घरकर्जामा सुविधा, ऋण चुक्ता नहुन्जेल ब्याजदर स्थिर, कुन बैंकबाट कतिमा पाइन्छ?

बिजमाण्डू
२०८० चैत्र १० गते १७:०३ | Mar 23, 2024
घरकर्जामा सुविधा, ऋण चुक्ता नहुन्जेल ब्याजदर स्थिर, कुन बैंकबाट कतिमा पाइन्छ?
  • आकाश बोगटी

काठमाडौं। बैंकहरूले स्थिर ब्याजदरमा घर कर्जा दिन थालेका छन्। ऋण चुक्ता नहुन्जेलसम्मै ब्याजदर घटबढ नहुने गरी बैंकहरूले यस्तो ऋण दिइरहेका हुन्।

Tata
GBIME
Nepal Life

ऋण चुक्ता नहुन्जेल कर्जाको ब्याजदर स्थिर नै हुनेगरी अहिले सबै बैंकहरूले सस्तो ब्याजमा घर कर्जा दिन थालेका छन्। अधिकांश बैंकले यस्तो कर्जाको ब्याजदर समेत एकल विन्दुमा झारेका छन्।

ब्याजदर घट्दो क्रममा रहेको बेलामा अधिकांश बैंकहरूले स्थिर ब्याजदरमा घर कर्जाका (स्किम) योजना ल्याएका छन्। बैंकहरूले सस्तो दरमा यस्तो स्थिर ब्याजदरको स्किम नै दिइरहेका छन्।

नबिल बैंकले ८.९९ प्रतिशत स्थिर ब्याजदर घर कर्जा दिँदै आएको छ। त्यसैगरी नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले समेत ९ प्रतिशत तल स्थिर ब्याजदरमा घर कर्जा प्रवाह गरिरहेका छन्। नेपाल एसबिआई बैंकले भने सबैभन्दा धेरै १३.५० प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा प्रवाह गरिरहेको छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने कर्जाको ब्याजदर समेत निरन्तर घट्न थालेको छ। पछिल्लो केही महिनायता बैंकहरूले निरन्तर मुद्दती निक्षेप ब्याजदर घटाएसँगै कर्जाको ब्याजदरमा समेत कमी आउन थालेको हो। ब्याजदर घट्दै जाँदा पनि बैंकहरूको अपेक्षाअनुसार कर्जाको माग भने बढ्न सकेको छैन।

प्रभु बैंकका डेपुटी सीईओ मनिराम पोखरेलले अहिले बैंकबाट स्थिर ब्याजको ऋण लिन आकर्षण नदेखिएको बताउँछन्। ‘पछिल्लो समय कर्जाको ब्याजदर निरन्तर घट्दो क्रममा छ। त्यस कारण पनि स्थिर ब्याजदर केही आकर्षण नदेखिएको पनि होला। तर स्थिर ब्याजदरको कर्जा लिँदा पछिलाई ढुक्कै हुने हो।’

उनको अनुभवमा ऋणीले भविष्यमा पाइने सुविधाभन्दा तत्कालकै सोच्ने गरेका छन्। ‘ऋणीले पछिका लागि भन्दा पनि अहिलेकै लागि सोच्ने रहेछन्। हामीले स्थिर ब्याजदर तोकेका त छौं, तर ऋण खासै गएको छैन,’ उनले भने।

नबिल बैंकका डेपुटी सीईओ मनोज कुमार ज्ञवाली प्रणालीमा लगानी योग्य रकम थुप्रिएसँगै बैंकहरू न्यून ब्याजदरमा स्थिर किसिमको घर कर्जा दिन थालेको बताउँछन्।

‘बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त छ। ब्याजदर घटिरहेको बेलामा कर्जाको माग बढ्न सकेको छैन,’ उनले भने, ‘सीडी रेसियो ८० वरीपरि छ। नबिल बैंकको पुँजी कोष हेर्दा घर कर्जाको जोखिम भार कम हुँदा बैंकले स्थिर ब्याजदरमा घर कर्जा योजना ल्याएका हौं।’

कुन बैंकले कतिमा दिँदैछन घर कर्जा?

नबिल बैंक

नबिल बैंकले व्यक्तिगत तर्फ ‘नबिल ढुक्क घर कर्जा’ ८.९९ प्रतिशत स्थिर ब्याजदरमा उपलब्ध गराउदै आइरहेको छ। नबिल बैंकले ७ वर्षे अवधिको ‘नबिल ढुक्क घर कर्जा’ ८.९९ प्रतिशत ब्याजदरमा प्रवाह गर्दै आइरहेको छ। बैंकले १० वर्षे अवधिको घर कर्जा भने ९.४९ प्रतिशत ब्याजदरमा प्रवाह गर्दै आइरहेको छ।

एनएमबि बैंक

एनएमबि बैंकले ७ वर्षे अवधिको घर कर्जा ९.९९ प्रतिशत ब्याजदरमा प्रवाह गर्दै आइरहेको छ। यस बैंकले १० वर्षे अवधिको सुलभ घर कर्जा भने १०.४९ प्रतिशत ब्याजदरमा प्रवाह गर्दै आइरहेको छ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले न्यूनतम ९.९९ देखि अधिकतम ११ प्रतिशत ब्याजदरमा घर कर्जा प्रवाह गर्दै आइरहेको छ। यस बैंकले ५ वर्षे अवधिको घर कर्जाको हकमा ९.९९ प्रतिशत, ५-१० वर्षे अवधिको कर्जाको हकमा १०.४९ प्रतिशत र १० वर्ष माथिको अवधिको कर्जाको हकमा ११ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ।

