कावासाकीले भारतीय बजारबाट हटायो निन्जा ४०० सीसी बाइक, विकल्पमा अर्को पावरफुल मोडल

बिजमाण्डू
२०८१ बैशाख २७ गते १०:२३ | May 9, 2024
कावासाकीले भारतीय बजारबाट हटायो निन्जा ४०० सीसी बाइक, विकल्पमा अर्को पावरफुल मोडल

काठमाडौं। सवारी उत्पादक जापानी कम्पनी कावासाकीले आफ्नो एउटा मोडल बाइक भारतीय बजारमा बिक्री गर्न बन्द गरेको छ। ४०० सीसीको निन्जा बाइक हटाएको हो।

Tata
GBIME
Nepal Life

कावासाकीले भारतीय बजारमा शक्तिशाली इन्जिन र सुविधाहरू भएका धेरै बाइकहरू उपलब्ध गराइरहेको छ। ४०० सीसी सेग्मेन्टमा प्रस्ताव गरेको निन्जा ४०० भने बेच्न बन्द गरेको हो। यो बाइक कम्पनीको वेबसाइटबाट पनि हटाइएको छ। जसले गर्दा भारतीय बजारबाट हटाइएको पुष्टि भएको छ।

कम्पनीले निन्जा ४०० लाई नयाँ मोडल निन्जा ५०० ले प्रतिस्थापन गर्ने तयारी गरेको छ। ५०० सीसीको उक्त बाइक भारतीय बजारमा गत फेब्रुअरीमा नै लन्च गरिएको थियो। त्यसपछि कम्पनीले निन्जा ४०० को स्टक बाँकी भएका केही युनिट मात्रै बिक्री गरिरहेको थियो।

कावासाकी निन्जा ४०० सन् २०१८ मा लन्च गरिएको थियो। यो बाइकलाई कम्पनीले २०२२ मा मात्रै बीएस-६ मा अपडेट गरेको थियो। त्यसपछि यसमा ३९९ सीसी क्षमताको लिक्विड कुल्ड समानान्तर ट्‍वीन इन्जिन दिइएको थियो। जसका कारण बाइकले ४४.८ बीएचपी र ३७ न्यूटन मिटर टर्क पाएको छ। यसमा सिक्स स्पीड गियरबक्स र स्लीपर क्लच दिइएको थियो।

यस्तै कावासाकी निन्जा ५०० मा कम्पनीले ४५१ सीसी समानान्तर ट्‍वीन इन्जिन छ। जसका कारण यसले ४५ बीएचपी र ४२.६ न्यूटन मिटर टर्क पाउँछ। भारतमा कम्पनीले यो बाइकलाई कम्प्लिट बिल्ट अप (सीबीयू)को रुपमा निर्यात गर्छ। जसका कारण यसको मूल्य ५ लाख २४ हजार भारु छ।

भारतीय बजारमा ४०० सीसी बाइक सेगमेन्टमा नयाँ बाइकहरू निरन्तर लन्च भइरहेका छन्। यस्तो अवस्थामा निन्जा ५०० ले ट्राइम्फ स्पीड ४००, स्क्र्याम्बलर ४००, हार्ले डेभिडसन एक्स ४४०, अप्रिलिया आरएस ४४७, रोयल इन्फिल्ड, हिरो म्याभेरिक ४४० जस्ता बाइकसँग सीधा प्रतिस्पर्धा गर्नेछ।