युवराज अधिकारी व्यवस्थापकीय नेतृत्व गर्न अक्षम, एनएसीले ७ महिनामा गुमायो सवा २ अर्ब आम्दानी

वसन्तराज उप्रेती
२०८० चैत्र १६ गते १२:२० | Mar 29, 2024
युवराज अधिकारी व्यवस्थापकीय नेतृत्व गर्न अक्षम, एनएसीले ७ महिनामा गुमायो सवा २ अर्ब आम्दानी

काठमाडौं। नेपाल वायुसेवा निगमले व्यवस्थापकीय अक्षमताका कारण ७ महिनामा २ अर्ब २० करोड रुपैयाँ आम्दानी गुमाएको छ।

Tata
GBIME
Nepal Life

निगम उच्च स्रोतका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा निगमले ८ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको छ। जबकि गत वर्ष सोही अवधिमा निगमले १० अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेको थियो।

बिग्रिएको जहाज समयमा मर्मत गर्नुको साटो लामो समय ग्राउण्डेड गर्दा निगमले ठूलो आम्दानी गुमाएको हो। जहाज ग्राउण्डेड र ‍पाइलटको व्यवस्थापन गर्न नसक्दा यो अवधिमा निगमको ६८५ वटा उडान रद्द भएको छ।

उडान रद्द हुँदा निगमले आम्दानी गुमाउनुपरेको हो। ‘निगमले ७ महिनाका लागि २६ सय ७५ वटा उडान गर्ने योजना बनाएको थियो। तर यो अवधिमा १९ सय ८९ वटा मात्रै उडान भयो,’ स्रोतले भन्यो, ‘निगमको व्यापार घट्ने र ऋणको भार थपिने क्रम बढ्दो छ।’

निगमको नेतृत्वमा युवराज अधिकारी छन्। कार्यकारी अध्यक्ष अधिकारी नै व्यवस्थापन प्रमुख हुन्। उनी जहाजको इन्जिन मर्मतदेखि पाइलट व्यवस्थापन गर्नसम्म अक्षम ठहरिएका छन्। उनको अक्षमताकै कारण निगमको आर्थिक अवस्था दिन प्रति दिन खस्किँदै गएको छ।

९ एनए एकेएक्स कलसाइनको न्यारोबडी जहाज ग्राउण्डेड भएको ४ महिना नाघिसकेको छ। मंसिर १५ मा ग्राउण्डेड भएको जहाज इन्जिन फेर्न गत पुस २६ गते इजरायलको एरोस्पेस इन्ड्रस्ट्रिज(आईएआई)मा लगिएकामा फिर्ता हुने मिति अझै टुंगो लागेको छैन।

आईएआईले न्यारोबडीको इन्जिन मर्मत नगर्दा उल्टै उसले दिएको इन्जिनको भाडा भने निगमले तिरिरहनुपरेको छ। यी सबै कारणले निगमले चार वटा जहाज किन्न कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट लिएको ३४ अर्ब ऋणको भार बढेर ४८ अर्ब रुपैयाँ नाघिसकेको छ।

कोभिडपछि वाइड बडीको ऋण १० अर्ब बढ्यो

सरकार जमानी बसेर कर्मचारी संचय कोष र नागरिक लगानी कोषले निगमलाई ऋण दिएका थिए। दुई संस्थाले वाइड बडी जहाजका लागि २४ अर्ब रुपैयाँ ऋण दिएका थिए।

अधिकारीले निगमको नेतृत्व सम्हालेपछि २४ अर्ब ऋणको भार अहिले ३४ अर्ब रुपैयाँ पुगेको छ। उनी २०७८ कात्तिकमा कार्यकारी अध्यक्ष नियुक्त भएका थिए। उनले नेतृत्व सम्हालेपछि जहाज ग्राउण्डेडको समस्या बढ्दा निगमले कर्मचारी संचय कोष र नागरिक लगानी कोषलाई किस्ता रकम तिर्न सकेको छैन।

सञ्चय कोषले त किस्ता रकम नपाएपछि निगमलाई वाइडबडी जहाज लिलामी गर्ने चेतावनी नै दिइसकेको छ।

निगम स्रोतका अनुसार दुई संस्थाबाट लिएको ऋण तिर्नतर्फ अधिकारीले ध्यान दिएकै छैनन्। ‘वित्तीय अवस्था सुधार्नेतिर अध्यक्षको कुनै ध्यान छैन। बरु नयाँ नयाँ योजना ल्याएर संस्थालाई धरासायी बनाउने काम मात्रै भएको छ,’ निगमका एक कर्मचारीले भने, ‘निगमलाई अहिलेकै हालतमा छाड्ने हो भने ऋणको भार बढ्दै गएर कर्मचारीलाई तलब नै खुवाउन नसक्ने स्थिति आउँछ।’

त्यतिमात्र होइन अधिकारीले वाइडबडी जहाजबाट निगमलाई नाफा दिलाउन सकेका छैनन्। वाइडबडी जहाज संचालनमा निगमलाई नोक्सानी छ।

आर्थिक अवस्था बिग्रिंदै गएपनि अर्थ मन्त्रालयको असहमतिका बाबजुद अध्यक्ष अधिकारीले कमिसनका लागि ट्वीनअट्टर र वेट लिजमा दुईवटा न्यारोबडी जहाज ल्याउन टेण्डर गरेका छन्। ट्वीनअट्टर जहाज किन्ने उनको चाहनामा भने ठेस लागिसकेको छ। टेण्डरमा भाग लिएका कम्पनीको प्राविधिक प्रस्ताव फेल भइसकेको छ भने वेट लिजमा जहाज भित्र्याउने प्रक्रिया अघि बढाउन उनलाई साथ दिएका सुदन किराती पर्यटन तथा नागरिक उड्डयनमन्त्रीबाट बिदा भइसकेका छन्।

अधिकारीकै पालामा बोइङ ७५७ को इन्जिन स्पेनको आईबीईआरआईएमा पठाइएको थियो। यो इन्जिन बिक्री भएको भएको छैन। इन्जिन स्पेन गएको लामो समय भइसकेको छ तर फिर्ता पनि ल्याइएको छैन। इन्जिन राखेबापत आईबीईआरआईएले ३ लाख ८५ हजार डलर भाडा दाबी गरिसकेको छ।

एकातिर इन्जिन राखेबापत भाडा दाबी र अर्कातिर नाफा कमाउने जहाज बन्ने मिति निश्चित नभएका कारण निगमको आर्थिक अवस्था थप नाजुक हुने देखिन्छ।

निगमले गत आर्थिक वर्ष २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेकामा ७ महिनाको तथ्यांकले यसपालि १५ अर्ब रुपैयाँ कमाइ हुन नसक्ने देखिन्छ।