कोशी प्रदेशमा १६ महिनामा छैटौं सरकार, एमाले नेता कार्की तेस्रोपटक मुख्यमन्त्री

बिजमाण्डू
२०८१ बैशाख २७ गते १४:३३ | May 9, 2024
कोशी प्रदेशमा १६ महिनामा छैटौं सरकार, एमाले नेता कार्की तेस्रोपटक मुख्यमन्त्री
हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको पत्र दिंदै कोशीका प्रदेश प्रमुख परशुराम खापुङ

काठमाडौं। कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।

Tata
GBIME
Nepal Life

प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। कार्की १६ महिनाको अवधिमा मुख्यमन्त्री नियुक्त भएको यो तेस्रो पटक हो ।

उनलाई प्रदेश प्रमुख नियुक्त गर्न एमाले र माओवादी केन्द्रका ५२ जना प्रदेश सभा सांसदले हस्ताक्षर बुझाएका थिए। प्रदेश प्रमुख खापुङले एमाले र माओवादी केन्द्रका सांसदलाई बोलाएर हस्ताक्षर सनाखत गरेपछि कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

खापुङले एमालेका ३९ र माओवादीका १३ सांसदको हस्ताक्षर सनाखतपछि कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरे। उनले मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार राति शुक्रबार अपराह्‍न ५ बजेसम्मको समय दिएका थिए।

कार्की यसअघि संविधानको धारा १६८ (२) अन्तर्गत २०७९ पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपा नेपालको समर्थनमा नियुक्त भएका कार्की २०७९ असार १५ गते विश्वासको पाउन नसकेपछि पदमुक्त भएका थिए।

गत भदौ २२ गते सर्वोच्च अदालतको परमादेशबाट दोस्रोपटक मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत लिन नसक्ने अवस्था आएपछि असोज २२ गते राजीनामा दिएका थिए ।

कोशीमा १६ महिनामा छैटौंपटक सरकार बनेको हो। २ पटक कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेकामा कांग्रेसकै केदार कार्की गत असोज २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए।

कार्कीले आफूलाई समर्थन गर्ने दलहरूले समर्थन फिर्ता लिएको ३० दिनमा विश्वासको मत नलिएको तथा वैशाख ७ गते प्रदेश सभाबाट पारित मुख्यमन्त्रीविरूद्धको संकल्प प्रस्तावले उनी अल्पमतमा परेको ठहर गर्दै प्रदेश प्रमुख खापुङले बुधबार नयाँ सरकार बनाउन आह्वान गरेका थिए।