मुद्दती निक्षेप ५ वर्षमा दोब्बर, कुल बचतमा ५९% हिस्सा, कर्जा सस्तो बनाउन सकस

आकाश बोगटी
२०८० चैत्र १८ गते १९:५६ | Mar 31, 2024
मुद्दती निक्षेप ५ वर्षमा दोब्बर, कुल बचतमा ५९% हिस्सा,  कर्जा सस्तो बनाउन सकस

काठमाडौं। तरलता अभावको अवस्था देखिन थालेपछि गत वर्ष बैंकहरुले निक्षेपको ब्याजदर बढाएर झन्डै १२ प्रतिशत पुर्‍याए।
बैंकहरु ब्याजदर बढाएर मुद्दती निक्षेप तान्ने स्किममा केन्द्रित भए। निक्षेप थपियो तर कर्जा प्रवाह बढ्न सकेन।

Tata
GBIME
Nepal Life

तरलता थुप्रिएर कर्जाको माग बढ्न नसकेपछि केही महिनायता बैंकहरुले निक्षेपको ब्याजदर लगातार घटाइरहेका छन्। चैतमा मुद्दतीको औसत ब्याजदर ७.२५ प्रतिशत आइसकेको छ। छोटो अवधिमा निक्षेपको ब्याजदर उल्लेख्य मात्रामा घटेपनि कर्जाको ब्याजदर भने अपेक्षाजनक रुपमा घट्न सकेको छैन।

बैंकको लागत घट्न नसक्दा कर्जाको ब्याजदर निक्षेपको तुलनामा नघटेको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनी बताउँछन्।

‘लामो समयदेखि बैंकहरुको व्यवसाय बढ्न नसकेपनि निक्षेप बढिरहेको नै छ। त्यसमा पनि मुद्दतीको हिस्सा धेरै देखिन्छ। त्यसले उनीहरुको लागत बढाएको छ,’ उनले भने, ‘व्यवसायसँगै फि आम्दानी खुम्चिरहेका बेला लागत घट्न नसक्दा कर्जाको ब्याजदर अपेक्षितरुपमा घट्न नसकेको हो।’

हाल बैंक तथा वित्तीय संस्थामा कुल ६१ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप छ। जसमा ठूलो हिस्सा मद्दतीको रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। पछिल्लो पाँच वर्षमा मुद्दती निक्षेपको हिस्सा १०८ प्रतिशत बढेको छ।

२०७६ माघमा बैंक तथा वित्तीय संस्थामा कुल मुद्दती निक्षेप १७ खर्ब ४८ अर्ब रहेकामा त्यसयता १९ खर्ब २ अर्ब ४५ करोड रुपैयाँ थपिएर २०८० माघसम्म आइपुग्दा ३६ खर्ब ५१ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।

साधारण बचतको हिस्सा भने पाँच वर्षमा ५३ प्रतिशतले बढेको छ। २०७६ माघमा साधारण बचत १० खर्ब ८८ अर्ब ८६ करोड रहेकामा त्यसयता ५ खर्ब ८१ अर्ब ६४ करोड थपिएर १६ खर्ब ७० अर्ब ५० करोड रुपैयाँ पुगेको छ। कल बचत भने घटेको देखिन्छ।

कुल बचतमा मुद्दती निक्षेपको हिस्सा २०७६ माघमा ४९ प्रतिशत रहेकामा २०८० माघमा आइपुग्दा ५९ प्रतिशत पुगेको छ। जबकि साधारण बचतको हिस्सा भने घटेको देखिन्छ। कुल बचतमा साधारण बचतको हिस्सा ५ वर्षअघि ३० प्रतिशत रहेकामा अहिले २७ प्रतिशत छ।

बैंकहरुसँग रहेको निक्षेप रकम रु १० लाखमा

निक्षेप२०८० माघ२०७९ माघ२०७८ माघ२०७७ माघ२०७६ माघ
कुल निक्षेप६१५३१५९‍‍‍‍.१९५३८६०९९.१४८७७५१८.६२४२९८९३०.२९३५६५३५०.३९
साधारण बचत१६७०५०६.४६१३७७७६१.९१४५५६२५.२६१४३०१९८.६४१०८८८६१.२३
मुद्दती बचत३६५१२९९.२४३२०९६८१.२२६३५४३४.३२०७७०९६.८६१७४८८४४.७२
कल बचत३९६१७३.१९३२०३६३.२१३२७५६१.५३९३२३३.७१४०८४०५.५
स्रोत : नेपाल राष्ट्र बैंक

साधारण बचतको तुलनामा मुद्दतीको हिस्सा उल्लेख्य बढ्दा त्यसले बैंकहरुको लागत बढाएको छ। यसकारण पनि अहिले उच्च दरले निक्षेपको ब्याजदर घटाएका बैंकहरुले कर्जाको ब्याजदर भने सोही अनुपातमा घटाउन नसकेका हुन्।

लामो अवधिका लागि लिएको मुद्दती निक्षेपले लागत घट्न नसक्दा कर्जाको ब्याजदर अपेक्षितरुपमा नघटेपनि घट्दो क्रममा रहेको बैंकरहरु बताउँछन्।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ गत वर्ष तरलता अभाव देखिन थालेपछि बैंकहरुले उच्च दरमा लामो अवधिका लागि लिएको मुद्दतीले बैंकहरुको लागत बढाएको बताउँछन्।

‘एक वर्ष अवधिको मुद्दती कति परिपक्व भए, कतिपय हुने अवस्थामा छन्। त्यसको लागत विस्तारै कम हुँदै जान्छ,’ उनले भने, ‘तर गत वर्ष ब्याजदर उच्च हुँदा लामो अवधिको मुद्दती धेरै उठाएकाले त्यसले अहिले बैंकहरुको लागत घट्न सकेको छैन।’ बैंकहरुको लागत कम भए मात्र कर्जा सस्तो हुन्छ।