सुनकोशी मरिन डाइभर्सनको सुरुङमार्ग ब्रेकथ्रु, संचालनलाई अझै एक वर्ष लाग्ने

बिजमाण्डू
२०८१ बैशाख २६ गते १२:२५ | May 8, 2024
सुनकोशी मरिन डाइभर्सनको सुरुङमार्ग ब्रेकथ्रु, संचालनलाई अझै एक वर्ष लाग्ने

काठमाडौं । सुनकोशी मरिन डाइभर्सनको सुरुङको ब्रेकथ्रु गरिएको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङमार्गको ब्रेकथ्रु गरेका हुन्। सुरुङमार्ग निर्माण सुरु भएको १९ महिनामा नै ब्रेकथ्रु भएको हो।

Tata
GBIME
Nepal Life

सो कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सुरुङमार्ग बाहेकका अन्य कामको निर्माण सकाउन पनि तीव्र रुपमा लाग्न निर्देशन दिएका थिए।

‘ब्यारेज, पावर हाउस, इलेक्ट्रोमेकानिकल ट्रान्समिसन लाइन, नदी नियन्त्रण र सामाजिक विकासका कार्य पनि उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्नुपर्छ,’ उनले भने।

प्रचण्डले कार्ययोजना एवं खरिद गुरूयोजनामा उल्लेख भए अनुसारसम्पूर्ण कार्यहरु निर्धारित समयभित्रै पूरा गर्नुपर्ने बताएका थिए।

उनले हिउँदमा सिचाइँको लागि पानी पुर्‍याउन सो डाइभर्सनले ठूलो सहयोग पुग्नेमा आफू आशावादी रहेको बताएका थिए।

यो सुरुङमार्गको २०७९ असोज २८ गतेदेखि निर्माण सुरु गरिएको थियो। सम्झौता अनुसार आगामी साउन अन्तिममा निर्माणको काम सम्पन्न गर्नुपर्ने म्याद थियो।

आयोजनाको सुरुङ खन्ने काम टनेल बोरिङ मेसिन (टीबीएम) बाट गरिएको भएर समयभन्दा अगामै सुरु खन्ने काम सकिएको आयोजना प्रमुख मित्र बरालले बताए।

‘मेसिनले खनेको भएर म्यादभन्दा अगाडि नै सुरुङ खन्ने काम सम्पन्न भएको हो,’ उनले भने, ‘त्यसमा पनि निर्माणको क्रममा बीचबीचमा चट्टान तथा सुख्खा पहिरोले ४/५ पटक काम रोकिएको थियो। त्यसले पनि अझै केही ढिला भएको हो।’

बरालका अनुसार अहिले ‘ब्रेकथ्रु’ गर्ने काम भए पनि अझै सुरुङको फिनिसिङ गर्न लगभग एक वर्ष जतिको समय लाग्नेछ। भेन्टीलेटर, लाइट, कंक्रिट लाइनिङ जस्ता काम अझै बाँकी नै रहेको उनले बताए।  

चार वर्षभित्रमा मधेश प्रदेशका ८ जिल्लामध्ये ५ जिल्लामा बाह्रै महिना सिँचाइको सुविधा पुर्‍याउने र ३१.७ मेगावाट बिजुलीसमेत उत्पादन गर्नेगरि ‘सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’को काम भइरहेको छ।

पानी मरिन खोलामा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ योजनाको पूर्वी तथा पश्चिम नहरबाट क्रमशः ७६ हजार ६ सय हेक्टर र ४५ हजार ४ सय हेक्टर गरि जम्मा १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभर सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिइएको छ।

चिनियाँ कम्पनी चाइना ओभरसिजसँग सुरुङमार्ग निर्माण गर्न ११ अर्ब २९ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ। यो आयोजनामा कूल १३.३ किलोमिटर लामो सुरुङ रहेको छ।

बाँध निर्माणका लागि नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इन्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ। बाँध र विद्युत गृह निर्मामा केही ढलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने आयोजनाले जनाएको छ।

२०८४ सालको असोजसम्ममा आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख बरालले बताए।