वाणिज्य बैंकहरुको सेयर मूल्य ओरालो मात्रै लाग्छ? लगानीकर्ताका लागि किन्ने अवसर!

सुनिल कुँवर
२०८० चैत्र १८ गते ०९:०० | Mar 31, 2024
वाणिज्य बैंकहरुको सेयर मूल्य ओरालो मात्रै लाग्छ? लगानीकर्ताका लागि किन्ने अवसर!

काठमाडौं। सेयर बजारमा वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै मूल्यसहित कुनै बेला ब्लुचिप कम्पनी कहलिएका बैंक हुन्- स्ट्याण्डर्ड चार्टर्ड र एभरेष्ट।

Tata
GBIME
Nepal Life

दुवै बैंकको सेयर मूल्य डेढ वर्षयता ५०० रुपैयाँ हाराहारी घुमिरहेको छ। बिहीबारको कारोबारलाई हेर्ने हो भने सेयर मूल्य स्ट्याण्डर्ड चार्टर्डको ५१९,  एभरेष्टको ५०३, नबिलको ४४२ र एनआइसी एसियाको ४१० रुपैयाँ छ।

बलियो वित्तीय अवस्था रहेका बैंकहरुकै सेयर मूल्य बजारको ओरालो यात्रासँगै निकै तल आइसकेको छ। स्ट्याण्डर्ड चार्टर्डको ५१९ रुपैयाँ सेयर मूल्य वाणिज्य बैंकहरुमा सबैभन्दा उच्च हो।

अहिले लगानीकर्ताको रोजाइमा बैंकको सेयर पर्न छोडेको छ। पछिल्लो डेढ वर्षदेखि बैंकको सेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ।

सेयर बजारमा कारोबार रकमका आधारमा वाणिज्य बैंक शीर्ष १० कम्पनीको सूचीमा अटाउन छोडेको धेरै भइसक्यो। बिहीबार कारोबार धेरै हुने ५० कम्पनीको सूचीमा कुमारी, नबिल र एनआइसी एसिया मात्र अटाएका छन्।

विगतमा लगानीकर्ताको रोजाइमा पर्ने गरेका र वित्तीय सूचक राम्रो रहेका बैंककै सेयर मूल्य अहिले २०० भन्दा तल छ।

गत बिहीबारको कारोबार हेर्दा कुमारी, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, एनएमबि लगायतका १० बैंकको सेयर मूल्य २०० भन्दा कम छ। कुमारी बैंकको सेयर मूल्य सबैभन्दा कम प्रति कित्ता १३०.९० रुपैयाँ छ।

अर्थतन्त्रमा आएको संकुचनले पोहोरदेखि बैंकहरुको खुद नाफा र वितरणयोग्य नाफा घट्दै गएको छ भने खराब कर्जा बढ्दै गएको छ। यही कारण अब बैंकले राम्रो प्रतिफल दिँदैनन् भन्ने लगानीकर्ताको बुझाइले आकर्षण देखिन छाडेको हो।

पोहोर बैंकहरुको नाफा संकुचित भएको थियो। यो आर्थिक वर्ष सुरुदेखि नै बैंकको व्यवसाय बढ्न सकेको छैन। नाफामा गिरावट आइरहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष ७ महिनामा वाणिज्य बैंकको खुद नाफा औसतमा १३.७ प्रतिशतले घटेको छ। बैंकहरुले पोहोर माघसम्म ४१ अर्ब खुद नाफा कमाएकामा यो वर्ष घटेर ३५ अर्ब ३९ करोड रुपैयाँमा सीमित भएको छ।

कृषि विकास, हिमालयन र प्राइम कमर्सियल बाेहक सबै बैंकको मुनाफा घटेको छ।

यो वर्ष ६ महिनामा बैंकहरुको खराब कर्जा औसतमा ३.६३ प्रतिशत पुगेको छ।

त्यसो भए के बैंकको स्थिति सेयर लगानीकर्तालाई आकर्षित गर्नै नसक्ने गरी बिग्रिएको हो त?

होइन। बैंकहरुले कर्जा नोक्सानीबापत सम्भावित जोखिम व्यवस्थापन गर्न प्रोभिजनिङ गरिसकेका छन्। राष्ट्र बैंकको आँकडाले त्यही देखाउँछ।

बैंकहरुले यो वर्ष माघसम्म ४६ अर्ब ५० करोड रुपैयाँ प्रोभिजनिङका लागि छुट्याएका छन्। प्रोभिजनिङ रकम पोहोर माघसम्म २९ अर्ब ५२ करोड रुपैयाँ रहेकोमा बैंकहरुले यसपालि ५७.५५ प्रतिशत बढाएका हुन्।

बैंकले प्रवाह गरेको ऋण बिग्रिंदै गएपछि नियामकीय प्रावधानअनुसार शतप्रतिशतसम्म पोभिजनिङ गर्नुपर्ने हुन्छ। खराब कर्जाबापत बैंकको प्रोभिजनिङ रकम बढ्नु नै उनीहरुको अहिले नाफा घट्नुको कारण हो।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा धेरै ९ अर्ब १७ करोड रुपैयाँ प्रोभिजनिङका लागि छुट्याएको छ। कुमारीले ५ अर्ब ४९ करोड, ग्लोबल आइएमईले ४ अर्ब र नबिलले ३ अर्ब राखेका छन्। प्रोभिजनिङमा सबैभन्दा न्यून प्राइम कमर्सियल बैंकको २२ करोड रुपैयाँ छ।

बैंकहरुले एफपीओ, मर्जर तथा एक्विजिसनको पौने १३ अर्ब रुपैयाँ कर समेत तिरिसकेका छन्। जसका कारण उनीहरुको खर्च दायित्व कम छ।

आगामी दिनमा अर्थतन्त्र चलायमान हुँदा खराब कर्जा उठ्छ। खराब कर्जा उठेपछि बैंकको प्रोभिजनिङ रकम नाफामा गणना हुन्छ। त्यो अवस्थामा बैंकले राम्रो प्रतिफल दिन सक्छन्। त्यसैले दीर्घकालका लागि बैंकको सेयरमा लगानी गर्न चाहनेहरुका लागि मूल्य निकै तल ओर्लिएकाले अहिले उपयुक्त अवसर भएको बजारका जानकारहरुको भनाइ छ।

कतिपय बैंकको सेयर मूल्य अहिलेसम्मकै सस्तो भएको छ।

एक वर्षपछि सेयर बिक्रीमा ५ प्रतिशत मात्रै पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ। लामो अवधिका लागि लगानी गर्नेहरुले पुँजीगत लाभकरमा सहुलियत पाउँछन्। एक वर्षभित्र सेयर बिक्री गर्नेले पुँजीगत लाभकर ७.५ प्रतिशत तिर्दै आएका छन्।