सिटिजन्स् बैंक

सिटिजन्स् बैंकले ७ वर्षे अवधिको घरकर्जा ९.९९ प्रतिशत ब्याजदर प्रवाह गर्दै आइरहेको छ। यस बैंकले ५ वर्षे अवधिको घरकर्जाको हकमा १२ प्रतिशत, ६-१० वर्षे अवधिको १२.२५ प्रतिशत, ११-१५ वर्षे अवधिको कर्जाको हकमा १२.५० प्रतिशत र १६ वर्षे बढी अवधिको कर्जाको हकमा १२.७५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दै आइरहेको छ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले १५ वर्षे अवधिसम्मको घर कर्जा प्रवाह गरेको छ। बैंकले न्यूनतम ९.९९ देखि अधिकतम १२.९९ प्रतिशतसम्म घर कर्जा प्रवाह गर्दै आइरहेको छ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकले न्यूनतम १३.५० प्रतिशतदेखि अधिकतम १५.५० प्रतिशतमा घर कर्जा प्रवाह गर्दै आइरहेको छ। यस बैंकले ३ वर्षे अवधिको घर कर्जाको ब्याजदर १३.५० प्रतिशत, ३-५ वर्षे अवधिको कर्जाको हकमा १४.५० प्रतिशत, ५ देखि १० वर्षे अवधिको कर्जाको हकमा १५ प्रतिशत र १० वर्ष बढीको अवधिको कर्जाको हकमा १५.५० प्रतिशतमा कर्जा प्रवाह गर्दै आइरहेको छ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले न्यूनतम १२ देखि अधिकतम १४ प्रतिशतमा घर कर्जा प्रवाह गर्दै आइरहेको छ।

हिमालय बैंक

हिमालय बैंकले सात वर्षे अवधिसम्मको घर कर्जा प्रवाह गर्दै आएको छ। सोही कर्जा बैंकले ११.२५ प्रतिशतमा प्रवाह गर्ने गरेको छ।

सानिमा बैंक

सानिमा बैंकले न्यूनतम १०.४७ प्रतिशतदेखि अधिकतम १२.४७ प्रतिशत ब्याजदरमा घर कर्जा प्रवाह गर्दै आइरहेको छ।

एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकले ११.९९ प्रतिशतमा घर कर्जा प्रवाह गर्दै आइरहेको छ।

स्टान्डर्ड चार्टर्ड बैंक

स्टान्डर्ड चार्टर्ड बैंकले न्यूनतम ११ देखि अधिकतम १२.५० प्रतिशत ब्याजदरमा घर कर्जा प्रदान गर्दै आइरहेको छ। यस बैंकले ५ वर्षे अवधिको घर कर्जा ११ प्रतिशत, ५ देखि १० वर्षे अवधिको कर्जाको हकमा ११.७५ प्रतिशत र १० वर्षे बढीको अवधिको कर्जाको हकमा १२.५० प्रतिशत ब्याजदर तोकेको छ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले न्यूनतम ९.९९ प्रतिशतमा घर कर्जा प्रवाह गर्दै आइरहेको छ। यस बैंकले ५ वर्षे अवधिको घर कर्जाको हकमा ९.९९ प्रतिशत, ५ देखि १० वर्षे अवधिको कर्जाको हकमा न्यूनतम १०.९९ प्रतिशत देखि अधिकतम ११.४९ प्रतिशत र १० वर्ष बढी अवधिको कर्जाको हकमा ११.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले २ करोडसम्मको घर कर्जा दिँदा १०.९९ प्रतिशत ब्याजदर र २ करोड बढीको कर्जामा ११.९९ प्रतिशत ब्याज तोकेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ वर्षे अवधिको घर कर्जा १२ प्रतिशत ब्याजदरमा प्रवाह गर्दै आइरहेको छ। यस बैंकले ७ वर्षे अवधिको घर कर्जा १२.७५ प्रतिशतमा प्रवाह गर्दै आइरहेको छ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले ५ वर्षे अवधिको घर कर्जा १२ प्रतिशत ब्याजदरमा प्रदान गर्दै आइरहेको छ। बैंकले ५ देखि १० वर्षे अवधिको कर्जाको हकमा १३ प्रतिशत र १० वर्ष बढी अवधिको घर कर्जामा १४ प्रतिशत ब्याजदर तोकेको छ।

प्रभु बैंक

प्रभु बैंकले ५ वर्षे अवधिको घर कर्जा १२.९९ प्रतिशत ब्याजदरमा प्रवाह गर्दै आइरहेको छ। बैंकले पाँच वर्ष बढीको अवधिको घर कर्जाको हकमा १३.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गर्दै आइरहेको छ।

कुमारी बैंक

कुमारी बैंकले ७ वर्षे अवधिको घर कर्जा १०.२९ प्रतिशत ब्याजदरमा प्रवाह गर्दै आइरहेको छ। 

कृषि विकास बैंक

कृषि विकास बैंकले न्यूनतम ९.७३ देखि अधिकतम ११.७२ प्रतिशतमा घर कर्जा प्रदान गर्ने गरेको छ।

नेपाल बैंक

नेपाल बैंकले ८.५७ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा प्रदान गर्दै आएको छ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले न्यूनतम ७.९४ प्रतिशतदेखि अधिकतम ९.७८ प्रतिशत ब्याजदरमा घर कर्जा प्रवाह गर्ने गरेको छ।