अर्थमन्त्री पुनले मन्त्रालयभित्र गरे व्यापक हेरफेर, दुई विभागका महानिर्देशक फेरिए

बिजमाण्डू
२०८० चैत्र १४ गते १३:४९ | Mar 27, 2024
अर्थमन्त्री पुनले मन्त्रालयभित्र गरे व्यापक हेरफेर, दुई विभागका महानिर्देशक फेरिए

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयभित्र व्यापक हेरफेर गरेका छन्। उनले मन्त्रालयको नेतृत्व सम्हालेको तीन सातापछि आन्तरिक राजस्व विभाग र भन्सार विभागको महानिर्देशक फेर्नुका साथै महाशाखा प्रमुख पनि परिवर्तन गरेका छन्।

Tata
GBIME
Nepal Life

आन्तरिक राजस्व र भन्सार विभाग मन्त्रालय मातहतका शक्तिशाली निकाय मानिन्छन्। सहसचिव शिवलाल तिवारीलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाइएको छ।

तिवारीलाई महानिर्देशकको जिम्मेवारी दिनकै लागि यसअघिका अर्थमन्त्री डा. प्रकाशशरण महतले २ महिनाअघि मात्र महानिर्देशक बनाएका भूपाल बराललाई पुनले मन्त्रिपरिषद्को पछिल्लो बैठकबाट वन तथा वातावरण मन्त्रालयमा सरुवा गराएका थिए।

भन्सार विभागमा ढुण्डीप्रसाद निरौलालाई महानिर्देशक बनाइएको छ। यसअघिका महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गरिएको छ।

तालिम केन्द्र प्रमुख रामप्रसाद आचार्यलाई मन्त्रालयमा तानिएको छ। मन्त्री पुनले तिवारी, निरौला र नारायणप्रसाद सापकोटालाई मन्त्रिपरिषद्को पछिल्लो बैठकबाट अर्थमा ल्याएका थिए। सापकोटा २०७८ भदौ ३ देखि फागुन २ सम्म भन्सार विभागको महानिर्देशक थिए।

अर्थमन्त्री पुनले मन्त्रालयका महत्वपूर्ण महाशाखाको नेतृत्व हेरफेर गरेका छन्। बजेट महाशाखा प्रमुख उत्तरकुमार खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा सरुवा गरिएको छ।

बजेट महाशाखाको नेतृत्व रितेशकुमार शाक्यलाई दिइएको छ। शाक्य यसअघि राजस्व व्यवस्थापन महाशाखा प्रमुख थिए। शाक्यको सरुवापछि राजश्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मालाई दिइएको छ।