धनुषामा ९ महिनामा थपिए ६६२ वटा नयाँ उद्योग, १७३ साना उद्योग तथा व्यवसाय बन्द

बिजमाण्डू
२०८१ बैशाख १५ गते १५:०८ | Apr 27, 2024
धनुषामा ९ महिनामा थपिए ६६२ वटा नयाँ उद्योग, १७३ साना उद्योग तथा व्यवसाय बन्द
File Photo

काठमाडौं । धनुषामा चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनामा १७३ उद्योग तथा व्यवसाय बन्द भएका छन्। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार १७३ वटा उद्योग तथा व्यवसाय बन्द भएका हुन्।

Tata
GBIME
Nepal Life

कार्यालयबाट प्राप्त विवरणअनुसार उद्योगतर्फ ६० र वाणिज्यतर्फ ११३ उद्योग तथा व्यवसाय बन्द भएको हो। बन्द भएका ती उद्योगहरुको बन्द हुनु अघि उत्पादित सामग्री समेत बिक्री भएको छैन। ती उद्योगमा कार्यरत करिब दुई हजार मजदुर बेरोजगार भएका छन्।

कार्यालयका सूचना अधिकारी मुकेश कर्णका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६६२ वटा नयाँ उद्योग दर्ता भएका छन्। एक हजार ६०२ उद्योग नवीकरण भएका छन्।

यसैगरी, वाणिज्यतर्फ ७३४ वटा व्यावसायिक फर्म नवीकरण तथा ८३७ नयाँ व्यावसायिक फर्म दर्ता भएका छन्। उद्योग दर्ता तथा नवीकरणबापत कार्यालयले २४ लाख ११ हजार ५३० राजस्व संकलन गरेको छ। वाणिज्यतर्फ दर्ता र नवीकरणबापत ५० लाख तीन हजार ७७० गरि कूल ७४ लाख १५ हजार ३०० रुपैयाँ राजस्व संकलन भएको छ।

कोरोना महामारीको विश्वव्यापी असर, बैंकको ब्याजदरमा वृद्धि तथा आर्थिक तरलताका कारण उद्योगहरु बन्द भइरहेको घरेलु कार्यालयका प्रमुख किशोरीशरण यादवको भनाइ छ। व्यवसाय बन्द भएपछि बेरोजगारी बढ्नुका साथै जनकपुरमा व्यावसायिक सटरहरु खाली गरि व्यापारी पलायन हुन थालेका छन्।

गत आर्थिक वर्ष २०७९/ ८० मा दर्ता भएका उद्योगहरुमध्ये साना उद्योग ५३६, लघु उद्योग ५९१ तथा घरेलु उद्योग एक गरि एक हजार १२८ उद्योग दर्ता भई संचालनमा थिए। उद्योगहरुको स्थिर तथा चालु पूँजी तीन अर्ब ५५ करोड ८२ लाख ११ हजार ९९९ रुपैयमाँ रहेको जनाइएको छ। बजेट अभावका कारण घरेलु कार्यालयले समेत सीपमूलक तालिमहरु सञ्चालन गर्न सकेको छैन।