एडिडाससँगको ७७ वर्षे सहकार्य तोड्दै जर्मन फुटबल, नाइकी डिल बन्यो ‘मनुमेन्टल स्वीच’

बिजमाण्डू
२०८० चैत्र १९ गते ०६:५२ | Apr 1, 2024
एडिडाससँगको ७७ वर्षे सहकार्य तोड्दै जर्मन फुटबल, नाइकी डिल बन्यो ‘मनुमेन्टल स्वीच’
Photo: PA

जर्मन फुटबल संघ (डीएफबी)ले जर्मन ब्राण्ड एडिडाससँग ७७ वर्ष लामो सहकार्य तोड्दै अमेरिकी ब्राण्ड नाइकीसँग २०२७ देखि २०३४ सम्मका लागि सम्झौता गरेको छ। ‘नाइकीले अहिलेसम्मकै उत्कृष्ट वित्तीय प्रस्ताव दिएको छ,’ डीएफबीले आफ्नो विज्ञप्तिमा भनेको छ। यसको मतलब सन् १९५० पछि पहिलो पटक जर्मन फुटबल टोलीले ‘तीन धर्के’ जर्सी लगाउने छैन।

Tata
GBIME
Nepal Life

‘हामीलाई डीएफबीले सन् २०२७ देखि नयाँ सप्लायर हुने जानकारी दिएको छ,’ एडिडासले आफ्नो विज्ञप्तिमा भनेको छ। यो निर्णयले सन् २०२४ को युरो कप र २०२६ को विश्वकपलाई प्रभाव पार्ने छैन।

यो ‘डिल’ अनुसार नाइकीले जर्मन फुटबल टोलीको किटहरूमात्र उपलब्ध गराउने नभएर एमेच्योर फुटबल र महिला फुटबललाई पनि दीर्घकालिन रुपमा प्रोमोट गर्न सहयोग गर्नेछ। डीएफबीले नाइकीसँगको डिलको ठ्याक्कै रकम खुलाएको छैन। तर जर्मन मिडिया रिपोर्टलाई आधार मान्‍ने हो भने यो १० करोड युरो (१४ अर्ब ३८ करोड नेपाली रुपैयाँ) हाराहारीको छ। यसअघिको एडिडाससँगको ‘डिल’को तुलनामा यो दोब्बर भन्दा बढी भएको बताइएको छ।

डीलको रकम डीएफबीका लागि कति महत्वपूर्ण?

डीएफबी संसारका ठूला फुटबल संघहरूमध्येको एक हो। तर यसको मतलब आर्थिक हिसाबमा पनि यो बलियो छ भन्‍ने चाहिँ होइन। अपेक्षाभन्दा उल्टो जर्मन फुटबल अहिले आर्थिक संकटबाट गुज्रिरहेको छ। यसका पछाडि धेरै कारणहरु छन्।

पहिलो कारण भनेको पछिल्लो समय जर्मन राष्ट्रिय टोलीको प्रदर्शन नै हो। ठूला प्रतियोगिताहरूमा जर्मनीले पछिल्लो केही वर्षहरुमा संघर्ष गरिरहेको छ। सन् २०१८ र २०२२ को विश्वकपमा समूह चरण नै पार गर्न नसकेको जर्मनीले सन् २०२१ को युरो कपमा पनि अन्तिम १६ नै पार गर्न सकेन।

लगातारको खराब प्रदर्शनले एकतर्फ हात पर्ने बोनस रकम घटिरहेको छ भने डीएफबी क्याम्पसको बढ्दो खर्च र १८ करोड युरो खर्चिएर बनाएको हेडक्वाटरले पनि डीएफबीको आर्थिक संकटलाई उचाइमा पुर्‍याएको छ।

नाइकी भित्र्याउने निर्णय कसरी भयो?

