सात महिनामा थपियो साढे ३ खर्ब निक्षेप, १६ बैंकले बढाउँदा ४ वटाको भने घट्यो

बिजमाण्डू
२०८० चैत्र १५ गते १३:१३ | Mar 28, 2024
सात महिनामा थपियो साढे ३ खर्ब निक्षेप, १६ बैंकले बढाउँदा ४ वटाको भने घट्यो

काठमाडौं। पछिल्लो ७ महिनामा वाणिज्य बैंकहरुमा ३ खर्ब ५६ अर्ब ९० करोड रुपैयाँ निक्षेप थपिएको छ। चालु वर्ष माघ मसान्तसम्म २० मध्ये १६ बैंकले निक्षेप बढाउँदा ४ बैंकको निक्षेप भने खुम्चिएको छ।

Tata
GBIME
Nepal Life

असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ५० खर्ब ८६ अर्ब रहेकामा माघसम्म आइपुग्दा ५४ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ।

७ महिनामा एनआईसी एशिया बैंकले सबैभन्दा धेरै ५३ अर्ब ३६ अर्ब निक्षेप बढाएको छ। गत असार मसान्तसम्म एनआईसी एशिया बैंकको कुल निक्षेप ३ खर्ब १४ अर्ब रहेकामा माघमा आइपुग्दा ३ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा ४१ अर्ब ९६ करोड, नबिल बैंकमा ३५ अर्ब ५० करोड र कृषि विकास बैंकमा २८ अर्ब ९१ करोड रुपैयाँ निक्षेप थपिएको छ।

निक्षेप माघसम्म नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ खर्ब ७५ करोड, नबिलको ४ खर्ब ३८ अर्ब र कृषि विकासको २ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ।

यस अवधिमा सबैभन्दा कम निक्षेप संकलन गर्ने बैंक कुमारी हो। कुमारी बैंकले ७ महिनामा ५ अर्ब ७८ करोड निक्षेप बढाएको छ। माघसम्म कुमारीसँग कुल ३ खर्ब ३२ अर्ब निक्षेप छ।

सबैभन्दा धेरै निक्षेप हुने बैक ग्लोबल आइएमई हो। यो बैंकसँग माघसम्म ४ अर्ब ६८ अर्ब रुपैयाँ निक्षेप छ। त्यसमध्ये २९ अर्ब ५१ करोड रुपैयाँ सात महिनामा थपिएको हो।

बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाइरहेपनि बजारमा कर्जाको माग नबढ्दा बैंकमा पैसा थुप्रिन पुगेको हो। निक्षेप थुप्रिएर कर्जा प्रवाह खुम्चिंदा बैंकहरुको लागत बढ्न थालेको छ। ७ महिनामा वाणिज्य बैंकहरुले १ खर्ब ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यो रकम निक्षेप संकलनको तुलनामा झन्डै आधा हो।

गत असार मसान्तको तुलनामा माघ मसान्तमा स्टान्डर्ड चार्टर्ड, सिद्धार्थ, माछापुच्छ्रे र प्रभु बैंकको भने निक्षेप घटेको छ।

प्रभुको ७ अर्ब ५ करोड, माछापुच्छ्रेको ४ अर्ब २४ करोड, सिद्धार्थको ३ अर्ब ५२ करोड र स्टान्डर्ड चार्टर्डको ३ अर्ब ३५ करोड रुपैयाँ निक्षेप खुम्चिएको हो।

स्टान्डर्ड चार्टर्ड सबैभन्दा कम निक्षेप हुने बैंक हो। यो बैंकसँग माघसम्म १ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप छ।