विराटनगरका व्यापारी राठीको अपहरणपछिको त्यो हत्या, दोषीलाई ११ वर्षपछि कारावासको सजाय

अनन्तराज न्यौपाने
२०८१ बैशाख १४ गते १८:१७ | Apr 26, 2024
विराटनगरका व्यापारी राठीको अपहरणपछिको त्यो हत्या, दोषीलाई ११ वर्षपछि कारावासको सजाय
गंगाविसन राठी

काठमाडौं। नेपालका एक उद्योगपतिसहित २ जनाको हत्याको ११ वर्षपछि भारतको पश्चिम बंगालस्थित सिलीगुडी अदालतले दुई अभियुक्तलाई आजीवन कारावासको सजाय सुनाएको छ।

Tata
GBIME
Nepal Life

घटनामा संलग्न एक महिलालाई भने अदालतले ६ महिना कैद सजायको आदेश गरेको छ। अदालतका न्यायाधीश अनिता मल्होत्राको इजलासले सुरेन्द्र मिश्रा र अभिजित बोसलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको हो।

अर्का अभियुक्त मोनिका मिश्राको स्वास्थ्य खराब भएका कारण उनलाई ६ महिना कैद सजाय सुनाइएको छ। अभियुक्त राजीव राईलाई भने अदालतले हत्यामा कुनै भूमिका नभएको भन्दै रिहा गर्न आदेश दिएको छ।

यस्तो थियो घटना

विराटनगरका उद्योगपति एवम् समाजसेवी गंगाविसन राठी र राजनीतिक कार्यकर्ता चन्द्र चुडाल २०१३ को जनवरी ८ मा सिलीगुडी पुगेका थिए।

विराटनगरमा चामल, तेल, मैदा, पिठो लगायत खाद्यान्नका पुराना उद्योगी राठी मोरङ व्यापार संघका पूर्वअध्यक्ष पनि थिए।

राठी सिलीगुडी पुगेको चौथो दिन उनका छोरा हरिवंशलाई अपरिचित नम्बरबाट फोन आयो। फोन गर्नेले राठी र चुडाल अपहरणमा परेको बताए। अपहरणकारीले राठीलाई रिहा गर्न ५० लाख रुपैयाँ मागे।

यसपछि हरिवंशले आफ्ना बाबुलाई अपहरणकारीको चंगुलबाट छुटाउन सिलीगुडी पुगेर ५० लाख रुपैयाँ फिरौती दिए। तर अपहरणकारीले रिहा गरेनन्।

त्यसपछि हरिवंशले सिलीगुडी प्रहरी चौकीमा अपहरणको लिखित उजुरी दिए। घटनाको अनुसन्धान गर्दै सिलीगुडी पुलिस स्टेसनले मोबाइल टावर लोकेसन र अन्य चौकीको सहयोगमा दार्जिलिङ मेल ट्रेनबाट अपहरणकारी सुरेन्द्र मिश्रा र अभिजित बोसलाई पक्राउ गर्‍यो।

सोधपुछका क्रममा सुरेन्द्र र अभिजितले दुवैको हत्या गरी जंगलमा फालेको बताए। फेब्रुअरी १४ मा भारतीय प्रहरीले पश्चिम बंगालकै सुकौना भन्ने स्थानको पहाडी जंगलको भिरबाट तल फालिएको अवस्थामा राठी र चुडालको शव फेला पार्‍यो। प्रहरीले आरोपी सुरेन्द्रको घर खानतलासी गर्दा उनकी पत्नी मोनिकाबाट मृतक राठीको माला बरामद गर्‍यो।

यसपछि प्रहरीले राठी र चुडालको हत्याकाण्डका आरोपी सुरेन्द्र, मोनिका, अभिजित र चौथो आरोपी राजीव राईलाई पक्राउ गरी अदालतमा पेस गर्‍यो। सिलीगुडी अदालतमा यो मुद्दा करिब ११ वर्षसम्म चल्यो। न्यायाधीशले ४६ जनाको बयान सुने।

गंगाविसनका छोरा हरिवंशले लामो समय लागे पनि अदालतले न्याय दिएको प्रतिक्रिया दिए।