एनएसीमा वरिष्ठ क्याप्टेन दिपु ज्वारचनलाई दोस्रो पटक अपरेसन डाइरेक्टरको जिम्मेवारी

बिजमाण्डू
२०८० चैत्र २९ गते १९:१० | Apr 11, 2024
एनएसीमा वरिष्ठ क्याप्टेन दिपु ज्वारचनलाई दोस्रो पटक अपरेसन डाइरेक्टरको जिम्मेवारी
दिपु ज्वारचन

काठमाडौं। नेपाल वायुसेवा निगमको अपरेसन डाइरेक्टरको जिम्मेवारी वरिष्ठ क्याप्टेन दिपु ज्वारचनले पाएका छन्।

Tata
GBIME
Nepal Life

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ज्वारचनलाई अपरेसन डाइरेक्टरको जिम्मेवारी दिने निर्णय गरेका हुन्। अपरेसन डाइरेक्टर श्रवण रिजाल वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेर चैत २२ गते निलम्बनमा परेका थिए।

ज्वारचनले अपरेसन डाइरेक्टरको जिम्मेवारी पाएको यो दोस्रोपटक हो। उनले ९ वर्षदेखि न्यारोबडी जहाज उडाउँदै आएका छन्।

वाइडबडी जहाज खरिद प्रकरणमा निगमका नायब प्रबन्ध निर्देशक जनक कालाखेती, फाइनान्स डाइरेक्टर उमेश पौडेल, कन्टिन्युइङ एयर वर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसन (क्यामो) प्रमुख उपेन्द्र पौडेल लगायत ७ जना बहालवाला र ७ जना पूर्वकर्मचारीसहित ३२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चैत २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

निगमले गत आइतबार क्यामो डाइरेक्टरको जिम्मेवारी महेश मरिता र फाइनान्स डाइरेक्टरको जिम्मेवारी दीपेन्द्र सुवेदीलाई दिएको थियो।

निगमले तीनवटै विभागका प्रमुखको जिम्मेवारी सम्बन्धमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिन बाँकी छ।