मुकेश अम्बानी र गौतम अडानीबीच ‘ल्याण्डमार्क डिल’, जलविद्युतमार्फत पहिलोपटक गर्दैछन् साझेदारी

बिजमाण्डू
२०८० चैत्र १६ गते ११:३४ | Mar 29, 2024
मुकेश अम्बानी र गौतम अडानीबीच ‘ल्याण्डमार्क डिल’, जलविद्युतमार्फत पहिलोपटक गर्दैछन् साझेदारी
Photo : Mashable India

विश्वका धनाढ्यमा सूचीकृत भारतीय अर्बपतिहरु मुकेश अम्बानी र गौतम अडानीले पहिलोपटक साझेदारी गर्ने भएका छन्।

Tata
GBIME
Nepal Life

दुवैजनाको कम्पनीबीच मध्यप्रदेशमा निर्माण हुने ‘पावर प्रोजेक्ट’ मा सँगै काम गर्ने सम्झौता भएको टाइम्स अफ इन्डियाले जनाएको छ। अम्बानीको रिलायन्स इन्डस्ट्रिजले अडानीको महान एनअर्जी लिमिटेडको २६ प्रतिशत सेयर खरिद गरेको हो।

रिलायन्सले महान एनअर्जीमा ५ करोड इक्विटी सेयर खरिद गरेको हो। ५० करोड भारतीय रुपैयाँमा भएको यो डिलबाट रिलायन्सले सो पावर प्रोजेक्टबाट उत्पादित ५०० मेगावाट विद्युत आफ्नो कम्पनीका लागि प्रयोग गर्न पाउनेछन्। विद्युत कुन प्रयोजनका लागि उपयोग गर्ने भन्नेबारे रिलायन्सले केही बताएको छेन।

नियामक निकायबाट स्वीकृति भएपछि आउने केही दिनमा नै दुईजना उद्योगीबीचको डिलले मान्यता पाउनेछ।

भारतको विद्युत नीति २००५ को अधिनमा रहेर यो सम्झौता भएको हो। सो नीति अनुसार अम्बानीले विद्युत खरिद गर्न २६ प्रतिशत सेयर स्वमित्व लिनै पर्ने हुन्थ्यो।

अम्बानी र अडानी दुवैजना गुजरातका हुन्। दुवैजनालाई एकअर्काको प्रतिष्पर्धीका रुपमा लिइन्छ। त्यसैले यो सहमतिलाई ‘ल्याण्डमार्क डिल’ समेत भनिएको छ।

अडानीको मुख्य लगानी विमानस्थल, बन्दरगाह, सिमेन्ट उद्योगमा छ। अम्बानीको लगानी प्रविधि क्षेत्रमा धेरै छ। दुवै उद्योगीले मिडिया र डेटा सेन्टरमा भने प्रतिष्पर्धा गरिरहेका छन्। पछिल्लो समय दुवै व्यापारिक घराना नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गरिरहेका छन्।

ब्लुमबर्ग बिलिनियर इन्डेक्सले हालै सार्वजनिक गरेको विश्वको धनाढ्यको सूचीमा मुकेश अम्बानी ११५ बिलियन अमेरिकी डलर नेटवर्थसहित सूचीको एघारौं स्थानमा छन्। बाह्रौं स्थानमा भारतकै गौतम अडानी छन्। उनको कुल नेटवर्थ १०४ बिलियन अमेरिकी डलर छ।