क्रिकेट खेलाडीले रोकिएको पुरस्कार रकम पाउनेः ३ करोड रकम निकासा, कुन खेलमा कति?

बिजमाण्डू
२०८१ बैशाख २७ गते २०:११ | May 9, 2024
क्रिकेट खेलाडीले रोकिएको पुरस्कार रकम पाउनेः ३ करोड रकम निकासा, कुन खेलमा कति?

काठमाडौं। खेलाडीका लागि २  करोड ९७ लाख १० हजार नगद पुरस्कार निकासा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले युवा तथा खेलकुद मन्त्रालयमार्फत पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै विभिन्न खेलका खेलाडीले पुरस्कार रकम पाउने भएका हुन्।

Tata
GBIME
Nepal Life

यस अन्तर्गत १९औं एसियन गेम्स र चौथो एसियाली पारा खेलकुदका पदक विजेता खेलाडी तथा प्रशिक्षकका साथै नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले नगद पुरस्कार पाउने भएका  हुन्।

चीनमा सम्पन्न १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्नेछिन्। प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षक छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवासगोपाल वैद्यले जनही १ लाख ९५ हजार प्राप्त गर्ने छन्।

त्यस्तै सोही एसियाली खेलकुदमा नै कबड्डीमा कास्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गर्ने छन्। यसरी कबड्डी टिमले कुल ४८ लाख दश हजार नगद प्राप्त गर्ने  छन्।

चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य जितेकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले १३ लाख प्राप्त गर्ने छिन्। प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गर्नेछन्।

त्यस्तै नेपाली क्रिकेट टोलीले पनि पुरस्कार रकम पाउने भएको छ। आइसिसी मेन्स टि–ट्वान्टी वर्ल्डकप फाइनल एसियामा दोस्रो भएको राष्ट्रिय क्रिकेट टिमले कुल २ करोड ४ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छ। १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देसाइले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार नगद हात पार्ने छन्।