लखनउलाई हैदराबादले पराजित गरेसँगै मुम्बई प्लेअफ रेसबाट बाहिरियो

बिजमाण्डू
२०८१ बैशाख २७ गते ०६:४५ | May 9, 2024
लखनउलाई हैदराबादले पराजित गरेसँगै मुम्बई प्लेअफ रेसबाट बाहिरियो
लखनउविरुद्ध ब्याटिङमा हैदराबादका अभिषेक शर्मा र ट्राभिस हेड। तस्बिर: आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले लखनउ सुपर जायन्टमाथि रवाफिलो जित निकालेको छ। गएराति हैदराबादस्थित राजीव गान्धी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले लखनउलाई १० विकेटले हराएको हो।

Tata
GBIME
Nepal Life

टस जितेर ब्याटिङमा उत्रिएको लखनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। लखनउका लागि आयुष बढोनीले सर्वाधिक अविजित ५५ रन बनाउँदा निकोलस पुरन ४८ रनमा अविजित रहे। त्यस्तै कप्तान केएल राहुलले २९ तथा क्रुणाल पाण्ड्याले २४ रन बनाए।

बलिङतर्फ हैदराबादका भुवनेश्वर कुमारले २ विकेट लिँदा प्याट कमिङ्सले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबादका दुई ओपनरले विस्फोटक ब्याटिङ गर्दा बिना कुनै विकेटको क्षति ९.४ ओभरमा लक्ष्य भेट्टायो।

हैदराबादका लागि ट्राभिस हेडले ३० बलमा ८ चौका र ८ छक्काको सहायतामा अविजित ८९ रन बनाउँदा अभिषेक शर्माले २८ बलमा ८ चौका र ६ छक्काको सहायतामा अविजित ७५ रन बनाए।

‘मसँग शब्दहरू छैनन्। हामीले कहिलेकाहीं टिभीमा यस प्रकारको ब्याटिङ देखेका छौं, तर आज हामीले देखेका कुराहरू मात्र वास्तविक थिए। प्रत्येक हिट पर्फेक्ट गरि प्रहार गरिएको थियो। वास्तवमै उनीहरूको यो असाधारण कौशलको प्रमाण हो। उनीहरूले स्पष्ट रूपमा आफ्नो वाउन्ड्री प्रहार गर्ने क्षमताहरूमा अविश्वसनीय रूपमा कडा मेहनत गरेका छन्, र यो आज देखायो। उनीहरूले हामीलाई दोस्रो इनिङ्समा पिचको मूल्याङ्कन गर्न पनि दिएनन्, तिनीहरू सुरुदेखि नै आक्रामक थिए।’ खेलपछि लखनउका कप्तान केएल राहुलले भने।

जितसँगै १२ खेलबाट १४ अंक बनाएको हैदराबाद अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। १२ अंक जोडेको लखनउ तालिकाको छैटौं स्थानमा छ।

हैदराबादको जितसँगै मुम्बई प्रतियोगिताको प्लेअफ होडबाट बाहिरिने पहिलो टोली बनेको छ। मुम्बईले १२ खेलबाट ८ अंक जोड्दै तालिकाको ९ औँ स्थानमा छ। ११ खेलबाट ८ अंक बनाएको गुजरात तालिकाको पुछारमा छ।

आईपीएलमा आज पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर धर्माशाला स्टेडियममा साँझ पौने ८ बजे भिड्दैछन्।