एयर एसियाले क्यानलाई बुझायो बक्यौताको दोस्रो किस्ता, व्यावसायिक उडान कहिलेबाट ?

बिजमाण्डू
२०८० चैत्र १५ गते १७:३१ | Mar 28, 2024
एयर एसियाले क्यानलाई बुझायो बक्यौताको दोस्रो किस्ता, व्यावसायिक उडान कहिलेबाट ?

काठमाडौं। पाँच वर्षपछि काठमाडौंमा पुनः उडान संचालनको तयारीमा रहेको मलेसियाको लो कस्ट एयरलाइन्स एयर एसियाले बक्यौताको किस्ताबापत नागरिक उड्डयन प्राधिकरणलाई बिहिबार १ करोड १५ लाख रुपैयाँ बुझाएको छ।

Tata
GBIME
Nepal Life

यो वायुसेवाको नाममा जरिवानासहित २५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेकामा २ साताअघि पहिलो किस्ता बुझाएको थियो।

‘एयर एसियाले नेपालमा आफ्नो व्यावसायिक उडान संचालनका लागि दुई किस्ता बुझाएको छ,’ प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘उसले दोस्रो किस्ता प्रतिबद्धता जनाए अनुसारकै मितिमा बुझाएको छ। बक्यौताको किस्ता तिरेको देख्दा छिट्टै उडान गर्न चाहेको देखिन्छ।’

पुनः नियमित उडान गर्नका लागि एयर एसियाले युनिभर्सल टुर्स एण्ड ट्राभललाई जनरल सेल्स एजेन्ट ‘जीएसए’ नियुक्त गरेको छ। तर उसले क्वालालाम्पुर-काठमाडौं उडान कहिलेबाट गर्ने भन्ने टुंगो लाग्न बाँकी छ।

एयर एसियाले २०६९ सालबाट काठमाडौंमा व्यावसायिक उडान सुरु गरेको थियो। सातामा पाँच वटा उडान गर्दै आएको कम्पनीको उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायत सेवाको बक्यौता नतिरेपछि ५ वर्षअघि बन्द भएको थियो।