal Life

विराटनगर। अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरणबाट व्यवसायीले डराउनुपर्ने अवस्था नरहेको बताएका छन्।

विराट एक्स्पो २०७६ को उद्घाटन सत्रमा शुक्रबार विराटनगरमा मन्त्री खतिवडाले राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरणजस्ता पछिल्लो कालका केही नियमनले व्यवसायी डराउनुपर्ने अवस्था नरहेको बताएका हुन्।‘हाम्रो उद्देश्य व्यवसायीलाई हतोत्साही गर्ने होइन, कानुन र अधिकार छ भन्दैमा सरकारले दुरुपयोग गर्दैन, गर्नुहुँदैन’, खतिवडाले भने, ‘यसमा हाम्रो छलफल भएको छ । एउटा बिराउने शाखा पिराउने हामी हुन दिँदैनौँ ।’

उनले खास अवस्थामा खास समस्या सृजना भयो र एउटा व्यावसायिक स्वास्थ्यलाई कायम गर्नु पर्यो वा कानुनको पालना गराउनु पर्यो भने त्यो हदसम्म मात्रै त्यस्ता कानुन आकर्षित हुने बताए ।यसका लागि व्यवसायीसँग प्रशस्त बैठक र अन्तरक्रिया भएको उनले सुनाए।

खतिवडाले एउटै व्यवसायी कहिले निर्माण व्यवसायी भएर, कहिले व्यापारी, कहिले उद्योगी र कहिले बैङ्कर भएर आउने गरेको उल्लेख गर्दै चार थरीका कुरा सुन्दा सरकार अलमलमा पर्ने गरेको उनको भनाइ थियो। ‘अनि पत्रिकामा समाचार आउँछ– सरकार अलमलमा भनेर’, खतिवडाको आग्रह थियो, ‘चार प्रकारका भ्वाइस कसको सुन्ने कसको नसुन्ने ? कृपया तपाईंहरू एउटै स्वरमा आइदिनूस् भन्ने हाम्रो धारणा हो।’

कतिपय उद्योगको प्राकृतिक मृत्यु हुने गरेको उनले सुनाए । अर्थमन्त्रीको कथन थियो, ‘दश वर्षअघि तपाईंहरू वनस्पति घिउको समस्या लिएर मसँग आउनु भएको सम्झना छ । मैले त्यसबेला भनेको थिएँ, कतिपय उद्योगको प्राकृतिक मृत्यु हुन्छ त्यसलाई बचाएर बच्दैन । वनस्पति घिउको उद्योगको पनि अब मृत्यु भयो भनेको थिएँ । अब नयाँ उद्योगमा आउनूस् भनेको थिएँ तपाईंहरू आउनुभयो ।’

उनले अगाडि भने, ‘विराटनगरको औद्योगिक विकासको कुरा गर्ने हो भने विराटनगर जुट मिल्सको कुरा गरेर मात्र पुग्दैन । उद्योग व्यवसाय सबैको एउटा प्राकृतिक चक्र हुन्छ । त्यसलाई हामीले बुझ्नुपर्छ ।’औद्योगिकीकरणको प्रक्रिया भनेको नयाँ सम्भावना, नयाँ अन्तर्राष्ट्रिय र आन्तरिक बजार अनि हाम्रा कच्चा पदार्थका आधारमा के गर्न सक्छौँ त्यसमा जानु पर्ने उनको धारणा थियो।

मन्त्री खतिवडाले साल्ट ट्रेडिङले सुनसरीमा उपभोग गरिरहेको सरकारी जमिनमा क्रस बोर्डर इकोनोमिक जोन बनाउने जानकारी दिए। उनले भने, ‘क्रस बोर्डर इकोनोमिक जोन बनाउन सरकारको पूरा सहयोग हुनेछ । यसको अवधारणा बनिसकेको छ ।’भद्रपुर भन्सारलाई मूल भन्सार बनाइएको र अब सुनसरीको भन्सारलाई पनि बनाइने जानकारी दिँदै उनले सीमापारिको पूर्वाधार राम्रो नहुँदा नेपालको उद्योग–व्यवसायमा असर परेको सरकारले राम्ररी बुझेको चर्चा गरे।

समारोहमा मन्त्री खतिवडाले उद्योग सङ्गठनका कार्यकारी सदस्यद्वय भोलेश्वर दुलाल र विपिन काबरालाई सम्मान गरे ।उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले चिनी मिल, सिमेन्ट उद्योग र पाम आयलको समस्या सरकारले सुल्झाइसकेको दाबी गर्दै मन्त्रालयले कुनै पनि व्यवसायीका समस्यालाई तीन दिनभित्रमा समाधान गरिदिने आश्वासन दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पछिल्लो समय सङ्घीयताले बढाएको खर्च धान्न निजी क्षेत्रलाई करको भार थप्ने प्रयास भइरहेको टिप्पणी गरे ।‘करको भार थप्ने काम केन्द्रदेखि स्थानीय सरकारसम्म देखिएको छ’, वरिष्ठ उपाध्यक्ष गोल्छाको प्रश्न थियो, ‘सङ्घीयताका कारण उद्यमी–व्यवसायीलाई दोहोरो तेहरो करको मार परेको छ । यस्ता अवस्थामा कसरी व्यवसाय फस्टाउँछ ?’

गोल्छाले देशमा ७ सय ६१ वटा सरकार रहेको र तिनले अनियन्त्रित रूपमा बढेको खर्च धान्न उद्यमी, व्यवसायी र सर्वसाधारणलाई निचोरेर कर लिइरहेको आरोप लगाए ।उनको राय थियो, ‘करको दायर बढाउनु पथ्र्यो । सहुलियत दिएर व्यवसाय विस्तार हुन दिनुपर्यो । अनि त स्वतः आम्दानी बढिहाल्छ ।’ बैङ्कमा ब्याजदर अहिले पनि निकै महँगो भएको गुनासो गर्दै गोल्छाले पुनर्कर्जाका लागि भनेर छुट्याइएको रकमलाई सय अर्ब बनाइनु पर्ने सुझाव दिए । 

उनले भने, ‘ब्याजबाहेक विभिन्न सेवा शुल्कका नाममा खर्च लाग्ने गरेको छ । प्रक्रिया झन्झटिलो छ । यसलाई सरल बनाइनु पर्छ ।’ उद्योग सङ्गठनद्वारा आयोजित एक्स्पोमा ३ सय ४० स्टल छन् । एक्स्पो फागुन १० गतेसम्म चल्नेछ ।