संसदीय समितिमा एनएसीका अध्यक्षले बोलेको झुठ, तीन कम्पनीसँग वेट लिजका लागि भएको छैन छलफल

नेत्र तामाङ
२०८० चैत्र १९ गते ०९:४३ | Apr 1, 2024
संसदीय समितिमा एनएसीका अध्यक्षले बोलेको झुठ, तीन कम्पनीसँग वेट लिजका लागि भएको छैन छलफल

काठमाडौं। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ‘वेट लिज’मा न्यारोबडी जहाज ल्याउन तीन कम्पनीसँग छलफल भइरहेको भन्दै संसदीय समितिमा झुट बोलेका छन्।

Tata
GBIME
Nepal Life

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अधिकारीले एयर इण्डिया, टर्किस एयरलाइन्स र श्रीलंकन एयरलाइन्ससँग कुराकानी भइरहेको जिकिर गरेका छन्। ‘तीन वटा कम्पनीसँग कुराकानी भइरहेको छ। तर खरिद विनियमावलीका कारण वेट लिजमा लिन सकिने अवस्था छैन,’ उनले समितिमा भनेका छन्।

जबकी यी तीन कम्पनीसँग सामान्य कुराकानी समेत नभएको निगमका एक कर्मचारीले बताए। उनका अनुसार एयर इण्डियाले आफैं जहाज किन्दैछ। एयर इण्डियाले गत फागुनमा २ सय ५० जहाज किन्ने भन्दै एयरबससँग सम्झौता गरेको थियो। ‘टाटा समूह एग्रेसिभ रुपमा उडान विस्तारका लागि जहाज खरिद गरिरहेको छ। उसलाई अहिले भएको जहाजले नपुगिरहेको बेला नेपाललाई जहाज भाडामा दिन्छ भनेर संसदमै झुठ बोल्ने काम भएको छ,’ ती कर्मचारीले भने। श्रीलंकन र टर्किसले पनि जहाज किन्न खोजिरहेका छन्।

उनका अनुसार वेट लिजका लागि भएको टेण्डरमा सात वटा कम्पनीले आवेदन दिएका छन्। जसमा पेटा एरो पीटीई लिमिटेड, एभिको एसएएस, आइएएम एभिएसन, सूर्य एयर सपोर्ट प्रालि, यूएबी क्लासजेट लिमिटेड र रिगर्ड एभिएसन रहेका छन्। आवेदन दिएकामध्ये अधिकारीले भनेको कुनै पनि कम्पनी सहभागी छैनन्।

‘आवेदन दिने समय सकिइसकेको छ। त्यसमा पनि अध्यक्षले भनेको कुनै पनि कम्पनी सहभागी छैनन्,’ ती कर्मचारीले भने, ‘सांसदहरुलाई भुलभलैयामा पारेर कारबाहीबाट बच्ने उपाय गरिएको हो।’ निगमले चैत ९ गते जारी गरेको विज्ञप्तिले पनि अधिकारीले झुठ बोलेको पुष्टि हुन्छ।

कार्यकारी अध्यक्ष युवराज अधिकारीको नेतृत्वमा नयाँ दिल्ली गएको एनएसीको टोलीले एयर इण्डियाका सीइओ क्याम्पबेल विल्सनसँग ग्राउण्ड ह्याण्डलिङ सेवा प्रभावकारी बनाउन सहयोग मागेको निगमको विज्ञप्तिमा उल्लेख छ।

यो बाहेक अधिकारीले काठमाडौं-सिडनी उडान चाँडै कार्यान्वयनमा आउने जिकिर गरेका छन्। तर, यो उडान तत्कालै सम्भव नभएको ती कर्मचारीले बताए।