विश्वको ठूलो खेल सामाग्री सप्लायर नाइकीका लागि एडिडास र जर्मन फुटबलबीचको करार आफ्नो पक्षमा ल्याउनुलाई ठूलो सफलताका रुपमा लिइएको छ। जर्मन ब्राण्ड एडिडास नाइकीको ठूलो प्रतिस्पर्धीमध्ये एक हो। अझ जर्मन ब्राण्डलाई छाडेर राष्ट्रिय टोलीको जर्सी अमेरिकी कम्पनीसँग करार गर्ने भन्‍ने आलोचना पनि डीएफबीले ब्यहोरिरहेको छ।

‘नाइकीले आफ्नो उत्कृष्ट प्रयास गर्दा अरुले हामीलाई बिट गर्न सकेनन्,’ नाइकी ग्रुपका सीईओ जोन डोनाहोइले भने। २०२२ को तुलनामा १० प्रतिशत बिक्री बढाउँदै ग्रुपले २०२३ मा ५१ अर्ब डलर बराबरको बिक्री गरेको थियो। यद्यपि, फाइदा भने ६ अर्ब डलरबाट घटेर ५ अर्ब डलरमा पुगेको थियो।

यसअघि नै कठिन आर्थिक अवस्थाबाट गुज्रिरहेको समयमा डिल गुमाउनु एडिडासका लागि थप झटका हुनेछ। सन् २०२३ मा उसको बिक्री घटेर २१ अर्ब ४० करोड युरोमा पुगेको थियो। ३० वर्षमा पहिलो पटक घाटामा जाँदा कम्पनीले साढे सात करोड युरो नोक्सानी व्यहोरेको थियो।

जर्मनीको राजनीतिसम्म पुर्‍याएको तरंग

जर्मन फुटबलको यो कदमको आलोचना पनि त्यतिकै भइरहेको छ। जर्मनीका अर्थमन्त्री हाबेकले एडिडासको जर्मन टोलीको जर्सी जर्मन पहिचान भएको भन्दै आलोचना गरेका छन्।

‘तीन धर्काबिनाको जर्मन जर्सी मलाई ‘इम्याजिन’ गर्न कठिन हुन्छ,’ उनले भनेका छन्, ‘एडिडासको कालो, रातो र सुनौलो जर्सी जर्मन पहिचानका रुपमा मसँग थिए।’

बाभरियाका मिनिस्टर प्रेसिडेन्ट मार्कस सोडेरले एडिडासको विपक्षमा र नाइकीको पक्षमा गरिएको सम्झौतालाई ‘गलत, लाजमर्दो र बुझ्न नसकिने’ भनेका छन्।

एउटै ‘डिल’ले किन मच्चाउँदैछ तहल्का?

विश्वयुद्धपछिको जर्मनीको फुटबलको सफलताको कथामा एडिडास सँगसँगै जोडिएर आउँछ। सन् १९५४ मा स्वीजरल्याण्डमा विश्वकपको फाइनलमा हंगेरीलाई हराएर जर्मनी च्याम्पियन बन्दा एडिडासका संस्थापक एडी डास्लेर टिमको ‘किट म्यान’ थिए।

‘मिराकल अफ बर्न’ भनिने त्यो जितमा स्क्र्युसँगको फुटबल बुटलाई महत्वपूर्ण मानिन्छ। वर्षाका बीच भएको उक्त खेलमा हंगेरीका खेलाडीलाई भन्दा जर्मन खेलाडीलाई मैदानमा सहज भएको बताइन्छ।

जर्मनीले त्यसपछि सन् १९७४, १९९० र २०१४ मा विश्वकप उपाधि जित्दा पनि एडिडास साथमा थियो।

सन् २००६ र २००७ मा नाइकीले लोभलाग्दा अफरहरू दिएर जर्मन फुटबललाई एडिडासबाट लिन खोजेको थियो। यद्यपि त्यसबेला नाइकी सफल हुन सकेन। त्यसबेला लिग च्याम्पियन बार्यन म्युनिखले एडिडाससँग सम्झौता तोडेर नाइकीसँग जोडिए राष्ट्रिय टोलीका लागि खेलाडी रिलिज नगर्ने सम्मको धम्की दिएको थियो।