क्याल समूहका ५ कम्पनीको व्यापार झण्डै २० अर्ब, बढी कारोबार गर्नेमा नारायणी स्पात

बिजमाण्डू
२०८० चैत्र १६ गते १२:४२ | Mar 29, 2024
क्याल समूहका ५ कम्पनीको व्यापार झण्डै २० अर्ब, बढी कारोबार गर्नेमा नारायणी स्पात

काठमाडौं। क्याल समूहको लगानी रहेका ५ कम्पनीले एकैवर्ष १९ अर्ब ७३ करोड रुपैयाँको व्यापार गरेको छ। समूहको लगानी रहेको नारायणी स्पात, नारायणी रोलिङ मिल्स, नारायणी स्टिल्स, नारायणी स्ट्राइप्स र श्रीकृष्ण स्टिल इन्डस्ट्रिजले अघिल्लो वर्षको तुलनामा ४१ करोड ८० लाख रुपैयाँ बढी व्यापार गरेका छन्।

Tata
GBIME
Nepal Life

रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार यी सबै कम्पनीले कुल १६ अर्ब ५५ करोड रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ पुन: पुष्टि गराएका छन्।

क्याल समूहका कम्पनीहरुमध्ये सबैभन्दा बढी व्यापार गर्नेमा नारायणी स्पात अग्रस्थानमा छ। कम्पनीले सन् २०२३/२४ मा १० अर्ब ५६ करोड रुपैयाँको व्यापार गरेको छ। अघिल्लो वर्ष कम्पनीको व्यापार ९ अर्ब २९ करोड रुपैयाँ थियो। यस्तै, सन् २०२०/२१ मा कम्पनीले ५ अर्ब ६० करोड रुपैयाँको कारोबार गरेको थियो।

डन्डी उत्पादन गर्ने यो कम्पनीको प्लान्ट बारामा छ। टीएमटी बार र एमएस राउन्डलगायतका सामग्री उत्पादन गर्ने यो कम्पनीको उत्पादन क्षमता वार्षिक ३ लाख २२ हजार टन छ। नारायणी स्टिल्सको नामबाट बजारमा डन्डी बेच्ने कम्पनीसँगै देशभर १२९ ठाउँमा डिलर/डिस्ट्रिब्युटर नेटवर्क छ। काठमाडौ उपत्यकामा कम्पनीको आफ्नै १५ वटा हार्डवेयर ट्रेडिङ आउटलेट छ।

कम्पनीले ७ अर्ब १९ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पुन: पुष्टि गराएको छ। २ अर्ब रुपैयाँको दीर्घकालीन कर्जाका लागि केयर रेटिङ्स नेपालले एनपी डबल बी र ५ अर्ब १३ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एफोर रेटिङ पुन: पुष्टि गराएको छ।

कारोबारको हिसाबमा नारायणी स्पातपछि नारायणी स्ट्रिप्स छ। पाइप, जस्तापातालगायतका सामग्री उत्पादन गर्ने नारायणी स्ट्रिप्सको कारोबार भने केही घटेको देखिन्छ। सन् २०२२/२३ मा कम्पनीले ३ अर्ब ३४ करोड रुपैयाँको व्यापार गरेको छ। अघिल्लो वर्ष २०२१/२२ मा कम्पनीले ३ अर्ब ६४ करोड रुपैयाँको कारोबार गरेको थियो भने २०२०/२१ मा ४ अर्ब १४ करोड रुपैयाँको व्यापार गरेको थियो।

पर्सामा प्लान्ट रहेको उद्योगको उत्पादन क्षमता वार्षिक ४ लाख २२ हजार ४ सय टन छ। कम्पनीले सन् २०२२/२३ मा २३ हजार ७२६ टन बिक्री गर्दा अघिल्लो वर्ष २५ हजार १९३ टन उत्पादन बिक्री गरेको थियो।

नारायणी स्ट्रिप्सले ४ अर्ब ९१ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पुन: पुष्टि गराएको छ। केयर रेटिङ्स नेपालले १ अर्ब ७६ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी बी प्लस र ३ अर्ब १५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एफोर रेटिङ पुन: पुष्टि गराएको छ।

त्यसैगरी, क्याल समूहको अर्को कम्पनी नारायणी रोलिङ मिल्सको पनि व्यापार घटेको देखिन्छ। कम्पनीले सन् २०२३/२४ मा २ अर्ब ८० करोड रुपैयाँको मात्रै व्यापार गरेको छ। जबकि अघिल्लो वर्ष २०२२/२३ मा कम्पनीले ३ अर्ब ४४ करोड रुपैयाँको कारोबार गरेको थियो। यस्तै, २०२०/२१ मा कम्पनीको व्यापार २ अर्ब ९७ करोड रुपैयाँ थियो।

नारायणी रोलिङ मिल्सले डन्डीसँगै एङ्गल्सलगायतका सामग्री उत्पादन गर्छ। बारामै प्लान्ट रहेको उद्योगको उत्पादन क्षमता वार्षिक ४८ हजार ३ सय टन छ। यो कम्पनीले १ अर्ब ७५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि केयर रेटिङ्स नेपालबाट एनपी एफोर रेटिङ पुन: पुष्टि गराएको छ।

यस्तै, क्याल समूहको अर्को कम्पनी नारायणी स्टिल्स प्रालिको व्यापार भने ५४ करोड ३० लाख रुपैयाँले बढेको छ। कम्पनीले सन् २०२२/२३ मा २ अर्ब १५ करोड रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष २०२१/२२ मा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको कारोबार गरेको थियो। सन् २०२०/२१ मा कम्पनीको व्यापार १ अर्ब ६५ करोड रुपैयाँ थियो।

पर्सामा उद्योग रहेको नारायणी स्टिल्ससँग वार्षिक ६५ हजार टन विभिन्न प्रकारका तार, किलालगायतका सामग्री उत्पादन गर्न सक्ने क्षमता छ। कम्पनीले १ अर्ब २८ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पुन: पुष्टि गराएको छ। कम्पनीले १४ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी डबल बी र १ अर्ब १४ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एफोर रेटिङ केयर रेटिङ्स नेपालले पुन: पुष्टि गरिदिएको छ।

त्यसैगरी, क्याल समूहकै स्वामित्व रहेको श्रीकृष्ण स्टिल इन्डस्ट्रीको व्यापार भने ४६ करोड २० लाख रुपैयाँले घट्न पुगेको छ। कम्पनीले सन् २०२२/२३ मा ८६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ। जबकि अघिल्लो वर्ष कम्पनीको व्यापार १ अर्ब ३२ करोड रुपैयाँ थियो। सन् २०२०/२१ मा कम्पनीले १ अर्ब ६१ करोड रुपैयाँको कारोबार गरेको थियो।

बाराको जीतपुरमा प्लान्ट रहेको श्रीकृष्ण स्टिलले पाइप, जस्तापाता, सटर पट्टीलगायतका सामग्री उत्पादन गर्छ। कम्पनीले १ अर्ब ४१ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि केयर रेटिङ्स नेपालबाट रेटिङ पुन: पुष्टि गराएको छ। १६ करोड १४ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी बी प्लस र १ अर्ब २५ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि एनपी एफोर रेटिङ पुन: पुष्टि गराएको हो।